PahiloPost

Mar 3, 2024 | २० फागुन २०८०

स्मृतिमा अरुण थापा : अरू १० दिन बाँच्न चाहन्थे



स्मृतिमा अरुण थापा : अरू १० दिन बाँच्न चाहन्थे

  • प्रकाश सायमी-
अरूण थापासँग मेरो पहिलो भेट २०३७ सालको अन्त्यतिर झम्सिखेलको किरणभवनमा संगीतकार दिव्य खालिङको घरमा भएको थियो। टिसर्ट लगाउन मन पराउँथे। कटराइजको पेन्ट असाध्यै मन पराउँथे। सेतो कपडा लगाएर हिँड्ने उनी स्मार्ट र क्रिकेट खेलाडी जस्ता देखिन्थे। त्यतिबेला उनको भर्खर दुईवटा गीत रेकर्ड भएका थिए।स्वर्गीय थापाको सालिकमा खादा ओढाउँदै सायमी

त्यसपछि हाम्रो भेटघाट नियमित जस्तै हुन थाल्यो। २०३९ तिरसम्ममा अरूण थापा निकै चर्चित भइसकेका थिए। त्यहीबेला हामीले त्रिचन्द्र कलेजबाट अरूण थापा नाइट भन्ने कार्यक्रम गर्‍यौं। त्यो कार्यक्रम राष्ट्रिय सभागृहको हलमा भएको थियो। अरूणका १२/१३ वटा गीत त्यतिबेलासम्म चर्चित भैसकेका थिए। उनले सो कार्यक्रममा ८/९ वटा सम्म गीत गाउने पर्ने थियो।

अरुण थापालाई पैसाको सारै खाँचो परिराख्थ्यो। हामीले सो कार्यक्रमका लागि उनले भनेकै रकम दिएका थियौं। तर उनी कार्यक्रमको समयमा आइपुगेनन्। उनको बानी नै त्यस्तै थियो।

कार्यक्रम हुने समयमा गायक नआएपछि हामीलाई निक्कै गाह्रो परेको थियो। फेरि त्योबेला अरूण थापाको विकल्पमा अर्को गायक पनि थिएनन्। त्यसमाथि ८/९ वटा गीत गाउनुपर्ने। तर अलि ढिलै गरेर पनि उनी आइपुगे। उनले गाउन सुरू गरेपछि दर्शकहरू त्यसै खुशी भए। त्यो कार्यक्रमको अन्तिम गीत ‘साँझको जूनसँगै आउँछौ तिमी भनी’ बोलको गीत गाउने बेला हामीले पहिलोपटक हरिशरण लामिछानेलाई उदघोषण गर्न लगाएका थियौं। उनले माइकबाट उदघोषण गरेको त्यो पहिलोपटक थियो।

अरुण थापा प्रतिभाको खोजी भन्ने कार्यक्रममा पनि अतिथि गायकको रूपमा गीत गाउने गर्थे। तर उनले प्रतियोगितामा कहिल्यै भाग लिएनन्। ‘म प्रतियोगितामा आफ्नो समय बर्बाद गर्न चाहान्नँ’ भन्थे उनी।

अरुणका एकजना साथी थिए रुपनारायण भन्ने। रुपनारायण चाहिँ म गीत नसिकी गाउँदिन भन्थे। पछि उनी हराएर गए। उनको कुनै एल्बम नि छैन। तर उनकै साथी अरुण थापा भने लोकप्रिय भए विशेष गरेर दिव्य खालिङको शब्द र राम थापाको संगीतमा।

पोखराको यात्रा

अरुण थापाका बाबु गुन्जबहादुर थापा नेपाल बैंकको प्रमुखको रूपमा पोखरा सरुवा भएर गए। बाबुको सरुवा भएपछि अरुण पनि सँगै पोखरा गए। उनको बुबा कहिले पोखरा र कहिले कलकत्ता गरिरहन्थे। अरुण पनि बाबुसँगै कलकत्ता जान्थे। उनको सांगितिक यात्रा कलकत्ताबाटै शुरू भएको थियो।

उनको बाबुको दोस्रो विवाह भएपछि घरमा उनको अवस्था अलि कमजोर देखियो।

त्यसपछि उनी पोखराबाट काठमाडौं आए। पोखरामै हुँदा २०३५ सालको अन्त्यतिर वा २०३६ सालको सुरुवातमा पोखराबाटै उनले ‘तिमी धेरै टाढा भएपछि’ भन्ने गीतबाट आफ्नो गायन यात्रा सुरु गरे। पोखराबाटै स्वर परीक्षा दिएर उनले ‘जति माया लाए पनि’ बोलको गीत गाए र त्यो एकदमै चर्चित भयो।

यी दुईटा गीत चर्चित भएपछि उनलाई गीत गाउन लगाउन विशेषगरी उनकै साथीहरू विक्रम गुरुङ, राम थापा, उनका मीत ओमविक्रम विष्टहरू सक्रिय थिए। तर दिव्य खालिङ आएपछि अरुणको गायनको शैली नै फेरियो। दिव्य खालिङले उनलाई यसरी गीत गाएर हुँदैन, अब तिमीले शैली फेर्नुपर्छ भनेर गायनमा नयाँ बाटो देखाए। विशेषगरी ‘मेरा गीतहरू सबै तिमीलाई’ जस्ता गीतहरू लोकप्रिय पनि भए।

मार्ने योजना

रमाइलो भनौं या नरमाइलो कुरा, पोखरा बस्दा उनले धेरै गीत गाउनुमा सबैभन्दा बढी योगदान उनकी प्रेमिका विमलाको थियो। अरुण थापा मगर, विमला नेवार, जातमा कुरा नमिलेर परिवारले विवाह गर्न नदिएपछि उनले विमलालाई भगाएर काठमाडौं लिएर आए। त्यो थाहा पाएपछि विमलाका बाबुले अरुणलाई मार्नको लागि पोखराबाट काठमाडौं मान्छे पठाए। त्यो मान्छे रकी सिंह भन्ने थियो।

विमलाका बाबुले अरुणलाई मार्न मान्छे पठाएको विमलाका दाइ विश्वले थाहा पाए। त्यसपछि विश्वले ‘मार्नु हुँदैन, म अरुणलाई सम्झाउँछु’ भनेर विमलाको विवाह अरुणसँगै गरिदिने तर अहिले घर जान दिउँ भन्दै विमलालाई छुटाएर पोखरा पुर्‍याए। तर विमलाका बाबुले दाजु विश्वलाई समेत थाहा नदिई विमलाको विवाह भोजपुरमा गरिदिए। विवाहपछि विमला भोजपुर बस्न थालिन्।

विमलाको विवाह भएपछि अरुण विरक्तिए। लामो समय विरक्तिएरै हिँडे।

म बज्र होटलमा काम गर्थेँ। अरुणलाई पैसा चाहिरहन्थ्यो। २०४२ तिर होला, उसले कहिल्यै पनि २० वा ३० रूपैयाँभन्दा बढी मागेन। मेरो तलब नै ८ सय थियो त्योबेला। एकदिन उसले मसँग ५० रुपैयाँ माग्यो। उनले त्यसअघि कहिल्यै २०/३० भन्दा बढी मागेका थिएनन्। ५० रुपैयाँ मागेको दिनदेखि अरुणसँग लामो समय भेट भएन।

अन्तिम समय

मैले पछिल्लोपटक अरुणलाई भेट्दा उनको जीवन तहसनहस भैसकेको थियो। उनको दोस्रो विवाह मुनासँग भैसकेको थियो। मुनाको भाइ सन्तोष थियो, उ मेरो नजिकको भाइ पनि थियो र गीत पनि गाउँथ्यो। सन्तोषले मलाई भन्यो, अरुणको स्वास्थ्य राम्रो छैन, एकपटक भेट्न आउनुस्। अनि अर्को कुरा पनि थाहा भयो, अरुणको सम्बन्ध मुनासँग पनि बिग्रिसकेको थियो। मुनासँग अलग्गिएपछि अरुणको एक्लो जीवन तहसनहस भएको थियो।

अरुणको अर्को भाइ थियो पुरन। पुरन पनि लागूपदार्थ सेवन गर्ने, लापर्बाह भएर हिँड्ने र जेल पर्ने गरिरहन्थ्यो। अरुणसँग भेट हुन छोडेपछि मैले पुरनलाई नि भेटेँ। तर धेरैपटक भेटन खोज्दा पनि अरुणसँग भेट भएन।

अरुण थापाको पहिलो एल्बम ‘अरुण’ म्युजिक नेपालले निकालेको थियो। त्यसको विमोचन लाफा मगर भाइहरूले शंकरदेव क्याम्पस अगाडिको लाफा भवन मै गरे। २०५३ वा ५४ सालको भदौ महिना, अरुणको एल्बम विमोचन हुँदै थियो। प्रमुख अतिथि बैरागी काइँला थिए।  लामो समय पर्खिँदा पनि अरुण आएनन्। बैरागी काइँलाले भगवानलाई पर्खेको जस्तो अब नपर्खौं भने। मैले घडी हेरेँ, मध्यान्हको २ बज्न लागेको थियो। यो त अरुणको पिउने समय थियो। त्यसपछि अरुणको अनुपस्थितिमै उनको एल्बमको विमोचन भयो।

कार्यक्रम सकियो। बेलुकी घर आएपछि थाहा भयो, अरुण त विमलाको घर अगाडि बेहोस हालतमा लडिरहेको रहेछ। त्यसपछि अरुण कहिले लागू औषध पुनर्स्थापना केन्द्रमा त कहिले कहाँको गल्लीमा लडिरहेको अवस्थामा फेला पर्न थाले। त्यतिबेला अरुणको बारेमा कसैले चासो नै राखेनन्।

१० दिनको रहर

२०५६ साल साउनको एकदिन नमस्ते स्टुडियोमा गीत रेकर्डिङ्को क्रममा अरुणसँग भेट भयो। त्यहाँ भेट्दा अरुणले भन्यो, ‘साथी, मेरो स्वास्थ्य नि ठीक छैन। मलाई पैसा पनि चाहिएन। मेरो लागि १० दिनको उमेर मागिदिनू। म एउटा गीत रेकर्ड गर्न चाहान्छु।‘ त्यतिबेला एउटा नयाँ गायिका थिएन् सुनिता भन्ने। सुनितासँग एउटा युगल गीत गाउन चाहन्थे अरुण। त्यो गीतको बोल ‘जीवन यस्तै रै’छ भने फेरि एकपल्ट हाँस्न पाऊँ’ भन्ने थियो। यो गीत गाउन पाएँ भने म आफू आनन्दले मर्न सक्छु भन्थे उनी। तर उनले त्यो गीत गाउन पाएनन्।

त्यसको भोलिपल्टै उनी बिरामी भए। पब्लिक गेस्टहाउसमा बस्थे उनी। त्यहीं उनी थला परे। त्यसपछिका चारदिन उनका लागि सारै कष्टकर भए। बिरामी भएको चौथो दिन उनको देहान्त भयो।

अरुणको देहान्त पछि अरुणलाई मैले यस्तो सहयोग गरेको थिएँ भन्दै विभिन्न मान्छेहरू देखापरे। ३/४ बर्ष म मौन नै बसेँ। अरुण थापाका नाममा के के गर्छन् हेर्न चाहन्थेँ म। मैले दिव्य खालिङ्लाई भनेँ, ‘दाइ, अरुण बाचुन्जेल कसैले हेरेनन्, मरेपछि एकसेएक निस्किन थाले।‘ दिव्य खालिङ्ले भने, ‘भाइ, म मरेपछि मेरो पनि यही हालत हुनेछ।‘ दिव्य खालिङ्को पुण्यतिथि पनि यही साता हो। उनको स्थिति पनि यही छ।

जब सहयोगका लागि उठेको पैसा पाइएन

अरुण थापा बितेको २ बर्षपछि कोटेश्वरको युनाइटेड सहकारी जस्तो लाग्छ (जुन अहिले बन्द भैसक्यो) ले उनकी छोरी करूणाको आर्थिक सहयोगको लागि एउटा सांगितिक कार्यक्रम गर्‍यो। त्यो कार्यक्रममा अढाई वा तीन लाख रकम उठेको थियो। त्यो पैसा करूणाले पाइनन्। जसको सहयोगका लागि कार्यक्रम गरेको त्यसैले पैसा नपाएपछि मलाई अरुणकी सासुले बोलाएर हकारिन्। त्यो कार्यक्रमका आयोजक लोकेन्द्रबहादुर चन्दका छोरा थिए। उनले कार्यक्रमबाट उठेको सबै पैसा उनकै नाममा फाइनान्समा जम्मा गरेका रहेछन्। पछि अरुण थापाका मीत ओमविक्रम विष्ट सहित हामीले पैसाका लागि पहल गर्‍यौं। करूणा त्यतिबेला ज्ञानोदयमा ९ कक्षामा पढ्थिन्।

अहिले त करूणाको विवाह भैसक्यो। उनी अष्ट्रेलियामा बस्छिन्। सालो सन्तोष अमेरिकामा बस्छ। यी दुवै अरुणका नजिकका मान्छे थिए। उनीहरूले चाहेर पनि बाँचुन्जेल अरुणका लागि केही गर्न सकेनन्। विमला बागबजारमा बस्छिन्। मुना इजरायलतिर छिन्। अरुणका मीत ओमविक्रम विष्ट अमेरिकामा छन्। अनि अरुण भने एक्लै यही झम्सीखेलको सडकमा घरतिर फर्केर टुक्रुक्क बसिरहेका छन्। कसैले उनको सालिकमा फूल समेत चढाउन भ्याएनन्।

(सायमीसँग अनन्त कोइरालाले गरेको कुराकानीमा आधारित। पहिलो पटक २०७१ मा प्रकाशित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell