PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

'घुङ्घट भित्र मात्र हुँदैनन् मधेशी छोरी'



स्वेच्छा राउत

'घुङ्घट भित्र मात्र हुँदैनन् मधेशी छोरी'

काठमाडौं : मिस नेपाल २०१७ निकिता चाण्डक मधेशी मुलकी भएकै कारण विवादमा तानिइन्। उनलाई गैर- नेपाली भएको आरोप लाग्यो। तर उनी नहडबडिइ प्रस्तुत भइन्, उनी कसैलाई आफ्नो पहिचान पुस्टि गर्न लाग्ने पक्षमा छैनन्। अनि उनीबाट प्रभावित छिन् अर्की मधेशी छोरी कुसुम साह।

कुसुम स्वीकार्छिन् मधेशी समुदायका सामाजिक अफ्ठ्याराहरु। झन् मधेसी चेलीहरुले सहन पर्ने गाह्रो साह्रोको त छुट्टै अध्याय छ।

भन्छिन्, 'समुदायले बनाएको नियमभित्र बाँधिनु पर्ने बाध्यता, घुङ्घटले अनुहार ढाक्न पर्ने, जेठाजुलाई छुन नहुने जस्ता नियम, छोरीले पढ्न नपर्ने विश्वास- धेरै छन् मधेशमा छोरीका समस्या।'

मधेशी समुदायमा आफूले देखेको, भोगेको समस्या सुनाइन् कुसुमले। उनलाई लाग्छ आफ्नै समुदाय भित्रका समस्याहरुका कारण पनि अन्य समुदायले मधेशलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन। मधेशी समुदायको धारणा परिवर्तन गर्ने प्रयासमा रहेको बताउँदै उनले भनिन्, 'घुङ्घट भित्र मात्र छैनन् मधेशी छोरी भन्ने कुरा आफ्नै समुदायलाई बुझाउन चाहन्छु।'



कुसुम साह सप्तरीको तेली समुदायकी चेली हुन्। उनी हाल काठमाडौंको रिलायन्स इन्टरनेसनल एकेडेमीबाट प्लस टू परीक्षा दिएर बसेकी छिन्। खाली समयको सहि सदुपयोग होला भन्ने आशले उनले सौन्दर्य प्रतियोगिता 'मिस टिन नेपाल प्लस टू'मा सहभागिता जनाएकी छिन्।

प्रतियोगिताको आउँदो आइतबार अन्तिम प्रतिस्पर्धा हुँदैछ। 'जित्छु वा हार्छु थाहा छैन तर मेरो समुदायको कुनै युवती सौन्दर्य प्रतियोगितामा भाग लिनु एउटा संदेश हो,' परिवारको साथ र सहयोगका कारण आफ्नो रहर पूरा भएको बताउँदै भनिन्, 'मेरो रहर मेरो समुदायका अभिभावकलाई छोरीलाई प्रतिभा देखाउने ठाउँ दिनुपर्छ है भन्ने कुरा बुझाउनु हो।'

१५ प्रतियोगी रहेको प्रतिस्पर्धामा उनले सबैलाई उत्तिकै क्षमतावान देखेकी छिन्।

भन्छिन्, 'मलाई आफ्नो कला प्रस्तुत गर्ने ठाउँ चाहिएको थियो। प्रस्तुतीसँगै धेरै कुरा सिक्ने मौका पाएको छु। अब हारे पनि चित्त दुखाउने ठाउँ भने छैन।'

प्रतियोगिता जित्नको लागि हो र यो प्रतियोगितामा सहभागिता जनाएर आफ्नो समुदायको युवतीहरुको प्रतिनिधित्व गर्नु नै आफ्नो जित भएको उनको विश्वास छ। पहिलोपोस्टसँग कुरा गर्दै भनिन्, 'अवसर र मौका दिए पछाडि छाडिएका मधेशी छोरीहरु पनि मुलधारमा आउन सक्छन् भन्ने विश्वास दिलाउनु थियो। लाग्छ सहभागिता जनाएर र टप १५ मा आफ्नो नाम सुरक्षित राखेर त्यो काम गरें।'



डेन्टिस्ट बन्ने लक्ष्य लिएकी उनी मधेशमा सामाजिक सुधार र महिला सशक्तिकरणमा योगदान पुर्याउन चाहन्छिन्। 'मेरो गाउँ अविकसित छ। म त्यहाँको शिक्षा र स्वास्थ्य स्तरमा सुधारका लागि काम गर्न चाहन्छु,' उनले भनिन्।

उनका अनुसार तेली समुदायमा छोरीलाई सौन्दर्य प्रतियोगिता परको कुरा समाज भित्रनै पनि आफ्नो इच्छा, रहरहरु मन खोलेर भन्न, गर्न सहज वातावरण छैन। छोरी घर भित्र मात्र बाँधिइनु पर्छ भन्ने मान्यतालाई जरैबाट उखेल्न चाहन्छिन् उनी।

स्टार वन इन्टरटेनमेन्टको आयोजना रहेको प्रतियोगिताको यो तेस्रो संस्करण हो। प्लस टू अध्ययनरत छात्राहरुतो व्यक्तित्व र आत्मविश्वास विकासका लागि भनिएको प्रतियोगितामा दिइएको प्रशिक्षणले आफूलाई आत्मविश्वासी बनाएको कुसुम बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell