PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

एसिडको पेगले पोलिरहेको सोनामको सपना



स्वेच्छा राउत

एसिडको पेगले पोलिरहेको सोनामको सपना

‘बुबा मेरो नागरिकता बनाउन पर्‍यो। विदेश जान सजिलो हुन्छ रे।’

‘तँ मेरो लागि मरिसकिस्। तँलाई मेरो नामको नागरिकता किन दिउँ?’

बुबा केसाङ तामाङले छोरा सोनामलाई नागरिकता नबनाइदिने भनेपछि सोनामभित्रको आक्रोश आगो बल्यो। उनी नजिकको भट्टी पुगे र लोकल रक्सी किने। पाटन सुन्धारास्थित फुपू रामकुमारीको कोठामा पुगे। धेरै दिनपछि आएको भदो देखेर फुपू खाना बनाउन थालिन्। सोनाम भने ल्याएको रक्सी बरन्डामा बसेर ठाडो घाँटी लगाउन थाले।

दुई घुट्को पनि लगाउन नपाउँदै सोनाम सिमेन्टको चिसोमा पछारिए। उल्टी गर्न थाले।


***
बाराका सोनाम १० वर्षको उमेरदेखि कहिले होटल भेटिए। कहिले वाइरिङ गर्ने ठाउँमा त कहिले मूर्ति सफा गरिरहँदा भेटिए। गरिबीले उनलाई बाल मजदुर बनायो। 

‘तिमी आमाको छोरा कि बाबाको?’ बालापनमा धेरैले सोध्ने प्रश्न। कसैले यसैगरी सोध्ये भने उनी नाजवाफ रहन्थे। अलि ठूलो भएपछि अर्थात् सोनाम १० वर्ष पुगेपछि त सोधिने प्रश्न पनि फेरियो।
 
आफन्त र चिनेका मान्छे कतै भेटिए भने सोध्थे - ‘के काम गर्दै छस्?’ 

दश वर्षको बालकलाई असाधारण लाग्छ यस्तो प्रश्न। तर, प्रश्न आइरहे। सोनम तामाङको विवशता।

भन्छन्, ’आफैँ नकमाए खान पाउने स्थिति त थिएन। केही समय भाँडा माझेँ पाटनकै होटलमा। भाँडा माझ्नु भन्दा सिप सिक्नु निको लाग्यो। वाइरिङ गर्ने ठाउँमा काम थालेँ। तर १०/११ वर्षकाले गर्न सक्ने काम होइन रै'छ।'

अहिले १८ वर्षका भए सोनाम।

वाइरिङ गर्न नसकेपछि फलाम, पित्तल र अन्य धातुको मूर्ति सफा गर्छन्। फिनिसिङ उनको जिम्मेवारी।

आमाको अनुहार उनलाई याद छैन। बाउलाई देखे भने चिन्छन् तर बोल्दैनन्। सोनाम ३ वर्षको छँदै साउदी गएका उनका बाबु सम्पर्क बिहीन भए लामो समय। आमाको प्राण गयो त्यही बीचमा। बाराको तिलुवामा उनी एक्लो हुने भएपछि सोनामका ठूला बाले उसलाई सिन्धुली ल्याए।

सिन्धुलीबाट काठमाडौं आएको क्षण सम्झदै सोनाम भन्छन्, ’भाग्य मात्र होइन बुद्धि पनि बिग्रिएपछि काठमाडौं आएँ। के थाहा शहर कथामा मात्र सुन्दर हुन्छ भन्ने।' 

सिन्धुली बसुन्जेल ४ कक्षासम्म पढेका उनलाई काठमाडौं आएपछि कलम कापीको सट्टा जुठा भाँडा र बोरा समात्न बाध्य भए। सोनामको जीवन कथा कारुणिक छ। यसअर्थमा उनीले जीवनका महत्वपूर्ण 'आ' 'आमा' र 'आर्थिक' दुवैको अभाव भोग्नुपर्‍यो।

तर, सोनाम पात्र एउटा रहस्य हो। किनकि उ एकसुरले आफ्नो पक्षबाट कुरा सुनाउँछ। उसको जीवनको अर्को पक्ष वा नदेखिएको यथार्थ बुझाउन कोही तयार नै छैनन्। सोनामको आफन्त उसको नाम सुन्नासाथ टाढिन्छन्।

उसका बाबु केसाङलाई फोन गर्दा ठाडै भने, 'जेसुकै गरोस् मलाई मतलव छैन। मरे पनि त्यो मेरो छोरा होइन।' 

***
२०७३ मङ्सिर २ गते। 

बाबुले नागरिकता बनाउन सहयोग नगर्ने भएपछि सोनामले रक्सीको साथ लिने विचार गरे।
 
'म तनावमा थिएँ। तनाव हुँदा रक्सी पिउनुपर्छ भन्ने थियो। धेरै थाकेको दिन रक्सी पिएरै सुत्थेँ'', उनी त्यो दिन सम्झन्छन्। सायद सोचेको थिएनन् तनाव मुक्त हुन किनेको रक्सीले उनलाई उल्टै तनाव दिन्छ भन्ने।

मूर्ती टल्काउने काममा बोत्तल साटिएछ। रक्सी बोत्तलको सट्टा परेछ सँगै राखेको उस्तै देखिने तेजावको बोत्तल। तेजाव र रक्सी दुबै मिनेरल वाटरको सादा बोत्तलमा थिए। उनले तेजावको बोत्तललाई दिउँसो किनेको रक्सी सम्झिए र लिएर हिडे। एकान्त खोज्दै फुपूको कोठा पुगेका उनले घुट्क्याएका थिए एसिड। त्यसपछि के भयो होला? तपाईँ आफै अनुमान गर्नुस्।
 
बाबुको ब्यवहारको झोकले उनलाई एसिड पिलायो।
 
फुपू रामकुमारी भन्छिन्, 'बाउचाहिँलाई घुर्की लगाउन जानी जानी खाएको हो। बेक्कार मेरो कोठामा आएर दु:ख दियो। मरेको भए मैले के के खप्न पर्थ्यो?'
 
प्राय साहुकोमै सुत्ने सोनाम कहिले काही जान्थे फुपूकहाँ। 

फुपू र फुपाजु मिलेर तत्काल उनलाई वीर अस्पताल लगे। इमर्जेन्सीमा राखियो। समयमै उपचार पनि भयो। उसलाई ठीक हुँदै थियो। 

*** 
'दाइ मेरो फुपूले कमाएर ल्याए मात्र कोठामा राख्छु भन्नु भएको छ। मलाई काम दिनु न,' मायालाग्दो केटाको याचना सुनेपछि पाटनमा मुर्ति टल्काउने काम गर्दै आएका काभ्रेका दीपक तामाङले नाईँ भन्न सकेनन्।
 
खाजा खाना दिएर महिनाको ९ हजार। तलब तोकियो।
 
'काममा त राखेँ तर १५ दिन नबित्दै न खान सक्छ न काम गर्न नै! केटो त ओच्छ्यान पो पर्‍यो,' दीपकले सोनामको अवस्थाबारे प्रस्ट्याए, 'बल्ल पो एसिड परेको कुरा सुनायो।'
 
सोनामले ढाटेका थिए। 

'चाँडै ठीक हुन्छ होला भनेर ढाँटेको हुँ,' सुन्निएको हात, खुट्टा र सुकेको गाला लिएर नजिकको सोफामा बसेका थिए सोनाम। 

दीपकले कुरा सक्काउनुअघि आवाज ठूलो बनाउन खोजे। सायद, पेटमा लगाएको पाइपले केही दुखायो। त्यसैले पुन: सोफामा अढेस लगाउँदै दीपकलाई नै बोल्न दिए।

ललितपुरको अल्का अस्पताल लगेर उनै दीपकले फेरि उपचार गराए। डाक्टर अजित कुमारले केही औषधि र साह्रो खानेकुरा खान सुझाएपछि केही राहत मिलेको जस्तो भयो सोनामलाई। तर, फेरि कथामा अर्को ट्विस्ट।

'सञ्चो हुन थालेपछि त सोनाम कता गयो गयो। सम्पर्क बिहीन भयो,' केही आक्रोशित देखिए दिपक। सोनाम ३/४ महिना गायब।

*** 
२०७४ जेठ २८ गते।

'जसरी हुन्छ बचाउनुस् दाइ। मलाई बाच्न मन छ।' 

ढोकामा हड्डी मात्र देखिने उसको आग्रह सुन्दा दीपक छक्क परे। दीपककी आमाले सोनामको आवाज चिनिन्।

'ठूलोबुबाको छोराहरुले उपचार गर्दिन नलगेपछि जाने ठाउँ कहीँ बाँकी रहेन र दीपक दाइलाई नै सम्झेँ।' 

सोनामले भागेर ठूलो बुबाको छोराहरु भएको ठाउँ (इमाडोल) गएको प्रस्ट पारे। तर, सोनामको स्वास्थ्य यसरी बिग्रिएछ कि उ शरीर अड्याउन सक्ने अवस्थामा समेत रहेनछ।
 
बुबा, फुपू, ठूलोबुबाको छोराहरु नजिकै भएर पनि सोनामको कोही थिएनन्। 

दया गरेर जसले काममा राखे उसकोबाट पनि भागे। तर, दीपकको व्यवहारले यस्तो भरोसा जितेको रहेछ कि मर्ने अवस्थामा पुग्दा सोनाम त्यहीँ पुगे जहाँबाट उपचार पाएपछि चार महिना हराएका थिए।

दीपकले बेवास्ता गर्न चाहेननन्। या सकेनन्। उनले मान्छे हुनुको धर्म देखे। सोनामको उपचार गराउने भए। 

'बाँच्ने रहर पालेर बचाउने आग्रह गर्दै ढोकामा आएकोलाई कसरी आँखै अगाडि मर्न दिनु?', दीपकले पुर्लुक्क सोनामको सुन्निएको खुट्टातिर हेरे। भने, 'यसलाई फेरि काम गरेर खान सक्ने बनाउन पाए मेरो मनलाई ठूलो राहत मिल्थ्यो।' 

दीपक पनि उस्तो धेरै सम्पन्न मान्छे कहाँ हुन् र? परिवार चलाउन मूर्तिको फिनिसिङको काम गर्छन्/गराउँछन्। उनको आमा, बुबा र भाइहरुको लागि जीवन गुजार्ने आय भनेकै मूर्तिको काम हो। सोनाम जस्तै पाँचजना कामदार छन्। सबैलाई मासिक तलब सहित खान, बस्नको सुविधा दीपकले नै उपलब्ध गराउनुपर्छ। व्यापारबाट नाफा जम्मा गर्न भन्दा पनि घर अफ्ठ्यारोबिना चलोस् भनेर काम गर्छन्। 

उनले फेरि वीर अस्पतालमा पुर्‍याए। रिपोर्टले देखायो: उसको फुड पाइप नै बन्द भएको छ। शल्यक्रिया नगरी अरु केही सम्भव छैन। 
औषधि, बेड खर्च, खाना खाजा खर्च र शल्यक्रिया खर्च। पैसा बिना केही नै सम्भव थिएन। शल्यक्रिया गरिहाल्न पनि सोनामको शरीरमा ताकत कहाँ थियो र? 

*** 

दीपकको निस्वार्थ व्यवहारको मूल्याङ्कन गरे उनको ठूलोबुबा समरध्वज लामाले। लामा पूर्व भूमिसुधार राज्यमन्त्री यशोदा कुमारी लामाकी बुबा। उनले छोरीको सहयोगमा वीर अस्पतालमा बेड चार्ज र ‍औषधि खर्च नि:शुल्क गर्न सहयोग गराए। दीपकलाई धेरै राहत मिल्यो।
 
सोनामको मुखबाट खानेकुरा खान सम्भव नै छैन। उनको पेटबाट नै खाना दिने पाइप जडान गरिएको छ। उनको शरीरमा केही ताकत आएपछि मात्र उनको शल्यक्रिया हुने बताइएको छ। त्यतिन्जेललाई उनको डिस्चार्ज भएको छ।
 
'जसरी हुन्छ म ठीक बनाउँछु। तर, उसको बुबा सम्पर्कमा बसिदिएमात्र हुन्थ्यो,' दीपक भन्छन्। तर, बुबा केसाङ निर्दयी देखिए।

'जसले जे सुकै गरोस्। त्यो मेरा लागि मरिसक्यो,' उनले यस्तै प्रतिक्रिया दिए। 

केसाङ कहिले पाटनको सुन्धारामै बस्छन् त कहिले कान्छी श्रीमती र छोराछोरी रहेको बाराको तिलुवा पुग्छन्। सिन्धुली मुल घर छोडेको वर्षौ भइसक्यो।

केसाङकी बहिनी रामकुमारी भन्छिन्, 'छोरामात्र होइन आफन्तलाई पनि आफ्नो मान्दैन यसको बाउ। किन तपाईंहरु त्यो निर्दयीको जिम्मेवारी आफ्नो काँधमा उठाउनु हुन्छ?'

दीपकको आफूलाई बचाउने प्रतिबद्धता सुनिरहेका सोनाम भन्छन्, 'पहिला अरुलाई सोध्न मन लाग्थ्यो- परिवार हुँदा कस्तो महसुस हुन्छ? भन्ने। दीपक दाइ र उहाँको परिवारको साथ पाएपछि सोध्न नपर्ने भएको छ।'
 
सोनामको बाँच्ने रहर, दीपकको बचाउने प्रतिबद्धता। उसको आफन्त र परिवारमा माया, स्नेह र आफ्नोपनको अभाव जस्तै शल्यक्रियाको लागि पैसाको अभाव।

नजिकै बसेका अर्को कामदार बोल्छन्, 'यो बाँच्छ भने हामी पनि केही महिना तलबको कुरा नगरौंला।'

तर, त्यति पैसाले मात्र कहाँ पुग्ला र?

एकछिनको आवेगले सोनामलाई आज मृत्यु र जीवनबिचको संघर्षमा पुर्‍याएको छ। जुन स‌ंघर्ष उनले १० वर्षको उमेरदेखि साहुहरुको घरमा गरेको  संघर्षभन्दा पक्कै कठिन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell