PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​सूर्यबहादुर थापा : जीवित छँदा सत्तोसराप, मृत्युपछि ‘महान’? पढ्नुस् कसले के भनेका थिए



​सूर्यबहादुर थापा : जीवित छँदा सत्तोसराप, मृत्युपछि ‘महान’? पढ्नुस् कसले के भनेका थिए

  • पहिलोपोस्ट -
काठमाडौँ :  पाँच पटक नेपालका प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको निधनपछि विभिन्न विशेषण जोड्दै नेताहरुले श्रद्धाञ्जलि दिने क्रम जारी छ। राजनीतिमा धेरै समयसम्म केन्द्रबिन्दुमा रहेका थापा जीवित छँदा चाहिँ उनीहरुले के भनेका थिए त?  पत्रकार किशोर नेपालले देशान्तर पत्रिकाका लागि २०४२ सालदेखि २०४७ सालसम्म लिएका अन्तर्वार्ताहरुमा छापिएका समकालीन नेताहरुले व्यक्त गरेका विचारका केही अंशको सङ्गालो-
 

जब जब पदबाट हट्नु हुन्छ, नाटकको सिर्जना गर्नुहुन्छ उहाँ : कमल थापा

किशोर : तपाईंलाई भूमिगत गिरोहको सक्रिय सदस्य भन्दछन् । यो गिरोहको अस्तित्व र तपाईको संलग्नता बारे प्रष्ट पारी दिनुहुन्थ्यो कि ?
कमल : सूर्यबहादुर थापा जब जब पदबाट हट्नु हुन्छ सबै नाटकको सिर्जना गर्नु हुन्छ । पहिलो पटक पदबाट हट्दा उहाँले “द्वैध शासन” को विवाद उठाउनु भयो र यस पटक भूमिगत गिरोहको कुरा गर्नुभयो । वास्तवमा, भूमिगत गिरोह बारे उहाँको परिकल्पना उहाँको द्वैधशासनसम्बन्धि धारणाको पुनरावृत्ति मात्र हो । पदमा रहँदा उहाँले कहिल्यै त्यो गिरोहको कुरा नै गर्नु भएन । पदबाट हटे पछि मात्र देखिने त्यो कस्तो गिरोह हो ? त्यसैले अर्को शब्दमा भन्ने हो भने उहाँको त्यो धारणा उहाँलाई बेला बेलामा लाग्ने गरेको ‘राजनैतिक छारे रोग’ को संकेत हो । र भूमिगतगिरोहको अस्तित्व कोरा कल्पना हो । मेरा सम्पूर्ण गतिविधि सार्वजनिक रूपमा प्रष्ट छन् । जन–राजनीतिमा विश्वास गर्ने मेरो संस्कार भूमिगत रूपमा होइन भूमिका हुर्केको छ, बढेको छ ।
(२०४३ वैशाख १४ गते प्रकाशित)  
 

पन्चहरुमध्ये सबभन्दा घृणित व्यक्तित्वः उमेशजंग थापा

किशोर : तपाईले भर्खरै पर्खालको कुरा गर्नुभयो । यसको मतलब तपाईं पनि सूर्य बहादुर थापाले भनिराख्नु भएको भूमिगत गिरोहको कुराको समर्थन त गरिराख्नु भएको छैन ?
उमेश : सूर्यबहादुर थापा स्वयं एक भ्रष्ट व्यक्ति हुन् । छद्म रूपमा कुरा गर्न जानेका छन् उनले । सूर्य बहादुरले आफैं भूमिगत गिरोह चलाउने त्यो व्यक्ति को हो भनेर भन्न सकेका छैनन । मैले आफ्नो घोषणापत्रमा यी यी हुन् ती व्यक्ति भनेर इङ्गित गरेको छु । छद्म रूपमा किन कुरा गर्ने ? राजनीति भनेको खुला हुनु पर्दछ । सूर्यबहादुर थापा र ममा आधारभूत फरक छ । उनले यो व्यवस्थालाई बीस वर्षसम्म चलाएका हुन् र आज आफूलाई इमान्दार सम्झन्छन् । तर उनी जस्तो भ्रष्ट व्यक्ति मैले देखेको छैन । उनले आफ्नै मुखले पनि जनमत संग्रहताका मैले यस्तो यस्तो किसिमले बेइमानी गरें भनेर स्वीकारी सकेका छन् । यस्तो भन्ने व्यक्ति कसरी प्रजातन्त्रवादी हुन्छ ? मेरो विचारमा उनी पंचहरू मध्ये सबभन्दा घृणित व्यक्तित्व हुन् ।
किशोर : तर उहाँ उदारवादको कुरा गरिराख्नु भएको छ, तपाईंले भन्नु भए जस्तै राजा प्रजा बीचको पर्खालको रूपमा रहेको भूमिगत गिरोह भन्नु हुन्छ ?
उमेश : नौ सय मूसा खाएर तीर्थ जाने बिरालोको कथा तपाईंलाई थाहा छैन ? सूर्यबहादुर त्यही हुन् यिनी फेरी नौसय मूसा खान पनि तयार छन् र फेरी तीर्थ जान पनि तयार हुन्छन् ।
(२०४३ जेठ २५ गते प्रकाशित)  

सूर्यबहादुर थापा नै भूमिगत गिरोह थिए कि :  डा. डिल्लीरमण रेग्मी

किशोर : सूर्यबहादुर थापाले भन्ने गरेको भूमिगत गिरोह..........?
डा. रेग्मी : होइन । यो भूमिगत गिरोह आदिको धारणामा मलाई विश्वास नै छैन । कसलाई भुमिगत गिरोह भन्ने ? कोहीबेलामा सूर्यबहादुर थापा नै भूमिगत गिरोह थिए कि ? वास्तवमा जो शक्तिमा छ, त्यो ‘भूमिगत गिरोह’ भनिन्छ र शक्तिबाट बाहिर आएपछि उही अर्कालाई भूमिगत गिरोह भन्न थाल्छ । म यो लटरपटरमा छैन र मानिलिउँ को हो रहेछ त भूमिगत गिरोह, शरदचन्द्र शाह आदि आदि–जसको नाम लिइन्छ, यदि यो कुरा साँचो हो र उनीहरूको प्रभाव बढ्न लागेको रहेछ भने श्री ५ महाराजाधिराजबाट ती व्यक्तिहरूलाई निकाली बक्सिनुपर्छ ।
(२०४३ कार्तिक ९ गते प्रकाशित)

केन्द्रबिन्दूको वरिपरि बस्नेहरूले जहिले र जहाँ पनि “प्रोक्सी”ले काम गर्छन् : डा. मोहम्मद मोहसिन

किशोर : पंचायतभित्रको एउटा पक्षले बराबर नाम लिइरहने ‘भूमिगत गिरोह’ को व्याख्या गर्नुपर्दा तपाईं कसरी गर्नुहुन्छ ?
डा. मोहसीन : वास्तवमा तपाईको यो प्रश्न बडो कठीन छ । कुनै पनि राजनीतिलाई म भूमिगत रूपमा हेर्दिन । भूमिगत भनेर ज–जसलाई संकेत गरिएको छ ती सबै भूमि बाहिर नै छन् । सूर्यबहादुरजीले जुन महानुभावलाई यसो भनेर लक्षित गर्नुभएको छ उहाँले पनि अफू भूमि बाहिर “साक्षात र क्रियाशील” भएको बताउनु भएको छ ।
म तार्किक आधारमा विश्वास गर्दछु । आफ्नो राजनीतिक स्वार्थपूरा गर्न अत्तो थाप्ने र हौवा खडा गर्ने मेरो बानी छैन। वास्तवमा केन्द्र विन्दूको वरिपरि बस्नेहरूले जहिले र जहाँ पनि “प्रोक्सी” द्वारा काम गर्दछन् । यस्ता “प्रोक्सी” हरू रेगन हुन राजीव हुन, थ्याचर हुन सबैका वरिपरि छन् । सूर्य बहादुरजी प्रधानमन्त्री हुनुहुँदा उहाँका सल्लाहकार सुरेन्द्र राज शर्माको कुनै संवैधानिक दायित्व थिएन । प्रत्येक संस्थानमा स्वयं सूर्यबहादुरजीको “तोक आदेश” चल्दथ्यो । विकासशील राष्ट्रमा यस्तो “प्रोक्सी” त हुने नै गर्दछ । तर संवैधानिक पदमा बसेकाले यसलाई कसरी नियन्त्रण गर्दछन्–त्यसमा धेरै कुरा निर्भर गर्दछ । त्यसैले भूमिगतको हौवालाई म “हाइपोथेटिकल” भन्दछु ।
(२०४३ असोज १२ गते प्रकाशित)  
 

भएर त भने होलान् :  डा. हर्क गुरूङ

किशोर : पंचायतभित्रको एउटा समूहले लगातार भूमिगत गिरोह भनिराखेको छ, यो भूमिगत गिरोह देश भित्र छ जस्तो लाग्छ तपाईंलाई ?
डा. गुरूङ : भएर त भने होलान् । त्यसका प्रमुख त, त्यो विचार पेश गर्ने पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा हुन् । प्रधानमन्त्रीसम्म भइसकेको मानिसलाई हामीलाई भन्दा धेरै कुरा थाहा होला ।
(२०४४ भदौ ७ गते प्रकाशित)
 

पदमुखी र जागिरे प्रवृत्ति : रूपचन्द्र विष्ट

किशोर : यसको मतलव सूर्यबहादुर लोकेन्द्रबहादुर र मरीचमानमा तपाई तात्विक अन्तर देख्नु हुन्न ?
विष्ट : यिनीहरू पदमुखी र जागिरे प्रवृत्तिका हुन् । सरकार चलाउन पाए जम्मै ठीक नपाए जम्मै बेठीक भन्न बेर लगाउँदैनन्।
(२०४४ भदौ २८ गते प्रकाशित)  
 

मृत्युपछि कसले के भने ?

राष्ट्रपति डा रामवरण यादव : पटक पटक नेपालको प्रधानमन्त्रीमा रही राष्ट्रको गहन जिम्मेवारी बहन गर्नुभएका कुशल एवम् अनुभवी राजनीतिज्ञ थापाको निधनबाट सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको हाम्रो मुलुकका लागि ठूलो क्षति पुगेको। आफ्नो सम्पूर्ण जीवन मुलुकको राजनीतिमा समर्पण गर्नुभएका थापाको समन्वयकारी भूमिका, स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार सदाका लागि स्मरणीय रहने।

एमाले अध्यक्ष केपी ओली : नेपाली राजनीतिका सुपरिचित एवम् प्रतिष्ठित नेता उहाँले झन्डै छ दशक मौलिक शैलीका साथ राजनीतिक रङ्गमञ्चमा सक्रिय रहेर पाँच पटकसम्म मुलुकको प्रधानमन्त्रीका रुपमा विशिष्ट राजनीतिक परिचय कायम गर्नुभएको थियो। आफूलाई समयानुकूल ढाल्न सक्ने गतिशीलताको पर्यायका रुपमा स्थापित तथा गणतन्त्रको स्थापनालाई सहजै स्वीकार गरेर अन्ततः परिवर्तनको पक्षमा दृढतापूर्वक थापा उभिनुभएको थियो। संविधानसभाको दोस्रो निर्वाचनपश्चात् ज्येष्ठ सदस्यका हैसियतमा सभाध्यक्षको निर्वाचनअघि उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको थियो। संविधानसभाबाट नयाँ संविधान जारी गरी २०६२÷०६३ को परिवर्तनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्ने प्रक्रियामा उहाँको निधनले मुलुकलाई नै अपुरणीय क्षति पु¥याएको छ । 
 
एमाओवादी नेता बाबुराम भट्टराई : नेपाली राजनीतिका एक शीर्ष व्यक्तित्व पूर्व प्र. म. सूर्य बहादुर थापाको आकस्मिक निधनले अत्यन्त मर्माहत बनाएको छ। वहाँको निधनसंगै नेपाली राजनीतिको एक युगको अन्त्य भएको छ। उहाँको दु:खद निधनमा देशले एक कुशल नेता गुमाएको छ भने मैले एक असल मित्र र भरपर्दो अभिभावक गुमाएको छु।

कमल थापा : नेपाली राजनीतिका एक शिखर व्यक्तित्वको आज अवसान भएको छ। सूर्य बहादुर थापा समकालिन नेपालको अग्रज राजनीतिज्ञ तथा प्रजातन्त्रवादी नेता हुनुहुन्थ्यो। उहाँको दुःखद निधनबाट म,मेरो परिवार तथा राप्रपा नेपाल अत्यन्त मर्माहत भएका छौ। देश जटिल संक्रमणको स्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा उहाँको निधन अपुरणिय राष्ट्रिय क्षति हो। नेपाली राजनीतिले एक अभिभावक गुमाएको छ। स्व. थापा कुशल प्रशासक, दूरदृष्टि भएका नेता तथा बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो। उहाँमा परिस्थितिको सटिक बिष्लेशण गर्ने र समयलाई ठिक ढंगबाट पहिचान गर्न सक्ने विचित्र क्षमता थियो। जस्तोसुकै कठिन परिस्थितिमा पनि पटक्कै विचलित नभई चुनौतीलाई सामना गर्ने साहस र दृढता उहाँले निरन्तर कायम राख्नु भयो। राष्ट्रियता र प्रजातन्त्र प्रतिको उहाँको निष्ठा सदैव अबिचलित रह्यो। लामो राजनीतिक यात्राका क्रममा उहाँले राष्ट्रको लागि पुराउनु भएको योगदान सदैव अविस्मरणीय रहने छ। एक उदार प्रजातन्त्रवादी नेताको रुपमा देशले स्व थापालाई सम्झिरहने छ। 

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट : थापाले सकुन्जेल सक्रिय भएर राजनीतिमा लाग्नुभयो, अहिले उहाँको आकस्मिक निधनले मलाई असाध्यै दुखित तुल्याएको छ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी : समय र परिस्थितिको पहिचान गर्दै आफूलाई सशक्त र निरन्तर राजनीति जीवनमा लगाउने थापाले नेपाली राजनीतिज्ञका बीचमा क्षमतावान् र बुज्रुक व्यक्तित्वका रुपमा पहिचान स्थापना गराएको। “सबैलाई कसरी समेटेर अघि बढ्न सकिन्छ भन्ने चिन्तन राख्ने थापामा सत्ता चलाउने परिपक्व प्रशासनिक र राजनीतिक क्षमता थियो, उहाँ मुलुकलाई छिटो संविधान दिन नसकेकामा चिन्तित हुनुहुन्थ्यो”

मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार : थापाको निधनले राष्ट्रले सशक्त, साहसी र दूरदर्शी राजनेता गुमाएको। “नेपालको राजनीतिमा थापा ‘लिजेन्ड’का रुपमा रहनुभएको थियो, मुलुक सङ्क्रमणकालमा रहेको बेला उहाँजस्तो पाको, साहसी र दूरदर्शी नेताको सहयोग आवश्यक थियो, थापाको निधनले मुलुकले राजनीति क्षेत्रमा अभिभावक गुमाएको छ, यो धेरै ठूलो क्षति हो ।”
 
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी : बदलिएको परिस्थितिलाई उपयोग गर्न खप्पिस। आफूले लिएको प्रक्रिया र सिद्धान्तमा इमान्दार प्रस्तुत हुनुहुन्थ्यो। छिटो संविधान जारी गर्नुपर्छ भन्नेमा पूर्वप्रधानमन्त्री थापाको अत्यन्तै जोड थियो।

वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटा : प्रत्येक प्रतिकूल परिस्थिति र परिवर्तनलाई आफ्नो अनुकूल बनाउन सक्ने क्षमतावान् नेता ।

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य : आफ्नो आस्था र मान्यताप्रति दृढ व्यक्तिका रुपमा रहनुभएको। सूर्यबहादुरजीको निधनले नेपाली राजनीतिमा चर्चित नेता गुमाएको छ, यस अर्थमा हामीलाई दुःख लागेको छ, हामी उहाँप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ।

पूर्वमन्त्री रमेशनाथ पाण्डे :  नेपालको विभिन्न कालखण्डमा उहाँको निकै योगदान रह्यो, विसं २०१४को सल्लाहकारसभाको गठनदेखि जीवनपर्यन्त नेपाली राजनीतिमा मुख्य पात्रको भूमिका खेल्नुभयो। सूर्यबहादुजी कुशल राजनीतिज्ञ र प्रशासकका साथै उहाँ सबैका मित्र हुनुहुन्थ्यो, उहाँको देन मुलुकले सधैँ स्मरण गरिरहन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell