PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

युएईमा नेपाली युवा फुटबल टोलीको अग्निपरीक्षा



गोविन्दराज नेपाल

युएईमा नेपाली युवा फुटबल टोलीको अग्निपरीक्षा

काठमाडौं : सन् २०१८ मा छिमेकी चीनमा एएफसी यू-च्याम्पियनसिप आयोजना हुँदैछ। त्यसैको लागि अर्को हप्ताबाट छनोट चरणका खेलहरु सुरु हुँदैछन्। यसमा नेपालसहित कूल ४० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।

छनोट चरणबाट छानिएका १६ टोलीले अन्तिम चरणमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

एसियाका ४० राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता सिधै अन्तिम चरणमा छनोट हुनेछ। यस्तै आयोजकको रुपमा चीन स्वत: अन्तिम चरणका लागि छानिनेछ भने दशमध्ये दोस्रो स्थानमा रहने उत्कृष्ट ५ टोली पनि छनोट हुनेछन्। यदि चीन आफ्नो समूहको विजेता अथवा उत्कृष्ट ५ उपविजेता बनेको खण्डमा भने दोस्रो स्थानको छैटौँ उत्कृष्ट टोलीले अन्तिम चरण खेल्ने अवसर पाउनेछ।

नेपाल छनोटको समूह डी मा परेको छ। जहाँ आयोजकको रुपमा रहेको युएई, एसियाको उदाउँदो फुटबल शक्तिको रुपमा रहेको उज्वेकिस्तान र लेवनान रहेका छन्। नेपालले यही शनिबार आयोजक युएईसँग पहिलो खेल खेल्नेछ। त्यसपछि उज्वेकिस्तान र लेवनानसँग। युएईको गर्मी र ५ दिनमा ३ खेल खेल्नुपर्ने चुनौती नेपालसामु छ।

यसअघिका दुवै संस्करणमा नेपाल छनोट चरणबाटै बाहिरिएको थियो। अर्को तथ्य के छ भने नेपालले अहिलेसम्म एक खेल मात्र जित्न सकेको छ। यस्तै पछिल्लो पटक २०१५ मा इरानमा भएको छनोट चरणमा नेपालले समूह चरणका कुनै खेल जित्न सकेन नै गोल पनि गर्न सकेन। ४ खेल खेल्दा नेपालले १७ गोल बेहोरेको थियो।

सन् २०१३ मा एसियाली फुटबल महासंघले एएफसी यू-२२ कपको नामबाट नयाँ प्रतियोगिता सुरु गरेको थियो। त्यसबेला नेपालले घरेलु मैदानमा समूह डी को छनोट चरणका खेलहरु आयोजना गरेको थियो। नेपालले काठमाडौंको दशरथ रंगशालामा ४ खेल खेल्दा बंगालदेशलाई मात्र हराउन सक्यो। यमन, उज्वेकिस्तान र जोर्डनसँग भने नेपाल पराजित रह्यो। बंगलादेशलाई ४-१ ले हराउँदै सुखद् सुरुवात गरेपनि उज्वेकिसत्नसँग ४-२, यमनसँग १-० र जोर्डनसँग ३-० ले हारेपछि नेपाल समूहमा चौथो स्थान रह्यो र अगाडि बढ्न सकेन। त्यसबाट ६ गोल गरेको नेपालले ९ गोल खायो।

त्यसको २ वर्षपछि एएफसी उमेर थप गर्दै यू-२३ च्याम्पियनसिप बनायो। इरानमा भएको उक्त छनोटमा नेपालले चारै खेलमा गोल गर्न सकेन।

यसपटक नेपाल रहेको समूहमा ४ राष्ट्र मात्र छन् र समूहमा शीर्ष स्थानमा रहने टिम चीनमा हुने च्याम्पियनसिपका लागि सिधै छनोट हुनेछ। यस्तै दोस्रो स्थानमा रहनेमध्ये पनि उत्कृष्ट केही टोली अन्तिम चरणका लागि छानिनेछन्।

इरानमा भएको समूह सी को छनोटमा नेपाल पहिलो खेलमै इरानसँग ५-० ले पराजित भयो। त्यसपछि अफगानिस्तानसँग २-०, साउदी अरेवियासँग ६-० तथा प्यालेस्टाइनसँग ४-० ले पराजित भयो।

यसपटक पछिल्लो छनोट खेल्ने टिममा रहेको ९ खेलाडी अहिले पनि नेपालको टिममा छन्। विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका आधा दर्जनभन्दा बढी खेलाडी छन् भने राष्ट्रिय टिमको क्याम्पमा परेका अन्य खेलाडी समेत छन्। यस्तै अधिकांश खेलाडीले यसअघि उमेर समूहमा सँगै खेलेका पनि छन्।

छनोटको लागि गरिएको ड्र मा नेपाल सबैभन्दा तल्लो वरीयता अर्थात पट ४ मा थियो। यसअको अर्थ नेपालको समूहमा रहेका सबै टिम नेपाल भन्दा राम्रा छन्। त्यसो भए नेपालले खेल जित्ने र छनोट हुने सम्भावना कति छ त?

नेपालका प्रशिक्षक र कप्तानले सिधै छनोट हुन्छौँ/हुँदैनौँ भन्दा पनि युएईमा राम्रो फुटबल खेलेर आउने डिपलोम्याटिक जवाफ दिए।

यसअघिका दुई संस्करणमा नेपालमा प्रदर्शन हेर्ने हो भने यस पटक पनि नेपालको लागि चुनौती उत्तिकै छ।

थोरै तयारी, मैत्रीपूर्ण खेलको अभाव र सँधै उही पूरानै खेलाडी टिममा पर्नुले नेपालको वास्तविकता देखाइसकेको छ। यद्यपि नेपालको अहिलेको यू-२३ टोलीलाई अहिलेको मात्र नभएर भविष्यको पनि उत्कृट टिमको रुपमा हेरिएको छ।

प्रशिक्षक राजुकाजी शाक्यले युएई जानुअघि त्यहाँ नेपालले आफ्नो बेस्ट परफरमेन्स दिने बताएका थिए। छनोटका लागि नेपालले पछिल्लो ३ साता प्रशिक्षण गरेको थियो। यस्तै गत मंगलबार एन्फाको कृतिम घाँसे मैदानमा भएको मैत्रीपूर्ण खेलमा बगलादेश यू-२३ लाई १-० ले हराएको थियो।

प्रशिक्षक शाक्यले नेपालको भन्दा युएईको मैदानमा घाँस केही मोटो हुने बताए। उनले युएई पुग्ने बित्तिकै नेपालले अभ्यास सुरु गर्ने दुई दिनमा त्यहाँको वातावरणमा घुलमिल हुने बताए।

उक्त खेलमा निर्णायक गोल गरेका कप्तान विमल घर्ती मगरले खेलपछि एउटा मैत्रीपूर्ण खेलले मात्र नपुग्ने बताएका थिए। 'अहिले टिमा नयाँ खेलाडी छन् जोसँग अनुभवको कमी छ, यदि २/३ वटा मैत्रीपूर्ण खेल खेल्न पाएको भए अझै राम्रो हुने थियो। त्यस्तै टिममा केही नयाँ खेलाडीहरु पनि छन् जसले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका छन्।'

बंगलादेशविरुद्धको खेलमा प्रशिक्षक राजुकाजी शाक्यले वैकल्पिक खेलाडीका रुपमा मैदान पठाएका विश्वास श्रेष्ठ र पुजन उपरकोटीले राम्रो खेलेको प्रतिक्रिया दिएका थिए।

कप्तान विमलले अपोनेन्ट राम्रो भए पनि उत्कृष्ट प्रदर्शन गर्दै रिजल्टका लागि खेल्ने बताए।

 

कस्तो छ नेपाली टिम

यसअघि यू-१६ र यू-१९ लेभलमा सँगै खेलेका खेलाडीहरु अहिलेको नेपाली यू-२३ टिममा छन्। सन् २०१४ मा घरेलु मैदानमा भएको एएफसी यू-१६ छनोटमा विमलकै कप्तानीमा सँगै खेलेका ८ खेलाडी अहिले पनि सँगै छन्। त्यस्तै दुई वर्ष अघि घरेलु मैदान यू-१९ साफ च्याम्पियनसपको उपाधि जित्दा पनि विमल नै कप्तान थिए भने त्यस टोलीका १३ खेलाडीले अहिले पनि निरन्तरता पाएका छन्।

यू-२३ मै पनि पछिल्लो संस्करणमा टिममा रहेका ९ खेलाडी छन्।

यसरी हेर्दा नेपालले पछिल्लो आधा दशक सँगै खेलेका खेलाडीहरुको बाहुल्यता छ। कप्तान विमलसँगै उपकप्तान अनन्त तामाङ, अन्जन विष्ट, हेमन्त थापामगर, गौरव बुढाथोकी दिनेश राजवंशी सुनील बल, अमित तामाङ संजोग राई एकै ब्याचका खेलाडी हुन्। उनीहरुले यू-१६ मा सँगै खेलेका थिए। यू-१९ साफ जित्दा कमल श्रेष्ठ, विश्वास श्रेष्ठ,तेज तामाङ, दोना थापा थपिए।

यस्तै राष्ट्रिय टिमबाट खेलेका हेमन गुरुङ त्यसभन्दा अघिल्लो ब्याचका खेलाडी हुन्।

त्यसबाहेक गोलरक्षक एलान न्यौपाने, मिडफिल्डर सुमन लामा लगायतका खेलाडी जसले पछिल्लो पटक सिनियर राष्ट्रिय टिममा स्थान बनाएका थिए।

 

नेपाली यू-२३ टोली

गोलकिपर : एलान न्यौपाने, किशोर गिरी, अशोक बराल

डिफेण्डर : अनन्त तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ तामाङ, लक्ष्मण जिसी

मिडफिल्डर : हेमन गुरुङ, हेमन्त थापा, सुमन लामा, सुनील बल, पुजन उपरकोटी, तेज तामाङ, डोन थापा, विवेक बस्नेत

फरवार्ड : विमल घर्ती, अन्जन विष्ट, संजोग राई, विश्वास श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell