मुम्बई : भारतसँग २-० को पराजय भोगेपछि नेपालका प्रशिक्षक योतुकु कोजीले अवसर पाए पनि गोल गर्न नसक्नु नै आफ्नो टिमको मुख्य समस्या रहेको बताएका छन्।
'हामी सँधै अवसर पाउँछौँ तर गोल गर्न सक्दैनौँ', पोस्ट म्याच कन्फ्रेन्समा उनले भने, 'यही नै हाम्रो समस्या हो।'
कोजीले नतिजा राम्रो नआए पनि यो खेलबाट आफूहरुले अनुभव र आत्मविश्वास हासिल गरेको बताए। 'यो यमनविरुद्धको खेलको लागि तयारी हो। सबैले राम्रो खेले तर हामीले गोल गर्न सकेनौँ,' उनले अगाडि भने, 'यो खेलबाट मैले पत्ता लगाएँ कसले खेल्न सक्छ कसले सक्दैन।'
खेलको ६८ औँ मिनेटमा नेपाली कप्तान विराज महर्जनलाई डि एरिया बाहिर फल गरेको भन्दै दिइएको रेडकार्डको बारेमा सोधिएको प्रश्नमा उनले भने, 'रेड कार्ड थियो कि थिएन मलाई थाहा भएन। त्यसबारे हेर्नैपर्छ।'
खेलबारे उनको विश्लेषण थियो, 'हाम्रो फ्रिकिक सबै रोकियो, राम्रो भएन। भारतको अट्याक राम्रो थियो, हामीले डिफेन्स अर्गनाइज गर्न सकेनौँ।'
भारतीय खेलाडी अनुभवी र शारिरिक रुपमा बलियो भएकोले उनीहरु फिफा र्याङ्किङमा माथि भएको बताउँदै उनले भने, 'हामी पनि भविष्यमा राम्रो गर्न सक्छौँ।'
यो समेत गरी नेपाल र भारत सिनियर लेभलमा अहिलेसम्म १९ पटक आमने सामने भएका छन्। जसमा भारत १३ पटक विजयी भएको छ भने नेपालले २ खेल मात्र जितेको छ। बाँकी ४ खेल बराबरीमा टुङ्गिएको थियो।