PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

भरतपुरको चुनावी भिडन्त क्रिकेटजस्तै रोमाञ्चक : देउवाले वाकओभर दिँदासमेत देवीको रन पछ्याउँदै रेणु



गोविन्दराज नेपाल

भरतपुरको चुनावी भिडन्त क्रिकेटजस्तै रोमाञ्चक : देउवाले वाकओभर दिँदासमेत देवीको रन पछ्याउँदै रेणु

काठमाडौँ : क्रिकेटलाई सम्भावनाको खेल भनिन्छ। यसमा कतिखेर खेलको नतिजा पल्टिन्छ थाहै हुँदैन। अन्तिम बल र विकेट बाँकी रहँदासम्म कुन पक्षले खेल जित्छ अनुमान लगाउन गाह्रो पर्छ। ठीक त्यस्तै भएको छ चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको अवस्था।

गत वैशाख ३१ गते भएको स्थानीय तह पहिलो चरणको निर्वाचनअन्तर्गत मत परिणाम आउन बाँकी एक मात्र महानगर हो भरतपुर।
जसरी क्रिकेटमा दर्शक र समर्थक एक-एक बल र विकेटलाई ध्यान दिएर हेर्छन्, अहिले सारा नेपालीको ध्यान भरतपुर महानगरको एक एक मतमा परिरहेको छ। 

क्रिकेटमा कुनै टिमले पहिले नै वाकओभर दिने चलन पनि छ। ठीक त्यस्तै शैलीमा एउटा बलियो टिमका नेता कांग्रेसले आफ्ना खेलाडीलाई वाकओभर दिन लगायो। कांग्रेस र माओवादी गठबन्धनका साझा उम्मेदवार बने रेणु दाहाल। प्रतिस्पर्धाका लागि अर्को टिममा थिए नेकपा एमालेबाट देवी ज्ञवाली। 

दुई पक्ष मिलेपछि खेल सजिलै जितिन्छ भन्ने एक टिमको अनुमान थियो। अर्को पक्ष भने एकल रुपमै प्रतिस्पर्धा गर्न मैदानमा उत्रेका थिए। तर गठबन्धन टिमले एक्लै भिडेको टिमसँग प्रतिस्पर्धा गर्न हम्मेहम्मे परिरहेको छ। 

क्रिकेटमा अन्तिम बलमा नतिजा निस्किएजस्तै यहाँको मेयर चुनिनका लागि अन्तिम वडाको नतिजा निर्णायक बन्ने देखिएको छ।

क्रिकेटमा दुवै टिमले पालैपालो ब्याटिङ र बलिङ गर्छन्। तर भरतपुरको मतगणना स्थलमा भने दुवै ठूला टीम अन्य साना टिमसँग एकै पटक भिडिरहेका छन्। सबै ब्याटिङ गर्न मैदानमा डटिरहेका छन्। कहिले छक्का चौका बर्साउँछन् त कहिले एक दुई रन लिन्छन्। त्यसै बेला कहिले काँही विकेट (बदर मत) पनि झर्छ। यसले निश्चय नै टिमलाई हानी गर्छ। 

कूल २८ वडा रहेको भरतपुर महानगरपालिकाको २५ वडाको मतगणना सम्मपन्न भइसकेको छ। अब ३ वडाको मतगणना जारी छ। क्रिकेटमा एक दिन, दुई दिन, तीन दिन र पाँच दिन(टेष्ट)को खेल हुन्छ। तर यहाँको खेलको लागि कुनै निश्चित दिन तोकिएको छैन। 

कहिलेकाहीँ विकेट झर्दा रेफ्रीले सही निर्णय नगरेको भन्दै खेलाडीहरु खेल नै रोक्दिन्छन्। त्यसलै पनि खेल केही दिनको लागि लम्बिन्छ। 
तर अब नतिजाको नजिकै पुग्दा खेलमा अझै रोमाञ्चकता थपिएको छ। हामीले प्रतिक्रिया माग्दा दुवै टोलीका नेताले आफूले जित्ने बताएका थिए। तर खेलको विजेता एउटै मात्र हुने भएकोले आखिरमा विजेता पनि एउटै हुनेछ। 

त्यसका लागि मत गन्न बाँकी रहेको वडामा जसले बढी रन हान्छ, उसैले जित्छ। यहाँ खेलेर रन हान्नुभन्दा पनि खेल (प्रचारप्रसार, व्यक्तित्वका आधारमा) पहिल्यै जनताले रन दिएका हुन्छन्। जसले जनतालाई बढी रिझाएका छन्, उसैले बढी रन पाउँछ। जनताले दिएको रन अहिले एउटा बाकसमा छ। त्यसलाई रेफ्रीले खोलेर हेर्दा जसको भाग बढी रन पर्छ ऊ नै विजेता हुनेछ। 

जसरी अन्तिम बलसम्म पनि छक्का प्रहार गरेर खेल जित्ने सम्भावना हुन्छ, त्यसरी नै भरतपुरमा पनि अन्तिम मतपेटिकाबाट आएका मतबाट दुई मध्ये जोसुकै उम्मेदवार जित्ने सम्भावना कायम छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell