काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षसहित सबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा नवलबहादुर मल्ल ३ हजार ३ सय ६९ मत प्राप्त गरी विजयी भए। उनका निकट प्रतिद्वन्द्वी एमालेका वीरेन्द्र बहादुर मल्लले १ हजार ९ सय ४६ मत मात्रै प्राप्त गरे। माओवादी केन्द्रका उम्मेदवार ईश्वरी दत्त भण्डारीले ५१९ र राष्ट्रिय जनमोर्चाका दलजित सिंह ऐरीले १४ तथा राप्रपाका कामदेव भण्डारी ११ मत पाए।
त्यस्तै उपाध्यक्षमा कांग्रेसकै कमला देवी ठगुन्ना विजयी भइन् । ठगुन्नाले ३ हजार ४ सय ७ मत प्राप्त गरिन्। एमालेकी कृष्णा देवी पनेरुले १ हजार ८ सय ७३ मत प्राप्त गरेकी छिन्। माओवादीकी नारुदेवी भट्टले ५६८ र राप्रपाकी पार्वती देवी मालीले १२ मत पाइन्।
तीन वटा वडा रहेको यस गाउँपालिकाका सबै वडाका अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यमा पनि नेपाली कांग्रेसकै उम्मेदवारहरु विजयी भएका छन्।
प्रम देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको वडा नम्वर १ असिग्राम उच्चमावि केन्द्र, रुवाखोलामा मतदान गरेका थिए।
डडेलधुराको अमरगढी नगरपालिकामा भने मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा विश्वेश्वरप्रसाद ओझा र उपमेयरमा संगीताकुमारी भण्डारी विजयी भएका हुन्। दुवै पदमा कांग्रेस उम्मेदवार दोस्रो स्थानमा रहे।