फिल्म 'सायद' हिट भयो। मौलिक धारबाट फरक रहेर नयाँ शैलीको छाप स्थापना गर्न सफल फिल्मले युवा पुस्तालाई नेपाली फिल्मतर्फ आकर्षित गर्यो। अनि के भयो? फिल्म हेर्ने दर्शक बढायो र ती दर्शकको अपेक्षा पनि। अपेक्षा नेपाली फिल्मसँग। त्योभन्दा बढी सायद निर्माण युनिटसँग। त्यसैले पनि निर्माण कम्पनी दुर्गिश फिल्मसका लागि सायदको सिक्वेल बनाउनु आफैसँगको चुनौती थियो।
फिल्म बन्यो। युवापुस्ताकै जीवनशैली फिल्मको केन्द्र। प्रेमकथा- मुख्य विषय।
दुई पात्र स्यारोन श्रेष्ठ (अर्पणा) र कुशल पाण्डे (रोय) पारिवारिक साथी हुन्छन्। बाल्यकालदेखि सँगै हुर्किएका यी दुईमध्ये रोयलाई अर्पणाप्रति प्रेमभाव महसुस हुन्छ। तर उसको प्रेमप्रस्ताव अर्पणाले अस्वीकार गरेपछि साथीहरु अमृत ढुङ्गाना (रवि) र सुशिल श्रेष्ठ (अनुराग)ले रोयलाई स्यारोनसँग नजिक बनाउन गर्ने संघर्ष र त्यसले सिर्जना गर्ने अवस्थाहरु नै फिल्मको मूल कथा हो। सुन्दा सरल लाग्छ तर पटकथा लेखनले प्रेमकथासँगै सस्पेन्सलाई पनि ठाउँ दिएको छ। जहाँ 'अब के हुन्छ होला?' भन्ने प्रश्नले नै दर्शकलाई बाँधी राख्छ।
'सपना त्यसको साकार हुन्छ जसले सपना देख्ने हिम्मत राख्छ।'
'हामीलाई एउटा स्ट्रङ वालको खाँचो छ। जुन वालमा ठोक्किएर ऊ हर्ट हुन्छे।'
संवाद लेखनमा सुनिल रावलको लेखन कलाको तारिफ गर्न सकिन्छ। सुरुवातदेखिका क्याची डायलग र वाक्यहरुमा उनले मेहनत गरेका छन्। तर उनको मेहनत डायलग डेलिभरीको पाटोमा गएर चुक्छ। पटकथाले स्थापना गरेका पात्रहरुले डायलगलाई आफ्नो बनाउन सक्दैनन्। अभिनय गर्नमा भन्दा पनि स्क्रिप्ट रटेरै आफ्नो भागको संवाद बोल्ने पात्रहरुको अभिनय निकै कृत्रिम लाग्छ।
यसअघि होस्टल रिटर्न्समा सुनिल रावलसँगै काम गरेका सुशिल श्रेष्ठ अभिनयको पक्षमा कमजोर साबित भएका छन्। उनले आफ्नो अभिनय कलामा निखारता ल्याउन चुके। तीनवटा फिल्ममा मुख्य पात्रको रुपमा देखिइसक्दा पनि कमजोर लाग्छ उनको प्रस्तुति। फिल्मको मुख्य अभिनेताको रुपमा रहे पनि सहायक कलाकार अमृत ढुङ्गाना र सुशील सिटौलाको अभिनय सशक्त लाग्छ। अमृतको अभिनयमा कृत्रिमता झल्कदैन। सुशिल सिटौलालाई कथाले मागेको छैन। उनको फिल्ममा भूमिकानै छैन। जबरजस्ति उनलाई ठाउँ दिइएपनि उनले आफ्नो अभिनय कला राम्रो भएको पुन: एकपटक साबित गरे।
अभिनेत्री स्यारोनको डेब्यु फिल्म हो। तर मुख्य अभिनेत्रीबाट दर्शकले गर्ने अपेक्षा उनले पनि मिट गर्न सकेकी छैनन्। उनीसँगै देखिएकी सह अभिनेत्री निशा कार्कीको कृतिम अभिनयले दर्शकलाई बाध्न सक्दैन। यी दुई रोयको रुपमा देखिएका कुशल पाण्डेले पनि आफ्नो भूमिकालाई निभाएका त छन् तर न्याय गर्न सकेका छैनन्। उनले संवादहरु बोल्दा बोल्दै अपूर्ण छोडिदिएको भान हुन्छ वा भनौं सक्काउनको हतारो भए जस्तो। दर्शक घटना बारे प्रस्ट हुन्छन् तर संवादमा भावना सम्प्रेषण भएको पाईंदैन।
फिल्मले दिने उस्तो महत्वपूर्ण संदेश भनेको- 'नजिक रहेकाहरुले धोका दिन सक्छन्। सावधान रहनु' भन्ने हुनसक्छ। जुन सन्देशलाई फिल्मभर पटकथा लेखकले लुकाएर राखे र अन्तिममा पर्दाफास गरे। यसबीचमा थुप्रै घटनाक्रमले ठाउँ लिन्छन्। पटकथा यहीँ पुगेर थोरै चुक्छ। किनकी आवश्यक द्वन्द्व स्थापना नै भएको छैन। चाहे त्यो रोय पात्रमा हुन पर्ने मानसिक द्वन्द्व होस् वा रोय र अर्पणा र अनुराग र रोय बीचको बाह्य द्वन्द्व।
पटकथाको कमजोरीलाई निर्देशकले आफ्नो पक्षबाट लुकाउने कसरत भने गरेका छन्। पुष्पराज न्यौपानेले स्थापित पात्रहरुको भरपुर प्रयोग गरेका छन्। आवश्यक समय, सेटिङ र ब्याकग्राउन्डलाई घटनासँग मिलाएर जोड्ने राम्रो कोसिस गरेका छन्। बहुचरित्र बोकेको पात्र रविको हाउभाउ र संवादमा दर्शकले सङ्का गर्ने ठाउँ नदिनमा निर्देशक सफल छन्।
सिनेम्याटोग्राफी राजुविक्रम थापाको काम प्रशंसनिय छ। छायांकनमा उनले आफ्नो मिहेनत सामान्य लाग्ने दृश्यलाई आकर्षक ढङ्गले प्रस्तुत गरेर प्रस्ट्याएका छन्। ड्रोनको प्रयोगले लोकेशन बारे जानकारी दिइएको छ। जहाँ दृश्यहरु सजिव लाग्छन्। न मुस्ताङ, न विदेश- काठमाडौं र पोखराको व्यस्त सडकको दृश्यको छायांकारले राम्रो प्रयोग गरेका छन्।
आजभोली सांगीतिक पक्षले पनि फिल्मको प्रचार प्रसारमा ठूलै भूमिका खेल्न थालेको छ। फिल्म निर्माण युनिटले प्रचार प्रसारका लागि काम गरिराख्दा सायद दुईको कुनै गीत दर्शक स्रोताबिच चर्चामा रहेन। कालिप्रसाद बास्कोटा र सुगम पोखरेलले राम्रो काम गरेर पनि फिल्मको संगीत र गीत सफल ठहरिएनन्। किनकी उनीहरु शब्दसँग कम खेले।
'सायद २'को अर्को सबल पक्ष सम्पादकीय पक्ष हो।
समग्रमा दुर्व्यसनीको कथा बोकेको सायद र प्रेमकथा बोकेको सायद २ दुबैले युवावस्थामा घट्न सक्ने सम्भावित घटनाक्रम बारे दर्शकलाई प्रस्ट्याउँछ। प्रेमकथा, द्धन्द्ध, कमेडी, सस्पेन्स सबै मिश्रित फिल्म मसालेदार छ। केही हदसम्म फिल्मको ब्रान्डलाई सिक्वेलले जोगाएको छ।