PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

मिस नेपाल बनेपछि आफ्नो पहिचान खोज्न बाध्य नीकिता



स्वेच्छा राउत

मिस नेपाल बनेपछि आफ्नो पहिचान खोज्न बाध्य नीकिता

काठमाडौं: 'जात र भूगोलले कसैलाई परको बनाउँछ भने नेपाल र नेपाली कहलिनुको अर्थ के?'

मिस नेपाल २०१७ नीकिता चाण्डकको मनमा एकाएक उब्जिएको प्रश्न।

मधेशी मुलको भएकै कारण धेरैले 'भारतीय' भन्दै चर्का कुरा गरेपछि उनलाई पहिलोपटक मधेशी भूगोलसँग जोडिएको आफ्नो पहिचानबारे सोच्न बाध्य बनायो। 'यसअघि त म आफूलाई एक नेपाली हुँ भन्ने मात्र थियो,' पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्, 'मेरो घर नेपाल हो भन्ने थियो।'

मिस नेपाल घोषित भएपछि उनले सोचेभन्दा फरक अवस्था भोगिन्।


कसैले उसको थर नै भारतीय भएको आरोप लगाए। कसैले उनलाई भारत समर्थक भन्दै बिरोध पनि गरे। कतिले त उनको रुपलाई केन्द्रमा राखेर ट्रोल पनि बनाए। तर, सामाजिक सञ्जालको हल्लाले नीकिताको आत्मविश्वासलाई डगमगाउन दिएन।

भनिन्, 'मेरो जात, मेरो रुप आदिले मेरो व्यक्तित्वमा, आत्मविश्वासलाई असर गर्थ्यो भने मैले मिस नेपालको ताज पाउदिनथेँ।'

पढ्नका लागि भारतको नोएडा गएकी उनी फेसन डिजाइनिङको विद्यार्थी हुन्। भारतमा बस्नु या भारतीय साथीसँग जोडिनु उनको हकमा मात्र होइन जो कसैका लागि पनि असामान्य कुरा होइन। त्यसमाथि एउटा मारवाडी परिवारकी चेली। लवज भारतीयसँग मेल खानु नौलो कुरा थिएन। बैंगलोरमा व्यवसायिक मोडल बन्ने बाटोमा रहेकी उनले भारतीय भूमिमै फोटो सेसन गर्नु अनौठो थिएन।

तर, नतिजासँगै उनको पहिचानमाथि प्रश्न खडा गरियो। गैर नेपाली हुनुको आरोप लाग्यो।

'मधेशमा अझै धेरै समुदाय छन् जो बाहिर धेरै देखिएका छैनन्। तर, अन्य भूगोल वा समुदायले तराईको, मधेशको समुदायलाई चिन्दैन भने उनीहरुलाई नेपाली नै नमान्ने?' उनको मनमा प्रश्न यसरी उठ्न थालेको छ।  

बिरोधीभन्दा बढी समर्थक भएकोमा भने उनी खुशी छिन्। समर्थकको भिडले नै आफूमा उर्जा थपेको समेत उनको धारणा छ। भनिन्, 'सामाजिक सञ्जालदेखि बाहिरसम्म जतिले मेरो जित हुन्छ भन्ने विश्वास राखे उनीहरुको विश्वास र समर्थन मेरो आत्मविश्वास बन्यो। जसले जित्छ उसको विरोध हुनु त स्वभाविक हो।'

र्‍याम्प मोडलिङ सुरु गरेकी उनको लागि टिजिआएफमा फोटो सुट गर्न काठमाडौं आउनु करियरको टर्निङ पोइन्ट बन्यो। मोडलिङमा सक्रिय बन्ने रहर मिस नेपालमा सहभागिता जनाउने हुटहुटीमा मोडियो। सबैले तिमी मिस नेपालमा सहभागिता जनाउ भनेपछि उनले पनि एकपटकमात्र प्रयास गर्ने दृढता राखिन्। मोरङमा रहेको परिवारलाई पनि उनले फोनबाटै आफूले प्रतियोगितामा भाग लिने बारे जानकारी दिइन्।

भन्छिन्, 'जित्नै पर्छ भन्ने थिएन। ट्रेनिङ लिने, आफैलाई ग्रुम गर्ने। ममा क्षमता छ भने कुनै न कुनै टाइटल पक्कै जित्छु। नभए क्षमता भएको अरु कसैले जित्छ भन्ने लागेको थियो।'

फिनालेको दिन भने नीकिता आफू उत्कृष्ट सातमा पनि नपर्ने डरमा थिइन्। स्टेजमा देखिएको भन्दा बढी क्षमता उनले टप १९ मध्ये हरेक प्रतिस्पर्धीमा देखेकी थिइन्। निर्णायकको मूल्याङ्कनमा भने नीकिता स्वयंम सर्वोत्कृष्ट साबित भइन्।

'मलाई कसैले सर्प्राइज् दिएजस्तै भयो।'


