PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आन्दोलन फिर्ताले मोर्चाभित्र विवाद, उपेन्द्र यादवले लगाए धोका दिएको आरोप



आन्दोलन फिर्ताले मोर्चाभित्र विवाद, उपेन्द्र यादवले लगाए धोका दिएको आरोप

काठमाडौँ : बुधबार र बिहीबारको बन्द फिर्ता गर्ने निर्णयले ३० दलीय मोर्चामा विवाद निम्तिएको छ। पहिलो दिनको आन्दोलनको समीक्षा गर्न सि‌हदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बन्द फिर्ता लिने प्रस्ताव राखेका थिए। 

बन्द फिर्ता गर्नेमा एमाओवादीभित्र एकमत रहे पनि ३० दललाई मनाउन प्रचण्डले निकै कसरत गर्नुपरेको थियो। उपेन्द्र यादव र महेन्द्र रायको पार्टी बन्द फिर्ता गर्न तयार थिएनन्।

यादवले त विज्ञप्ति नै जारी गर्दै बन्द फिर्ता लिएकोमा कडा आपत्ति जनायो। 
यादवको विज्ञप्तिमा आम हड्ताल फिर्ता लिएर मोर्चाले मधेसी जनजाति र उत्पीडित वर्ग लगायत आम जनतालाई धोका दिएको ठहर गरेको छ। निर्णयमा फोरम नेपालको असहमति जनाउँदै विज्ञप्तिमा दुःख पनि व्यक्त गरिएको छ। 

के भन्छन् प्रचण्ड?


बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले नागरिक समाज र उद्योगी व्यवसायीहरुको आग्रहका कारण बन्दको कार्यक्रम फिर्ता लिइएको बताए। 

संविधान सभाको बैठक पनि चैत ३० गते सरेको हुनाले यसलाई पनि सहमति उन्मुख वातावरणका रुपमा बुझ्दै बन्द फिर्ता लिइएको उनले बताए। 

के छ आगामी कार्यक्रम?

मोर्चाले आगामी चैत २६ गते सेवा केन्द्र स्थापनाको विरोधमा रौतहटमा सभा गर्ने भएको छ। त्यसैगरी २७ गते बैठक बसी सरकारको रवैया हेरी आगामी कार्यक्रम घोषणा गर्नेछ। 

सरकारको भर्त्सना

मोर्चाको बैठकले सरकारले शान्तिपूर्ण आन्दोलनमा अपनाएको निरंकुशताको भर्त्सना गरेको छ। सरकारलाई गम्भीर बन्न पनि बैठकले आग्रह गरेको छ। 

​उद्योग, व्यवसायी, नागरिक समाजले पनि नयाँ ढंगको आन्दोलनमा समर्थन गर्न आग्रह गरेकोले भोलि र पर्सीको बन्द फिर्ता गरि नयाँ ढंगको आन्दोलन गर्ने निर्णय गरिएको प्रचण्डले बताए।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell