PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आफ्नै कर्मचारीलाई सेयर दिँदै बाजेको सेकुवाले खोल्यो नयाँ आउटलेट



आफ्नै कर्मचारीलाई सेयर दिँदै बाजेको सेकुवाले खोल्यो नयाँ आउटलेट

काठमाडौं : कर्मचारीको स्वामित्वमा सुकेधारामा बाजेको सेकुवाको नयाँ आउटलेट खुलेको छ। फ्रेन्चाइज मोडलमा कर्मचारीलाई स्वामित्व दिएर संचालनमा आएको यो दोस्रो आउटलेट हो।

यस भन्दा अघि सातदोवाटोमा कर्मचारीको स्वामित्वमा बाजेको सेकुवाको आउटलेट संचालनमा आएको थियो। सुकेधारा आउटलेटको संचालक होमनाथ घिमिरे र पविन थापा छन्। उनीहरु दुवै बाजेको सेकुवाका वरिष्ठ कर्मचारी हुन्। यी फ्रेन्चाइज बाजेको भेन्चर कम्पनी अन्तर्गत संचालनमा आउनेछन्। कम्पनीको पूर्ण स्वामित्वमा पाँच शाखा छन्। काठमाडौं बाहिर पोखराको नागढुंगामा बाजेको सेकुवाको फ्रेन्चाइज छ।
 
‘हामीले बाजेको सेकुवा संचालनको लागि पहिलो प्राथमिकतामा कम्पनीकै कर्मचारीलाई राख्छौ,’ बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले भने, ‘कर्मचारीबाट संचालन भएको फ्रेन्चाइजमा व्यवस्थापन राम्रो हुने र ब्रान्ड पनि नबिग्रने भएकोले पहिलो प्राथमिकतामा राखेका हौ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चौरबाट सुरु भएको बाजेको सेकुवाले ब्रान्ड बनाइसकेको छ।
 
‘मेरो बुबाले सुरुमा पाँच किलो मासु खुला चउरमा राखेर बिक्री सुरु गर्नुभएको थियो। सुरुको दिनमा दुई प्लेट मात्रै बिक्री भएको थियो,’ भण्डारीले भने, ‘कठिन सर्घषबाट सुरु भएको यो ब्रान्डलाई कर्मचारीलाई समेत मालिक बनाउने योजनासम्म आइपुगेका छौं।’
 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील खड्काले आगामी आर्थिक वर्ष भित्र बाजेको सेकुवाको ८ वटा फ्रेन्चाइज खोल्ने योजना रहेको जानकारी दिए।
‘अबको पाँच वर्षमा नेपालका प्रमुख सहर र विदेशमा समेत शाखा खोल्ने योजना बनाइरहेका छौ,’ उनले भने, ‘हामी नेपाली ब्रान्डलाई विश्वस्तरसम्म पुर्‍याउने कोशिसमा छौं।’ कम्पनीले चार/पाँच वर्षभित्रै बाजेको सेकुवाको साधारण सेयर निष्काशन गर्ने योजना समेत बनाएको छ।
 
‘अहिले बैंक तथा वित्तिय संस्थाको आइपिओ आएको छ । हामी कम्पनीको आइपिओ ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो प्रयास सफल हुने विश्वासमा छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell