PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

एपीएल काण्ड : खेलाडीलाई पैसा नदिई भागे आयोजक, नेपाली क्रिकेटले के पायो?



गोविन्दराज नेपाल

एपीएल काण्ड : खेलाडीलाई पैसा नदिई भागे आयोजक, नेपाली क्रिकेटले के पायो?

काठमाडौं : गत मंगलबार काठमाडौंमा एउटा विदेशी कम्पनीले ए(सी)पीएल क्रिकेट टुर्नामेन्ट सम्पन्न गर्‍यो। नेपालको नाममा रहेको नेपाल स्ट्रोमले फाइनलमा श्रीलंकन लायन्सलाई पराजित गर्दै उपाधि जित्यो। त्यसको आयोजक एसियन क्रिकेट फेडेरेसन अन्तर्गत रहेको क्रिकेट काउन्सिल इन्डियाले गरेको थियो भने व्यवस्थापन भारतको चन्डिगढस्थित अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले।

हुनत यो नेपालमा भएकोमध्ये प्रविधिका हिसाबले उच्चकोटीको प्रतियोगिता थियो। दर्शकका लागि टीयू मैदानमा भएको अर्को नयाँ क्रिकेट प्रतियोगिता। अनि पहिलो पटक साइड स्क्रिन र थर्ड एम्पाएर प्रयोग भएको प्रतियोगिता।

तर, जसैगरी प्रतियोगिता सम्पन्न भयो यसले विभिन्न खालको भ्रम र विवादलाई कायमै राख्यो।

प्रतियोगिता सुरु हुँदा जुन प्रश्न उब्जेको थियो अन्त्यसम्म सोही प्रश्न अनुत्तरित नै रह्यो र यसले थप कौतुहलता कायम राख्यो।

यतिमात्र होइन, प्रतियोगिता सकिएको भोलिपल्ट अर्को नयाँ ट्विस्ट बाहिर आयो। यसले आयोजकको विश्वसनीयतामाथि अर्को प्रश्न खडा गर्‍यो।

सहभागी ६ टोली मध्येका एक बंगलादेशी टाइगर्सका कप्तान अल अमिन हुसेन आफूले खेलेको पारिश्रमिक नपाएको भन्दै बुधबार नेपालका विभिन्न निकाय चाहर्न पुगे। तर आयोजक भागिसकेको हल्लाले उनीहरु निराश बने। यसले पनि देखाउँछ आयोजकको उद्देश्य के थियो भन्ने।

बुधबार बेलुका आयोजक आर एस डण्डीवाललाई उनी बसेको होटल अन्नपूर्णमा खोज्न पुग्दा उनी चेक आउट भइसकेको थाहा भयो। प्रहरीले अब यसबारे छानविन गर्ने आश्वासन दिएको छ। हुसेन मात्र होइन नेपाली फिजियो लगायत विभिन्न संस्थाले पाउनुपर्ने रकम पाएनन्।

प्रतियोगिता सुरु भएपछिको विभिन्न भेट र कुराकानीमा डण्डीवाल निकै नम्र रुपमा प्रस्तुत हुन्थे तर उनको त्यो नम्रपनभित्र भयानक रहस्य लुकेको कुरा कसैले थाहा पाएनन्।

गत जेठ २८ गते जुन ११ तारिखका दिन नेपालमा एकाएक अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता गर्ने हल्लाले सबैलाई कौतुहल बनायो। राजधानीको अन्नपूर्ण होटलमा आयोजकले प्रतियोगिता र ट्रफीको भव्य समारोहकाबीच ओपनिङ गर्‍यो। त्यसको भोलिपल्ट ६ टिमका लागि खेलाडीहरुको अक्सन गरायो। जसमा उपस्थित सबैभन्दा ठूला खेलाडी थिए, पूर्व श्रीलंकन स्टार तिलकरत्ने दिल्सान। उनी पनि नेपालमा खेल्न उत्साहित थिए।

 

किन खेलेनन् दिल्सान?

अक्सनको दिन भएको पत्रकार सम्मेलनमा दिल्सानले आफ्नो २० वर्ष अनुभव नेपालमा देखाउने बताएका थिए। तर, प्रतियोगिता गर्ने भनेदेखि नै विवादमा तानिएपछि दिल्सान कुनै पनि खेल खेलेनन्। आयोजकलाई आइसीसीले मान्यता नदिएको थाहा पाएपछि दिल्सानले नखेली फर्किए। यस्तै विभिन्न टिमका लागि आउने भनिएका मेन्टरहरु पनि आएनन्।

प्रतियोगिता खेल्ने सबैभन्दा ठूला खेलाडी पूर्वा पाकिस्तानी फास्ट बलर राना नाभिद उल हसन थिए। यसैगरी हङकङको राष्ट्रिय टोलीका प्रमुख बलर हजिब अमजाद थिए। नेपाल स्ट्रोमको कप्तानी गरेका अमजादले पनि प्लेअफ लगायत फाइनल खेल खेलेनन्।

 

कस्तो प्रतियोगिता हो एपीएल?

अस्तित्वमै नरहेको एसियन क्रिकेट फेडेरेसनसँग आवद्ध रहेको क्रिकेट काउन्सिल इन्डियाले प्रतियोगिता गरेको भनिएको थियो। जसको व्यस्थापन गर्ने काम भारतकै चण्ढिगढमा रहेको युएसएमले गरेको जनायो। आयोजकले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र एसियन क्रिकेट काउन्सिलसँग अनुमति लिएको थिएन। यस्तै एपीएललाई आइसीसीले र एसीसीले मान्यता पनि दिएको थिएन।

राष्ट्रिय खेलकुद परिषद राखेपसँग सम्झौता गरेर आयोजकले नेपालमा प्रतियोगिता आयोजना गरायो। राखेपसँगकै सहकार्यमा आयोजकले ग्राउण्ड लिएको थियो भने ग्राउण्ड स्टाफलाई पनि रखेप मार्फत नै पैसा दिने उल्लेख थियो।

राखेपका सदस्य सचिव केशव कुमार विष्टलाई तपाईले किन नेपालमा गर्ने अनुमति दिनुभयो भनेर सोध्दा उनले नेपालमा अन्तर्राष्ट्रियस्तर क्रिकेट हुन लागको यसले नेपाली क्रिकेट र नेपालको खेल पर्यटनमा सहयोग पुग्ने प्रतिक्रिया दिए। तर त्यही प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता भने थिएन। स्थानीय प्रतियोगिता खेलेका ४ खेलाडी मात्र अक्सनमा खरिद भए। त्यसमध्ये पनि राजवीर सिंहले होटलमा मोबाइल चलाउन नदिएका लगायत नियममा कडाइ भएपछि प्रतियोगिता अगाडी नै छाडे भने अक्सनपछि नेपालका पूर्व ओपनर परेश लोहनीलाई आइकोनिक प्लेयर भनेर राखियो।

प्रतियोगिताको नाम एसियन रहेपछि आयोजकले विभिन्न देशका नाममा ६ फ्रेन्चाइज टीम बनाएर खेलाडीको अक्सन गराएको थियो। जसमा नेपाल स्ट्रोम र श्रीलंकन लायन्ससँगै, बंगलादेश टाइगर्स, इन्डियन स्टार्स, अफगानिस्तान बुल्स र दुबई वारियर्स सहभागी थिए।

 

नेपाली क्रिकेटलाई के फाइदा?

प्रतियोगिता सुरु हुनु अघि नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागको, नेपाली खेलाडीले पनि खेल्न पाउने भन्ने निक्कै हल्लाखल्ला भयो। तर प्रतियोगिता सकिएपछि नेपालले के पायो त? नेपालले घरेलु मैदानमा साइड स्क्रिन र थर्ड एम्पाएरको प्रयोग पहिलो पटक हेर्न पायो। नेपाली अन्तर्राष्ट्रिय स्तरका खेलाडीको खेल भने हेर्न पाएनन्। पहिलो पटक घरेलु मैदानमा भएको प्रतियोगिता आइपिएल शैलीमा सोनी सिक्स च्यालनबाट हेर्न पायो। अनी क्रिकेट विकासमा के पायो? केही पाएन फगत विवाद बल्झायो।

नेपालका ४ खेलाडीले प्रतियोगितामा खेले। परेशसँगै भुपेन्द्र थापा, अमरसिंह राउटेला र सिद्धान्त राज शाही। घरेलु प्रतियोगिता राम्रो खेलिरहेका अमर नेपालका सम्भावना बोकेका युवा खेलाडी हुन्। तर उनले प्रतियोगिता खेलर के पाए? के उनी यसैको आधारमा राष्ट्रिय टिममा पर्लान् त्यो आगामी दिनल नै देखाउँछ। अनी सदस्य सचिव विष्टले भनेका कति पूरा भयो?

उनले नेपाली क्रिकेटको विकास हुन्छ भनेका थिए। तर वर्खाको मौसमका कारण केही खेल पूरा ओभर हुन पाएन। नेपालका खेलाडीले घरेलु मैदानमै भएको प्रतियोगिता खेल्न पाएनन्। अनी कसरी भयो त नेपाली क्रिकेटको विकास र सहयोग?

 

किन घटाइयो पुरस्कार रकम?

प्रतियोगिताको घोषणा हुनु पूर्व विजेतालाई २५ लाख (नेपाली ४० लाख) रुपैयाँ दिन भनिएको थियो। यस्तै म्यान अफ दी सिरिजलाई कार दिने घोषणा थियो। तर प्रतियोगिता सकिएपछि च्याम्पियन नेपाल स्ट्रोमले १५ लाख भारतीय रुपैयाँ पाए भने म्यान अफ दी सिरिजले कारको सट्टा जम्मा २५ हजार प्राप्त गरे। आखिर किन घटाइयो पुरस्कार रकम र किन दिइएन कार पुरस्कार?

 

टिम मालिक को?

अक्सनको दिन आयोजक प्रमुख आर एस डण्डिवालले ६ टिमका टिम मालिकको नाम र त्यसको संस्थाको नाम एउटा काजटमा टिपेर नेपाली सञ्चारकर्मीलाई दिए। त्यसमा टिमको मालिकको संस्था र व्यक्तिको नाम उल्लेख थियो। त्यसमा भारतदेखि न्यूजिल्यण्ड्सका व्यक्तिको नाम थियो। तर प्रतियोगिताभर ती कोही पनि देखिएनन्। टिम मालिक संस्थाको को भनेर इन्टरनेटमा सर्च गर्दा त्यसको अस्तिस्त पनि कतै देखिएन। यसले पनि के संकेत गर्छ भने आयोजकले गुपचुप रुपमै सबै विषय बाहिर नल्याई प्रतियोगिता सकाउन चाहेको थियो।

 

किन नेपाली मिडियालाई प्रवेश दिइएन?

नेपालको जनता टेलिभजनले क्रिकेटको नामम सट्टेबाजीको खेल भन्दै दुई वटा रिपोर्ट बनाएर प्रशारण गरेपछि उनीहरु आयोजकको तारो बनिसकेक थिए। प्लेअफ खेल हुने दिन त्यही मिडियका सञ्चारकर्मी टियू मैदान पुग्दा मैदान प्रवेश गर्न रोक लगाइयो। यसको गम्भीर ध्यानाकर्षण गर्दै नेपाल पत्रकार महासंघले असार १९ गते विज्ञप्तिसमेत जारी गर्‍यो।

सोही दिन एपीएलविरुद्ध तीन अधिवक्ता मनिस कुमार श्रेष्ठ, विकास भट्टराई र शिवजी भण्डारीले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार गृह मन्त्रालय र राष्ट्रिय खेलकुद समेतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट दायर गर्‍यो।  रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश ओमकुमार मिश्रको एकल इजलासले राष्ट्रिय खेलकुद परिषदलाई के कति कारणले खेल खेलाउन अनुमति दिइएको हो भन्दै कारण देखाउन आदेश दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell