काठमाडौं : मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागी नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
संघले सरकारमा महिलाहरुको सहभागिताको विषयलाई लिएर पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदमा ३३ प्रतिशत सुरक्षित नभए कडा भन्दा आन्दोलन गर्ने चेतावनी दिएको हो।
'२५ फुल मन्त्रीमध्ये एकतिहाई मन्त्री महिलालाई सहभागी नगराइए सरकारको बिरुद्धमा आन्दोलन कडा आन्दोलन गर्छौ,' महिला संघकी अध्यक्ष उमा रेग्मीले भनिन्, 'हामीले विगत देखि नै सकारमा महिला सहभागिताबारे कुरा उठाउँदै आएका छौं, अहिले पनि हाम्रै पार्टी नेतृत्वमा सरकारमा छ, महिलाको सहभागिताबारे गम्भीर हुनुपर्छ।’
अध्यक्ष रेग्मीले फलाम तातेकै बेला आकारमा आउने भन्दै मन्त्रिपरिषद विस्ताकै समयमा आन्दोलनको चेतावदी दिएको बताइन्।
‘अहिले फलाम तातेको छ, हामी घन बजाउँछौँ, घन सही ठाउँमा प्रहार गर्नेछौँ,' रेर्ग्मीले भनिन्, 'हाम्रै आन्दोनलको फलस्वरुपमा स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी प्रतिनिधित्व सुनिश्चित भएको छ।’
विकास पूर्वाधारसम्बन्धि विभिन्न आयोगमा महिला सहभागिता न्यून रहेको भन्दै अध्यक्ष रेग्मीले योजना आयोगमा पनि महिला अनिवार्य गरिनुपर्ने बताइन्।
महिला संघकी कोषाध्यक्ष जानकी सिंहले पनि मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाहरुको सुनिश्चितता हुनुपर्ने बताइन्।
'हाम्रो यो खबरदारी हो, यसलाई वास्ता नगरिए कडा आन्दालेन गर्न बाध्य हुनेछौं,' सिंहले भनिन्, 'पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्ने वचन दिनुभएको छ। अब हामी हेर्ने छौं।'
उनले प्रधानमन्त्रीले आफूहरुको ध्यानाकर्षणमा प्रधानमन्त्रीले विचार गर्छु भनेको भन्दै अहिले विचार नभएर कार्यान्वय गर्नुपर्ने बताइन्।