PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

यू-२३ नेपाली टोलीको प्रशिक्षण भोलिबाट, प्रशिक्षकमा मेघराज



गोविन्दराज नेपाल

यू-२३ नेपाली टोलीको प्रशिक्षण भोलिबाट, प्रशिक्षकमा मेघराज
फाइल फोटो

काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसीप छनोट खेल्न लागेको नेपाली यू-२३ टोलीको प्रशिक्षण भोलिबाट सुरु हुने भएको छ।

जुलाई १९ देखि संयुक्त अरब इमिरेट्स (युएई)मा हुने छनोट चरणमा नेपाल र आयोजक युएईसँगै उज्वेकिस्तान र लेवनान रहेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का सिइओ इन्द्रमान तुलाधरले नेपाली यू-२३ टोलीको प्रशिक्षण सुरु हुने बताएका हुन्।

प्रारम्भिक छनोटका लागि करिब ३५ खेलाडी बोलाउने पनि उनले बताए।

'राष्ट्रिय टिममा रहेका यू-२३ का खेलाडी स्वत प्रशिक्षणका लागि आउनेछन्। यस्तै ए डिभिजन क्लब र मोफसलका क्लबहरुका प्रतिवाभान खेलाडीहरुलाई पनि प्रशिक्षणका लागि बोलाइनेछ,' तुलाधरले पहिलोपोस्टसँग भने।

प्रतियोगिता आउन एक महिनाको समय बाँकी रहेको अवस्थामा नेपालले मैत्रीपूर्ण खेल खेल्न सक्ने तुलाधरले बताए। 'भुटानको राष्ट्रिय टोलीसँग खेल्ने बारे सल्लाह हुँदैछ। तर निश्चित भइसकेको छैन,' उनले भने।
 

प्रशिक्षकमा मेघराज केसी

एन्फाले यू-२३ नेपाली टोलीको प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ। मुख्य प्रशिक्षकमा केसी र सहायक प्रशिक्षकमा धनुषाका प्रकाश अर्याललाई नियुक्त गरिएको तुलाधरले जानकारी दिए।

राष्ट्रिय टोलीको सहायक प्रशिक्षण सम्हालिसकेका मेघराज केसीले ए डिभिजनको थ्री स्टार र नेपाल आर्मी क्लबको प्रशिक्षण सम्हालिसकेका छन्। यस्तै पछिल्लोपटक केसी थ्री स्टार क्लबको प्रशिक्षकका रुपमा छन्।

जेएफए इन्स्ट्रक्टर कोर्सका लागि अन्य चार प्रशिक्षकसँगै मेघराज केसी हाल जापानमा छन्। उनी स्वदेश फर्केपछि प्रशिक्षणमा सहभागि हुनेछन्।

 

नेपालको पहिलो खेल युएईसँग

नेपालले जुलाई १९ मा आयोजक युएईसँग खेल्नै छनोटको यात्रा सुरु गर्नेछ। यस्तै २१ जुलाईमा नेपालले उज्वेकिस्तान तथा २३ जुलाईमा लेवनानसँग खेल्नेछ।

सन् २०१५ मा इरानमा भएको छनोटमा नेपाल समूहको ४ वटै खेलमा पराजित  हुँदा १७ गोल खाएको थियो भने कुनै गोल गर्न सकेको थिएन।

समूह डी का सबै खेलहरु युएईको अल अइनस्थित तहनोउन बिन मोहम्मेद स्टेडियममा हुनेछ। समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने अन्तिम चरणको लागि सिधै छनोट हुनेछ।

यस्तै समूहमा दोस्रो हुनेले पनि उत्कृष्ट अंकका आधारमा अन्तिम चरणमा छनोट हुने अवसर पाउनेछ।

आगामी वर्ष जनवरी ९ देखि २७ सम्म चीनमा हुने एएफसी यू-२३ च्याम्पियनसिपमा कूल १६ टोलीको सहभागिता रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell