PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

फिल्म समीक्षा : नेपाली फिल्ममा लालटिनको मधुरो प्रकाश



स्वेच्छा राउत

फिल्म समीक्षा : नेपाली फिल्ममा लालटिनको मधुरो प्रकाश

  • २०७१ साउन ३१ गते कुख्यात गुन्डा दिनेश अधिकारी 'चरी' प्रहरी इन्काउन्टरमा मारिए। प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनायो। त्यस्तै अर्का गुन्डा नाइके कुमार घैटे पनि प्रहरीकै इन्काउन्टरमा मारिए। प्रहरीलाई पछाडिबाट हेलमेट प्रहार गर्न थालेपछि घैटे लगायतका टोलीमाथि गोली प्रहार भएको प्रहरीको दावी रह्यो। - यी दुवै घटना नाटकीय  लाग्छन्।
  • काठमाडौंमा ड्रग सप्लाई गर्ने गिरोहका नाइके, ताप्लेजुङका किशोर लुङ्गाको पनि प्रहरी इन्काउन्टरमा परी निधन भयो। लुङ्गाले बन्दुक ताकेपछि पुलिस अफिसर बमले आत्मरक्षाका लागि लुङ्गालाई गोली ठोके। काठमाडौंमा अन्य आपराधिक क्रियाकलापमा सक्रिय गुण्डा नाइके हाका किङ, बन्दुक सप्लायर नक्किम हुसेन र हत्यारा राजन कसाई पनि नेपाल प्रहरीको मस्ट वान्टेड सूचीमा छन्। – सत्यजस्तै लागे पनि यी घटना चाहिँ प्रदर्शनरत फिल्म 'लालटिन'को हो। 
शहरी गुन्डाहरुको चरित्र र उनीहरुको अखडाको सजीव चित्र फिल्मको विशेषता हो। सेटिङमा निर्देशक बलियो देखिन्छन्। फिल्मको सबैभन्दा प्रशंसनीय पक्ष भनेकै गुन्डाहरुको अखडाको सबल चित्रण हो।

काठमाडौंभित्र हुने गैरकानुनी एवंम् आपराधिक क्रियाकलापको कथा फिल्मले भन्छ मसालेदार शैलीमा। फिल्मको सस्पेन्सले दर्शकलाई बाँध्न खोज्छ, बीचबीचमा प्रेमकथा पनि अटाएको छ। एक्शन/ थ्रिलर त फिल्मको केन्द्र। छुटपुट कमेडी पनि घुसेकै छ जसले सुरुवातमा दर्शकलाई हसाँउछ पनि। तर, धेरैखाले मसलाहरु मिसाएपछि तरकारी पनि वेस्वादको बन्ने डर हुन्छ, फिल्म अलग रहने कुरा होइन। 

केन्द्रीय पात्रहरु हुन्: लाले (दयाहाङ राई), म्याडी (निर्जन थापा), साना (प्रियङ्का कार्की), अफिसर बम (राज कट्वाल), हाका (मोहन बिक्रम श्रेष्ठ), नकिम हुसेन (जनक बर्तौला), राजन कसाई (भानु प्रताप), कुशोर लुङ्गा (कमल आले) आदि। फिल्मको हरेक प्लटमा यिनै पात्रले लिड गर्छन्। लाले भोजपुरबाट काठमाडौं आउनु, बाल्यकालको साथी म्याडीसँग भेट हुनु। म्याडीले चार गुण्डा नाइकेहरुसँग काम गर्नु। र, उसको योजना सबैसँग फाइदा मिल्ने काम गरेपछि पुलिसलाई चारै गिरोहबारे जानकारी दिनु। 

तर, म्याडी स्वयम् प्रहरी हिरासतमा परेपछि फिल्मले नयाँ मोड लिन्छ। दु:खको पक्ष त नयाँ मोड नै फिल्मको अन्त्य झै लाग्छ। दर्शकलाई क्लाइमेक्समा नपुर्यााइ फिल्मको कथा सकिन्छ। कमजोर पटकथाको प्रतिफल त्यतिखेरै देखिन्छ। 

फिल्ममा म्याडीकी प्रेमिका बनेकी प्रियङ्का कार्कीको जीवनकथा फ्लायसब्याकका रुपमा देखाइएको छ। बीचबीचमा उनी दुर्घटनामा परेर ज्यान गुमाएकी आमा सम्झिन्छिन्। म्याडीसँगको प्रेमको सुरुवात सम्झिन्छिन् अनि भावुक हुन्छिन्। जुन भावुकताको फिल्मको विषयसँग सम्बन्ध र महत्व नै छैन। प्रियङ्का कार्कीको भूमिका नै महत्वपूर्ण लाग्दैन। कार्कीको अभिनय सशक्त भए पनि भूमिका नभएपछि त्यसको अर्थ के? फिल्म लालटिनमा उनको स्टारडमको गलत प्रयोग भएको छ। फिल्मको आइटम गीत 'चमेली'ले मात्र ध्यान खिच्न सफल छ। प्रियङ्का कार्कीको रोल यही गीतका लागि मात्र त होइन भन्ने जो कसैले पनि अनुमान गर्न सक्छ। पार्श्र संगीतमा विनोद ढकाल र किरण माइकलको एफोर्ट झल्किन्छ। 

लालटिनमा दयाहाङको कुनै पहिचान छैन। फिल्मको अन्त्यसम्म त दर्शकले लाले पात्रलाई विश्वास गर्लान् सहानुभूति देखाउलान् तर जब फिल्ममा सस्पेन्सको अन्त्य हुन्छ तब लाग्छ 'सम्बोधन', 'मुखौटा', 'लप्पनछप्पन', 'हाउ फन्नी'कै दयाहाङ हुन् यिनी लालटिनका होइनन्। किनकि यि फिल्महरुमा दयाहाङको शैली मात्र होइन भूमिका पनि उस्तै लाग्छ। 

त्यसो त नेपाली फिल्म इन्डस्ट्रीमा चलेका कलाकार हुन् दयाहाङ राई। फिल्महरुमा उनको अनुबन्धनको सङ्ख्याले यो कुरा पुस्टि गर्छ। चलनचल्तीका नायकहरुभन्दा फरक रहेकाले उनी रुचाइए। धेरै अभिनेता बीच उनको ढङ्ग र शैली फरक छ तर आफैलाई भर्सटाइल साबित गर्न कत्तिको प्रयास गर्दैछन् त? 

जेठ २६ गते रिलिज भएको 'लालटिन'मा दयाहाङ राईको भूमिकाले उनको फ्यानको अपेक्षा पटक्कै मिट गरेको छैन। लालटिनले पुराना फिल्महरुबाट दयाहाङ पात्रलाई टपक्क टिपेर ल्याएको छ। नाम नफेरिएको भए उनलाई पुरानै फिल्ममा हेरिरहेको त होइन भन्ने भान पर्छ। उनी लाले पात्रका रुपमा। 

'डन' बारे जस्तो आवरण कल्पना गरिन्छ त्यहीं अनुरुप डन पात्र लुङ्गा, हाका, नकिम र राजनको लुक्स ठीक लाग्छ। तर, यी पात्रहरुको अभिनयको पाटो सशक्त छैन। बरु राज कट्वाल र निर्जन थापाले कुशल अभिनय मार्फत् आफैँलाई सम्भावना बोकेको कलाकार साबित गरेको पाइन्छ। 

ग्याङ्स्टरको कथा बोक्ने फिल्मको विषय चयन केही फरक छ। फिल्ममा थ्रिलर फिल गराउने सटहरु पर्याप्त छ। फिल्ममा पात्रबीचको द्वन्द्व त देखाइन्छ तर कथामै द्वन्द्व छैन। मुख्य पात्रहरुको दैनिकी व्याख्या गर्दागर्दै फिल्मको सस्पेन्स खुल्छ। फिल्ममा प्रयोग गरिएको संवाद कमजोर छ। क्याची संवादहरुको प्रयोग भएको भए सायद दर्शक आकर्षित गर्न सहयोग पुग्थ्यो। जबरजस्ती बोल्न लगाइएका अङ्ग्रेजी डायलगहरु कृत्रिम लाग्छन्। फिल्मको सुरुवातमा संवादले दर्शक हसाउने प्रयत्न त गर्छ तर त्यो शिलशिला फिल्म ३० मिनेट नपुग्दै टुटेको छ।

सिनेम्याटोग्राफी अझै राम्रो काम हुन सक्थ्यो। फिल्मका दृश्य राम्रो देखाउन मनाङ, मुस्ताङ वा विदेशकै दृश्य कैद गर्नुपर्छ भन्ने भ्रमबाट भने निर्देशक मुक्त छन्। फिल्म निर्माण युनिटलाई फिल्मको नाम 'लालटिन' पुस्टि गर्न निकै आवश्यक लागेछ। त्यसैले फिल्ममा लोडसेडिङ भएको दृश्य जबरजस्ती राखेर फिल्मको नामाकरण गराए झै लाग्छ।  

मध्यान्तर पछाडि फिल्मको कथा अघि बढ्दैन। निर्देशक देव कुमार श्रेष्ठले लेखिएको कथालाई न्यायपूर्ण ढङ्गमा प्रस्तुत गर्न खोजेका छन्। उनको मिहेनत फिल्ममा नझल्किने होइन, नयाँ प्रयोग गरेका छन्। तर, पनि फिल्मले अध्यारोमा लालटिनले झै नेपाली फिल्ममा मधुरोमात्र प्रकाश दिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell