PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

लक्ष्य यू-१९ विश्वकप, पूरा होला अपेक्षा?

लक्ष्य यू-१९ विश्वकप, पूरा होला अपेक्षा?

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : सन् २०१८ मा न्यूजिल्याण्डमा हुने आइसीसी यू-१९ विश्वकप क्रिकेटका लागि भोलिबाट सिंगापुरमा एसियन जोनलको छनोट सुरु हुँदैछ। जसमा एसियाका शीर्ष चार राष्ट्र अफगानिस्तान, नेपाल, मलेसिया र आयोजक सिंगापुरका युवा टोलीले प्रतिस्पर्धा गर्नेछन्।

डबल राउण्ड रोविन लिगका आधारमा हुने छनोटपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने युथ विश्वकपका लागि छनोट हुनेछन्।

नेपालले पनि अर्को वर्ष न्यूजिल्याण्ड खेल्ने लक्ष्यका साथ सिंगापुर पुगिसकेको छ। त्यसका लागि नेपालले करिब ३ साता भारतमा प्रशिक्षण गर्नुका साथै ५ अभ्यास खेल समेत खेलेको थियो। ५ मध्ये ३ खेल जितेको नेपालले एक खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाले प्रभावित बनेको थियो।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली हिजै (शनिबार) सिंगापुर पुगिसकेको छ। सन्दीपले नेपालको युवा टोलीलाई नेतृत्व गर्न लागेको यो दोस्रो पटक हो। यसअघि सन्दीपकै कप्तानीमा नेपालले गत वर्ष श्रीलंकामा युथ एसियाकप खेलेको थियो। त्यतिबेला श्रीलंकासँग १ रनले हारेको नेपालले मलेसियालाई भने पराजित गरेको थियो।

तर त्यसपछि नेपाली युवा टोलीले कुनै प्रतियोगिता खेल्न पाएको छैन। यद्यपि नेपाली टिममा रहेका प्राय खेलाडीले घरेलु प्रतियोगिताहरु भने खेलेका थिए।

त्यसबेला खेलेका नन्दन यादव, भिम शार्की, अभिनास कर्ण, रविन्द्र शाही, कमल सिंह ऐरी र शुभाकंर उराव अहिले टिममा छैनन् भने प्रनित थापा मगर, शहाब आलम, रिजन ढकाल, ललित नारायण राजवंशी र किशवर महतोले टोलीमा स्थान बनाएका छन्।

कप्तान सन्दीपसँगै नेपाली युवा टोलीमा रहेका दीपेन्द्र सिंह ऐरी र मोहम्म आसिफ शेखले राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन्। श्रीलंकाबाटै नेपाली युवा टोलीको प्रशिक्षक बनेका राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास नेपालको प्रशिक्षकका रुपमा छन् भने उनलाई कलाम अलीले सघाउनेछन्।

विगतमा जस्तै यसपटक पनि कप्तान सन्दीपसहितको नेपाली स्पिन आक्रमण बलियो छ। सन्दीपलाई शहाब आलम, ललित राजवंशी र पवन सराफले साथ दिनेछन्। यस्तै नयाँ अनुहार किशोर महतो, रिजन ढकाल र रोहित कुमार पौडेलले मध्यम तेज बलिङको मोर्चा सम्हाल्नेछन्।

पवन र रोहित नेपालका मुख्य अलराउण्डर हुन्। यता ब्याटिङमा सन्दीप सुनार, आशिफ शेखले ओपनिङ सम्हाल्ने पक्का छ। उनीहरुलाई मिडल अर्डरमा आदिल खान, प्रनित थापा मगर, आदिल खान, दीपेन्द्र सिंह ऐरी, अनिल कुमार शाह, प्रकाश केसीले साथ दिनेछन्। यी ६ मध्ये पिहलो रोजाईँमा ४ खेलाडीले मात्र स्थान बनाउनेछन्।

नेपाल यू-१९ ले छनोटको पहिलो खेलमा भोली सोमबार पदाङस्थित सिंगापुर क्रिकेट क्लबमा घरेलु टोली सिंगापुर यू-१९ सँग स्थानिय समयअनुसार बिहान साढे ९ बजे खेल्नेछ। म‌ंगलबार मलेसियासँग दोस्रो खेल खेल्ने नेपालले त्यसको दुई दिनपछि अफगानिस्तानसँग फस्ट राउण्डको तेस्रो खेल खेल्नेछ।

यस्तै सेकेण्ड राउण्ड अन्तर्गत जुलाई २१ मा सिंगापुर, जुलाई २४ मा मलेसिया र जुलाई २५ मा अफगानिस्तानसँग नेपालले खेल्नेछ।

नेपालले सिंगापुरमा उत्कृष्ट प्रदर्शन गर्दै युथ विश्वकपमा छनोट हुने अपेक्षा राखेको छ। तर पछिल्लो पटक टेष्ट राष्ट्रको मान्यता पाइसकेको अफगानिस्तानको युवा टोली विरुद्ध नेपालको असली परिक्षा हुनेछ। अघिल्लो संस्करणमा नेपाल एसियन जोनल छनोटमा अफगानिस्तान भन्दा पछि रहेको थियो। नेपालले ग्लोबल क्वालिफायरमा च्याम्पियन बन्दै २०१६ मा बंगलादेशमा विश्वकप खेलेको थियो।

त्यसैले यो पटक अफगानिस्तानलाई हराउँनु नेपालको लागि मुख्य चुनौती छ। यता घरेलु टोली सिंगापुर र नेपालको चिरपरिचत प्रदिद्वन्दी मलेसियालाई पनि नेपालले कमजोर रुपमा लिनु हुँदैन।

 

१४ सदस्यीय नेपाली यू-१९ टोली

सन्दीप लामिछाने (कप्तान)

दीपेन्द्र सिंह ऐरी

मोहम्मद आसिफ शेख

सन्दीप सुनार

प्रकाश केसी

अनिल कुमार शाह

पवन सराफ

रोहित कुमार पौडेल

ललित नारायण राजवंशी

प्रनित थापा मगर

आदिल खान

किशोर महतो

रिजन ढकाल

शहाब आलम

 

रिजर्भ प्लेअर

सन्दीप जोरा

विक्रम कुमार भुसाल

रसिद खान

सुशान्त सिंह थापा



ट्रेन्डिङ पोस्ट

Ncell