मिस नेपाल अर्थ रोजिना श्रेष्ठ घोषित भएपछि सबैले मिस नेपाल नीकिता हुने भन्दै हुटिङ सुरु गरेका थिए। नीकिता हलभरि आफ्नो नाम गुञ्जिएको क्षण सम्झिन्छिन, 'त्यो समय ममा थोरै पनि डर थिएन। जित्छु भन्ने विश्वास त होइन तर त्यो बेला म हासेँ। किनकि लाग्यो- यत्रो मान्छेले मैले जित्ने अनुमान गरेका छन्। तर, मैले टाइटल जितिन भने आफैँ 'जोक' बन्छु।'

ताज आफ्नै शिरमा सजिने भएपछि पनि उनी धेरै अच्चमित भने नभएको जनाइन्। 'सबैजना ताजको लागि योग्य भएर नै उत्कृष्ट सातमा पर्न सफल थियौं। फेरि सबैमा क्षमता र आत्मविश्वास पनि उत्तिकै। हामीमध्ये कसैले जित्छौं भन्ने निश्चित भएर होला व्यक्तै गर्न नसकिने खुशी महसुस गरिन्,' आफ्नो नाम घोषणा हुँदाको क्षण सम्झिँदै भनिन्, 'लाग्यो धन्न परिवार, समर्थक र सहयोगी कसैलाई निराश बनाउन परेन।'

जितपछि उनीविरुद्धका प्रतिक्रियाले भने चित्त दुखाएको छ।

'मैले नेपाल शीर्षक जोडिएको उपाधि जित्दा पनि आफू गैर नेपाली नभएको प्रमाण जुटाउन पर्ने?' उनको प्रश्न जायज सुनियो।

मधेशी मुलको भए पनि आफ्नो जित आफ्नो समुदाय वा तराईंसँग नजोड्ने बताइन् उनले। भनिन्, 'मेरो जित कुनै समुदाय वा भूगोल विशेषको होइन। मेरो जित सम्पूर्ण नेपाली युवतीहरुको जित हो।'

नीकिताले आफ्नो शिरमा सजिएको ताजलाई जिम्मेवारीको संज्ञा दिन्छिन्।

रोचक त के रह्यो भने - उनी मोडलिङ र सौन्दर्य प्रतियोगिताको सौखिन भएर पनि कहिल्यै कुनै ब्युटी प्याजेन्टबारे जानकार रहिनन्। उनलाई न मिस वल्डबारे धेरै थाहा छ न मिस नेपालको पुराना संस्‍करणबारे।

भन्छिन्, 'मैले व्यक्तिग रुपमा पूर्व मिस नेपाल अश्मी श्रेष्ठलाई मात्र चिन्छु।'

प्रतियोगिताको लागि सहभागिता जनाउने निश्चित भएपछिको एउटा रमाइलो घटना सेयर गरिन्, 'एकदिन डिनरको लागि ग्यादरिङ थियो। मेरो सामुन्ने कुर्सीमा कोही थियो जो निकै कन्फिडेन्ट लाग्यो। मैले उहाँलाई चिन्दिन थिएँ। पछि परिचय भएपछि थाहा भयो मिस नेपाल अश्मि श्रेष्ठ। मलाई नराम्रो फिल भयो। तर, पछि मैले उहाँबाट धेरै कुरा सिक्न पाएँ।'

चाण्डक विश्वमा नेपालको प्रतिनिधि बनेर जाँदैछिन्। उनी चाहन्नन् देशमा जात, समुदाय वा मधेशी भएकै कारण आफ्नो विरोध सहेर विदेशमा आफ्नो देश जातीय, साम्प्रदायिक वा भौगोलिक सहिष्णुताविरुद्ध संदेश प्रवाह गर्न। उनी साचो अर्थमा चाहन्छिन्- नेपालमा समानता, समता र एकअर्का प्रतिको सम्मान। उनी एउटा नेपालीले अर्को नेपालीलाई धर्म, समुदाय, जात र रङको चस्मा नलगाई हेरुन् भन्ने चाहन्छिन्।

'म मेरो जितलाई पनि मधेशी छोरीको जित होइन एक नेपाली युवतीको जित हो भन्छु। सबैले यसैगरी बुझिदिए कति राम्रो हुन्थ्यो,' उनले चाहना व्यक्त गरिन्, 'मेरो जिम्मेवारी सधैं देशको हितको लागि हो। चाहे म मिस नेपाल भएर सोचुँ वा नभइ। त्यसैले समाजको लागि योगदान पुर्‍याउन पछि हट्दिन,'

मिस नेपाल भएसँगै उनीसँग पक्कै पनि जिम्मेवारीहरु छन्। देशको प्रतिनिधित्व गर्नुछ उनले। त्यसबाहेक उनको उमेरमा रहरहरुको भारी हुनु अस्वभाविक पनि होइन। ठूलो रहर के छ त?

'मेरो रहर अभिनयमा छ। म नेपाली फिल्मको अभिनेत्री बन्न चाहन्छु। र आफ्नो रहर पूरा गर्नका लागि आवश्यक मिहेनत गर्नेछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell