
'कसरी व्यक्त गरौँ यी मेरा भावना
सधैँ खुसी राख्न सकुँ मेरी आमा
जुनीजुनी रहोस् मेरो साथमा तिम्रो छायाँ
तिम्रो आशिर्वाद अनि अजम्मरी माया'
काठमाडौँ : आमालाई सम्बोधन गर्दै नेपालीमा धेरै गीतहरु गाइएका छन्। तर कतिपय गीतहरु भने चर्चित मात्र होइन जनजिब्रोमा झुण्डिएका छन्। देशलाई नै आमा सम्बोधन गर्दै गाइएका गीतहरुमा पनि चर्चित छन्। हामीले यहाँ केही आमा नाममा गाइएका चर्चित गीतहरु समेटेका छौँ।
राष्ट्रियता एल्बममा गायक कर्णदासको स्वरमा रहेको गीत आमा भन्दै रुन पाउँ सबैभन्दा चर्चित छ। आमा भन्दै रुन पाउँ बिराउँदा बाटो, मुटु दुख्दा छुन पाउँ एकमुठी माटो।
त्यस्तै आमाको रुपमा देशलाई मानेर गीत गाइएको छ। हे आमा नेपाल तिमीलाई संसारलाई राम्री बनाउँला बोलको महेश पाल्पालीले गाएको गीत पनि चर्चित छ।
नेपथ्य ब्यान्डको अमृत गुरुङलले गाएको गीत झनै मनै सिङ्ग पार्दै आमा सम्झाउने खालको छ। 'आमा हुन साह्रै असजिलो छ, पहाड जस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने, मैदानमा पुगेर उकालो भइदिनुपर्ने', आमाssss हुन्' गीत आमाको मर्म बुझाउन पर्याप्त छ।
आमा भएर बोकिरहे सन्तानका पीरहरु, आमा भएर बाडिँरहेँ सन्तानका खुसीहरु, आफ्ना लागि त सबै बाँच्दछन् यस लोकमा, अरुका लागि बाचिँरहेँ सन्ताप अनि दु:खमा। तारदेवीको स्वरमा रहेको यो गीत आमाको आँखाबाट गाइएको छ।
हे मेरी आमा नरोइ बस अँध्यारो कुनामा, मेरो माया संगेली राख मुटुको कुनामा भन्दै सक्षम ब्याण्डको फिचरिङमा वार्ता गन्धर्वले गाएको गीत पनि युट्युबमा चर्चित छ।
'कसरी व्यक्त गरौँ यी मेरा भावना, सँधै खुसी राख्न सकुँ मेरी आमा, जुनीजुनी रहोस् मेरो साथमा तिम्रो छाँया, तिम्रो आशिर्वाद अनि अजम्मरी माया' भन्दै यमबुद्धले गरेको र्याप गीत पनि यूवा नेपालीहरु माझ चर्चित छ।
हरिवंश आचार्यको स्वरमा रहेको हाम्री आमा सारै नै बाठी छिन् चामल सित पिठो पो साटिछिन् गीत पनि लोकप्रिय छ। हाँस्यरसले भरिपूर्ण यो गीतमा खान्दानी आमाको खर्च बढेको भन्दै व्यङ्ग समेत गरिएको छ।