
काठमाडौँ : सर्वोच्च अदालतको आदेशपछि निर्वाचन आयोगको निर्देशन अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा कम्तिमा ६ दिन* मतदान र मतगणना दुवै नहुने भएको छ।
न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आज यो विषयमा परेको मुद्दाको सुनुवाई गर्दै हाललाई यथास्थितिमा राख्न आदेश दिँदै अन्तरिम छलफलका लागि दुवै पक्षलाई जेठ २८ गते डाकेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए।
निर्वाचन आयोगले पुनः मतदानका लागि दिएको निर्देशन कानुनी भएको कि नभएको विषयमा त्यसपछि मात्र सर्वोच्चले फैसला गर्नेछ।
निर्वाचन आयोगले मतगणना केन्द्र कब्जा भएको पुष्टि भएको जनाउँदै स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र ५० अनुसार वडा नम्बर १९ का सम्पूर्ण मत बदर गर्दै पुनः मतदानको स्थान र मिति तोक्न जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो।
निर्देशन शनिबार नै जारी भए पनि निर्वाचन अधिकृतले मतदानको स्थान र मिति तोकिसकेको छैन।
प्रमुख प्रतिपक्षी एमालेले पुनः मतदानको विरोध गरेको छ। यही प्रकरणमा उसले संसद अवरुद्ध गरेका कारण आइतबार हुनुपर्ने प्रधानमन्त्री निर्वाचनसमेत मंगलबारसम्मका लागि सरेको छ।
(*यसअघि ३ दिन यथास्थितिमा राख्ने जानकारी प्राप्त भएकोमा सर्वोच्च अदालतका प्रवक्ताले दिएको आधिकारिक जानकारी अनुसार समाचार सच्याइएको छ)