PahiloPost

Nov 6, 2024 | २१ कात्तिक २०८१

एसियन कप छनोटका लागि नेपाल र यमन तयार



गोविन्दराज नेपाल

एसियन कप छनोटका लागि नेपाल र यमन तयार

काठमाडौं : सन् २०१९ मा युएइमा हुने एएफसी एसियन कप छनोट अन्तर्गत यमनविरुद्ध घरेलु मैदानमा हुने खेलको लागि तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले बताएका छन्।

मंगलबार हलचोक मैदानमा खेल हुनु अघि सोमबार काठमाडौंमा गरिएको प्रिम्याच कन्फ्रेन्समा कोजीले यमनविरुद्ध राम्रो खेल्ने बताएका हुन्। यस्तै यमनका प्रशिक्षक र कप्तानले आफूहरु नेपालसँग खेल्नको लागी पूर्ण रुपमा तयार रहेको बताए।

'यमन गाह्रो प्रतिद्वन्दी हो, तर हामी घरेलु मैदानमा राम्रो खेल्ने प्रयास गर्नेछौँ।' कोजीले भने।

नेपालले एक साता अघि यमनविरुद्को खेलको तयारी स्वरुप भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपाल २-० ले पराजित भएको थियो।

प्रशिक्षक कोजीले भारतविरुद्ध भएका गल्ती र कमजोरीहरु सच्याउँदै यमनविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए। 'यसअघि सिकेका कुराहरु यमनविरुद्ध फिल्डमै गएर लागू गर्छौँ।' कोजीले भने।

कोजीले भारत विरुद्ध डिफेन्समा देखिएको कमजोरी सुधार गर्ने समेत बताए।

लिग नहुँदा र टिममा रहेका दुई नियमित खेलाडी रविन श्रेष्ठ र विक्रम लामाको अनुपस्थतीमा नेपाललाई केही गाह्रो परेकोसमेत कोजीले स्वीकारे।

'लिग नहुँदा त्यसको प्रभाव पक्कै पर्छ। अन्य देशमा लिग हुँदा ३६ देखि ३८ गेम खेल्न पाउँछन्। हामीले दुई वर्षयता लिग खेल्न पाएका छैनौँ।' कोजीले भने।

उनले नेपाली टिममा मिडफिल्ड भन्दा पनि साइडमा खेल्ने खेलाडीको अभाव रहेको बताए। 'रविन नहुँदा साइडमा खेल्ने खेलाडीको समस्या छ। अब हामीसँग भएका खेलाडीबाटै राम्रो प्रदर्शन गर्नुको विकल्प छैन।'

यता कप्तान विराज महर्जनले सकेसम्म राम्रो प्रदर्शन गर्ने र जितका लागि खेल्ने बताए। 'हाम्रो टिममा मुख्य गरी डिफेन्समा समस्या छ र फरवार्डबीच तालमेल मिलेको छैन। त्यसलाई सुधार गर्दै यमनविरुद्ध राम्रो प्रदर्शन गर्ने लक्ष्य छ। सकेसम्म जितको लागि खेल्ने हो।'

यता यमनका प्रशिक्षक इब्राहिम मेब्रातोले नेपालसँग खेल्न तयार रहेको बताए। 'द्वन्दका कारण हामीले यमनमा तयारी गर्न पाएनौँ। त्यसैले नेपालसँगको खेलका लागि हामीले कायरोमा एक महिना तयारी गर्‍यौँ। त्यसक्रममा इजिप्टका टप डिभिजन क्लबहरुसँग फ्रेण्ड्ली म्याचसमेत खेल्यौँ। हामी यस खेलको लागि पूर्ण तयार छौँ।'

उनले नेपाली टोलीको बारेमा आफू विगतदेखि नै जानकार रहेको र नेपालको स्तर पछिल्ला वर्षहरुमा बढेको प्रतिक्रिया दिए। 'म २०१२ देखि नेपाली टिमको बारेमा जानकार छु। हामी यसअघि यू-२२ टुर्नामेन्टमा पनि नेपालसँग खेलेका थियौँ। यस्तै पछिल्लो पटक कतारमा भएको मैत्रीपूर्ण खेलमा हामीले नेपाललाई हराएका थियौँ।' उनले भने।

'नेपाली टिममा पनि सुधार आइरहेको छ हामी उनीहरुलाई सम्मान गर्छौँ।'

यमनका कप्तान अरस मोहम्मद इब्राहिमले नेपालसँग खेल्न पूर्ण रुपमा तयार रहेको बताए। 'हामी यहाँ ३ अंक लिन आएका हौँ र आशा छ त्यसमा सफल हुनेछौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell