"प्रतीक्षाको लामो सुरुङबाट म आएको छु तिमी कहाँ,
भन न तिमी कसको प्रतीक्षामा?"
एउटा असाधारण प्रश्न। असाधारण यसकारण कि यो अबोध बालकले आफ्नी आमासँग सोधेको प्रश्न होइन। न कुनै विद्यार्थीले उसको शिक्षकलाई सोधेको नै। प्रेमीले प्रेमिकालाई पनि सोधेको होइन।
आखिर कसको प्रश्न कसमाथि? …भन तिमी कसको प्रतीक्षामा?
प्रश्न कसलाई हो? सजिलै उत्तर दिन्छन् कवि विप्लव प्रतीक,
जीवन र ब्रह्माण्डको अस्तित्व खोजिरहेका छन् र प्रश्न तेर्स्याइरहेका छन् उनले यसैबाट। त्यसैले उनले यो असामान्य प्रश्नको नाम दिए 'हिमप्रदेशसँग एकालाप'। ब्रह्माण्डको अस्तित्व बारे उनका मनमा उठेका जिज्ञासा कविता बन्यो।
त्यसो त कवि प्रतीकका रचना प्रतीकात्मक पनि हुन्छन्। बिकाउको भाषामात्र बुझ्नेले हत्तपत्त भेउ पाउन सक्दैनन् तिनलाई।
किन छ त यो ब्रह्माण्ड? नियमित रुपमा मान्छे जन्मन्छन्, तिनको विभाजन हुन्छ। पढ्छन्, लेख्छन्। हरेक व्यक्ति यस्तैको दौडमा। तर दौड सकिन्न, मान्छे नै रहँदैन बरु। फेरि यो क्रम जारी रहन्छन् निरन्तरत निरन्तर। अनि जिन्दगी भर दौडनुको औचित्य के त? उनको मनमा उठेको प्रश्नवाचक चिन्ह।
'आफैसँगको प्रश्नलाई मैले कविता बनाएँ,' उनले सुनाए।
संगीतकार दीप श्रेष्ठले त्यही कविताका शब्दहरुमा लय भर्न थाले। संगीत भरेपछि कविता एकाएक गीत जस्तो सुनियो। गीत नै बन्यो। कविताले गीतको रुप धारण गरिरहँदा शब्दहरु चलमलाए – भाव अडिग रह्यो।
कविताबाट गीतमा रुपान्तरित सिर्जनाको रोचक पक्ष त यसको लम्बाइ बन्यो। ठ्याक्कै १४ मिनेट लामो।
गीति नाटक नै त बनेन नि?
'बनाउँछु भनेर लामो बनेको गीत होइन। तर, यसले आवश्यक प्रश्न उठाएको छ। ती कुरा जसबारे आम मान्छेले सोचेको हुँदैनन्,' उनले प्रस्ट्याए।
गीतको नाम 'हिमप्रदेशसँग एकालाप'। लेखक 'विप्लव प्रतीक'। संगीत, स्वर 'दीप श्रेष्ठ'। गीतले घुम्टो चै उघारिसकेको छैन। कविताको भावले संगीतको माधुर्यताबीच कत्तिको असर गर्छ त्यो चाहिँ प्रतीक्षाकै विषय हो।
शब्दमा खेलिरहने शिल्पी हुन् विप्लव प्रतीक। कविता र गीतका गहनामा घोत्लिरहने प्राणी। जीवनलाई बेफिक्र बनाउनु यिनको रुचि। कविता लेखे, गीत लेखे। कवितालाई गीतमा रुपान्तरण गरे। सिर्जनाका दुई धारलाई यिनले उत्तिकै न्याय पनि गरे। यी दुई विधामा अन्तर के त?
'कविता गह्रौं शब्दहरुको प्रयोग हो। गीत मधुर अनि सुन्दर शब्दहरुको प्रयोग,' उनको बुझाइलाई प्रस्ट्याए, 'यी दुवैले स्रोताको कानमा भने बिझाउनु हुँदैन।'
विप्लवका लागि कुनै पनि रचना तनावबाट मुक्त गराउने माध्यम हो। रचनाले पाठक/स्रोतालाई तनावबाट दुर राख्नुपर्छ भन्छन् यिनी।
'गीतले त आनन्द दिनुपर्छ। सुनिसकेपछि स्रोताले शब्द र अर्थहरुलाई मनन् गरुन्। जसका लागि रचनामा प्रयोग प्रतीकहरु बलियो हुनुपर्छ।'
बजारले कायम गरेका सफलताका 'चेकलिस्ट'हरुसँग यिनी सहमत छैनन्। एउटा पक्षमात्र हो त्यो। उनकै भाषामा सफलता त सुन्नेको हृदय छोएपछिमात्र पाइन्छ। सुन्नेले आफ्नो जीवनमा आत्मसाथ गर्न सके त्यो गीत हो उनका लागि। त्यसैले विप्लव गीतको भाव र संगीतसँग गहिरो मतलव राख्छन्।
'युट्युबमा बटुलेको हिट्स र लाइक गीतको चर्चाको मानक होला तर राम्रो गीतको मानक युट्युबको भ्युज हुनै सक्दैन,' उनले अर्थ्याए, 'गीतले मान्छेलाई टाढा पुर्याउनुपर्छ - आफैबाट, सधैं सोचिरहेको शैलीभन्दा टाढा। जस्तो कि
"टाढा टाढा जानु छ साथी एकफेर हाँसिदेउ
छुटिसकेको मायालाई साथी एकफेर गाँसिदेउ… "
'यस्तै गीतहरु हुन् जीवन्त हुने। जतिसुकै चर्चित र हिट गीत सुनेपनि यस्तै गीत हो अन्त्यमा सबैलाई चाहिने। 'डेजर्ट' जस्तै।'
कविताका साधक भएकाले उनी कुनै पनि कलालाई तपस्या मान्छन्। राजनीति र गुटबन्दी उनका लागि साहित्यिक गतिविधि हुनै सक्दैन।
'साहित्य कला भनेको त कसैले दिएको विष पिएर अमृत निकाल्न पर्ने विषय हो।'
सबैक्षेत्रमा बजार हावी छ, कलाको क्षेत्र अछुतो हुने कुरै भएन। उनलाई यसैको डर छ - समाजले कला नबुझ्नुको नतिजा कस्तो होला?
पाठ्यक्रमले साहित्य पढाएको तर कलाको महत्व नबुझाएको देख्दा उदेक लाग्छ उनलाई। अहिले हाम्रो शिक्षाले कलालाई व्यवहारिक बनाउन प्रेरणा दिँदैन। 'मैले नेपाली कविता वाचन गरेँ भने मेरो स्रोता इङ्लिस स्कूलका विद्यार्थी हुन्छन्,' लिट्रेचर लिट्रेसीमा रहेको खाडलबारे कुरा उप्काए उनले, 'अंग्रेजी विद्यालयले साहित्य बुझाउँछन् तर नेपाली पाठ्यक्रमले साहित्यलाई महत्व दिएको छैन।' यो उनको अनुभव पनि बोलेको हो।
परख र पारखी दुवै बलियो भयो भने कुनै पनि विधा अब्बल हुने हो। सिर्जना र त्यसका पारखी दुवै जब धेरै बज्ने वा हिट्स काउन्ट गरेर सफलता मापन गर्छन् तब कला कमजोर र बजार बलियो हुन्छ। अहिले त्यस्तै लाग्छ उनलाई। रातारात बजार तताइहाल्ने संगीतले स्थायी डेरा जमाउन भने सक्दैन – खहरेजस्तै हुन्छ त्यो।
'गीतमा केही तत्व हुन्छन् जसले गीतलाई राम्रो बनाउँछ। तर अहिले त एउटाले राम्रो भनिदिएको गीतलाई सबैले वाह वाह गरिदिने चलन छ,' पछिल्ला दिनहरुमा यिनले बुझेको यही हो। संगीतले बाध्छ, त्यसमा भाषाले कुनै अवरोध गर्न सक्दैन।
'हृदय छुने संगीतलाई छुट्याउन सकिन्छ भाषा नबुझिएला बरु,' उनले भने।
संगीतका लागि शब्द रचना गर्ने विप्लव प्रतीकहरु गुमनाम झै लाग्छन् कहिलेकाहीँ। म्युजिक कम्पोजर पनि त्यसैगरी हराउँछन्। म्युजिक ट्र्याक खल्तीमा बोकेर देशविदेशमा गायकहरु चर्चित बनिरहँदा सिर्जनाका साधकहरु कतै गुमनाम भइसकेका हुन्छन्। मार्केटले निर्देश गरेको समाजभन्दा बाहिर निस्कने हो भनेमात्र 'क्रेडिट'को खोजी गर्ने भेटिन्छन्। गायकको स्वर र भिजुअललाई आधार मानेर सिर्जनाको तारिफ गर्ने पारखीहरु एकखाले अज्ञानी हुन्। पारखीलाई कलामा 'लिट्रेट' नबनाउने हो भने यस्तै चलिरहन्छ।
कुनै एउटा समय थियो जतिखेर गायक, गीतकार र संगीतकार सबैको उत्तिकै चर्चा हुन्थ्यो। कविका कल्पनशीलताका विषयमा बहसहरु हुन्थे। शब्द चयनमाथि घोरिनेहरु थिए। तर, यतिखेर भिजुअल कसरी राम्रो बनाउने भन्ने होड छ। यथार्थ के हो भने कालजयी जति गीत छन् नेपालमा ती भिजुअलका कारण आएकै थिएनन्।
'गीत पावरफूल भए भिडियो चाहिँदैन। गीत राम्रो बनाउन मिहेनत गर्नुपर्छ,' उनले भने। २०५६ सालमा उनले लेखेको हर रात सपनीमा ऐठन हुन्छ…ले राम्रो चर्चा कमायो। हिट्स एफएमको चार वटा अवार्ड पनि पायो। गीतको रचनाकार, संगीतकार, गायक सबैको उत्तिनै चर्चा भयो।
"हर रात सपनीमा ऐठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि"
'त्यो गीतको भिडियो बनेर अपलोड भएको केही वर्षमात्र भयो। दश हजार भ्युअर्स पनि छन् कि छैनन्,' उनले रमाइलो शैलीमा सुनाए।
कविता र गीत दुवैमा जमेका विप्लवको १४ मिनेट लामो गीत छिटै आउँदैछ। संगीतका पारखीका लागि पक्कै पनि उनको सिर्जनाको प्रतीक्षा हुनेछ – त्यो पूरा हुन्छ नै। तर, उनले सोधेको प्रश्नको उत्तर चाहि के हुन्छ भन्न सकिन्न।
प्रतीक्षाको लामो सुरुङबाट म आएको छु तिमी कहाँ,
भन न तिमी कसको प्रतीक्षामा?