
काठमाडौँ : नर्भिक अस्पताल, बेड नम्बर ५०४।
पूर्व मिस नेपाल, मोडल तथा नायिका सृष्टि श्रेष्ठ केही दिनदेखि यतै बास भएको छ। कसैको कुरुवा भएर हैन, उनी आफै बिरामी भएकोले परिवारले उनलई अस्पताल भर्ना गरेका हुन्।
केही दिनदेखि अस्पतालमा भर्ना भएको भए पनि कलाकारहरु भेट्न गएपछि आइतबार राति बल्ल यो कुरा बाहिर आएको हो। हल्लाका रुपमा खबर सार्वजनिक भए पनि त्यसलाई पुष्टि गर्ने गरी कुनै पुलिस रिपोर्ट दर्ता भने भएको छैन। यद्यपि अस्पताल स्रोतले भने उनी सोमबार बिहानसम्म बेड नम्बर ५०४ मा रहेको पुष्टि गर्यो।
'उनको स्वास्थ्य स्थिति सामान्य भइसकेको छ, आजभोलि नै डिस्चार्ज हुनसक्छ', अस्पताल स्रोतले बतायो।
दिनहुँजसो सोसल मिडियामा एक्टिभ हुने सृष्टिको इन्स्टाग्राम तथा फेसबुक एक सातादेखि खाली छ। उनको पछिल्लो पोस्ट गएको सोमबार एउटा पुतलीको फोटो रहेको छ।
नारायणगढमा जन्मिएकी सृष्टिले सन् २०१२ मा मिस नेपाल उपाधि जितेकी थिइन्। उनले अनमोल केसीसँग गाजलु फिल्ममार्फत् डेब्यु गरेकी थिइन्।