माओवादीको जनयुद्ध पूर्णविरामतिर लाग्दै थियो। हत्या र वेपत्ताका घटनाहरु दैनिकी बनेका थिए। घरबाट सग्लै निस्किएको मानिस सकुशल फर्किन्छ फर्किन्न शंकै रहन्थ्यो। डरैडरबीच आफन्त कुर्नेहरु बाटोतिर आँखा लगाइरहन्थे। २०६१ सालमा यस्तै सन्दर्भ सुहाउँदो गीती भिडियो सार्वजनिक भयो।
पत्नी र छोरालाई छोडेर बाहिर गएका पति फर्केनन्। फर्कियो खबर उनी बितेको। पति मरेपछि पत्नीको पहिरन सेतोमा समेटियो। यही सन्दर्भमा गीतकै भाकामा अवोध छोरोले सोध्छ - 'आमा, रातो सारी चुरा पोते किन नला'को? हाम्रो बाबा घर फर्केर किन नआ'को?'
गीत मानिसका जिब्रो जिब्रोमा झुन्डियो। भिडियोका दृश्यले त्यतिखेरको अवस्थालाई जस्ताकोतस्तै उतार्यो। अनि रेडियो, टेलिभिजनदेखि क्यासेट र सिडी पसलसम्म घन्किरह्यो – आमा, रातो सारी चुरा पोते किन नला'को…
घर छाडेर गएका बुबा खोज्ने बाल गायक थिए दिनेश काफ्ले। उमेर ९ वर्षमात्र। र, उनकी आमाको स्वर दिएकी थिइन् गीता देवीले। गीत भाइरल बनिरहँदा दिनेशलाई भने अत्तोपत्तो थिएन चर्चाको चुलीबारे। कारण- उनको गाउँ सिन्धुलीको टाँडीमा बिजुली पुगेकै थिएन। सोलारबाट कसैकसैको घरमा टिभी चल्थ्यो। दिनेशको घरमा त त्यही टिभी पनि थिएन।
उनी निकै नोस्टाल्जिक हुँदै सम्झन्छन्। उनका बाबु भोजराज काफ्लेले काठमाडौंबाट सिडी लगेपछि बल्ल उनले आफूले गाएको गीतको म्युजिक भिडियो हेरे।
'भिडियोको बीचमा मैले गाइरहेको स्टूडियोको दृश्य पनि। निकै मख्ख परेको थें। त्यसअघि त हिरोहरुलाई टिभीमा हेरेको,' उनी मुस्काए।
बुबाले ल्याएको सिडी बोकेर हजुरबुवा, हजुरआमा, आमा, भाइ र उनी टिभी भएको घरमा पुगेका थिए। त्यही आफ्नो भिडियो हेरे।
'गीत यसरी मन पराइयो कि टिभी भएकाहरुले कहिल्यै झिंजो मानोनन्। बरु उनीहरु पनि खुसी हुन्थे,' दशकअघिको अवस्था सम्झिँदै उनले सुनाए।
बुबा भोजराज काफ्ले चर्चित लोकगायक, गीतकार एवं संगीतकार हुन्। पछिल्लो समय 'बोत्तलको पानीले आँखा सन्काई सानीले' बोलको गीतले चर्चाको चुली छोयो। सुरुवाती दिन देखि नै लोक क्षेत्रमा चर्चित गीतहरु दिएका छन् उनले। भोजराजकै कारण घरको माहोल सांगीतीक हुनु स्वभाविक। त्यसैले सानैबाट गीत गुनगुनाउथे दिनेश।
भोजराजले सोचे, बालगीतको लागि छोरोको स्वर फिट हुन्छ।
बुबाकै रहरले ९ वर्षकै उमेरमै गीत गाउने अवसर पाए दिनेशले। २०६० सालमा रेकर्ड गराए पनि गीतको भिडियो देखि अन्य पोस्ट प्रोडक्सनको कामले गर्दा २०६१ मा मात्र गीत सार्वजनिक भयो। सार्वजनिक भएको केही समयमै चुलिएको चर्चा आम स्रोता र दर्शकमा मात्र सीमित भने भएन। गीतले 'छिन्तलता पुरस्कार' पायो।
दिनेश भन्छन्,'पचास पचासको नोटको बन्डल। पूरै पाँच हजार थियो। सबै घरमा दिएँ।'
गीतले राष्ट्रिय पुरस्कार पाउँला बिहान उठ्दा डुनट पकाउने ठाउँदेखि बेलुकी अबेरसम्म खुल्ने पसलहरुमा छोराको स्वर घन्केला भन्ने सोचेका थिएनन् भोजराजले।
'मैले त आम मान्छेको कथा, भावना समेटेरै लेख्थें सधैं। त्यो गीतले तत्कालीन आम सेन्टिमेन्ट छुन साच्चै सफल भयो सायद,' उनले सुनाए।
एल्बम सिडी बेचेर पैसा कमाउन सकिने अवस्थामा पक्कै थिएन समय। तर त्यो गीतले खर्च उठाएर पनि केही नाफा नै दिएको काफ्लेको दाबी छ।
'दिनेशले स्टेज कार्यक्रमहरुको लागि ठाउँ ठाउँ घुम्न समेत पायो। ९ वर्षको छोरोले त्यति गर्नु मेरो लागि ठूलो थियो,' काफ्लेले भने।
धेरैपछि आफ्नो गीत हेर्न पाएका उनले अहिले अवस्था भए त्यतिसारो कुर्न पर्थेन होला। 'त्यो समय कति क्यासेट, सिडी बिक्री भए थाहा छैन। तर, अहिलेजस्तो इन्टरनेट युट्युबको जमाना भएको भए, एक करोड भ्यूज मजाले कटाउँथ्यो। मेरो गीत पनि ट्रेन्डिङको समाचार बन्थ्यो सायद,' उनी लामो हाँसे।
त्यसपछि पनि उनको स्वरमा 'मेरी दिदी बेच्नेलाई', 'नरोउ आमा पुर्पुरो समाउँदै' लगायत गीत सफल रहे।
घरमा दिनेशको सफलतामा मख्ख थिए अभिभावक। भाइ महेश भने खुसी थिएनन्। उनलाई लाग्थ्यो- दाइले जति त मैले पनि गाउन सक्छु।
'मेरो साथीहरु दाइको गीत गाउँथे। लाग्थ्यो मेरो पनि यस्तै गीत निकाल्न पाए पो,' महेशले सुनाए।
महेशको कुराले दाजुभाइ दुवैलाई हसायो। महेशले भने, 'मैले गीत गाएकै दाइ हिट भएर हो। जसरी पनि गाउँछु गाउँछु भन्ने भाथ्यो।'
दाजुको गीत चलेपछि उनले आफ्ना लागि पनि गीत बनाउन बुबालाई आग्रह गरे। पटक पटक भने, 'बुवा म पनि गाउन सक्छु।'
भोजराज काफ्लेले अर्को बालगीत तयार गरे 'सानिमा मार्देउ बरु बगाइदेउ पानीमा'। नयाँ गीत दिनेशको सट्टा महेशलाई दिनुको विशेष कारण थियो। दिनेश हुर्किँदै थिए, स्वर धोद्रो हुँदै गएको थियो। बाल गीतको लागि नसुहाउने भएपछि महेशले गाउने अवसर पाए। दाजुको गायन ग्यापलाई महेशले पूरा गरे। महेशको गीत पनि अत्याधिक सफल रह्यो।
'मैले गाएको गीत पनि हिट हुँदा ड्याडी सर्पाइज्ड,' महेशले मख्ख पर्दै सुनाए। सानीमा गीतको भिडियोमा महेश पनि देखिएका थिए। गीतसँगै उनको अभिनयले पनि चर्चा पायो। दसैंको बिदामा काठमाडौं आएर भिडियो रिलिज गरेका थिए महेशले।
'घर फर्कँदा बाटोमा सबैले नियालेर हेर्थे। लाग्थ्यो मलाई पनि अब सबैले चिन्छन्,' उनले भने।
उनको त्यो गीत म्युजिक नेपालको युट्युबमा छ जुन पाँच लाख भन्दा धेरै पटक हेरिएको छ। गीतमा महेश काफ्ले र सीता थापाको स्वर छ। महेशका अन्य गीत 'सम्पति सके बाउले जुवा तासैमा', 'सडक बालक' पनि चले।
दाइ दिनेशको हकमा त बुबाले नै स्वर मन पराएका थिए तर भाइ महेशले बुबालाई मनाउनु पर्यो। दिनेशले हाँस्दै भने, 'भाइ संघर्ष गरेर गायक भयो। मलाई बुबाले अवसर दिनुभयो।'
बाल गायकको रुपमा चिनिएका काफ्ले दाजुभाइ अहिले पनि संगीतमै सक्रिय छन्। सानोमा बुबाको हार्मोनियम चलाएर गाउन सुरु गरेका थिए।
बुबाकै गुरु राम थापाले यी दुईलाई संगीत बुझाए। अहिले भने संगीतको शिक्षा आवश्यक महसुस गरेर दुवैजना सिक्दैछन्। दिनेश भन्छन्, 'संगीतलाई हामी टाढा राख्न सक्दैनौं। जे गरे पनि संगीतमा निरन्तर हुन्छौं।'
बिबिएस चौथो वर्षको परीक्षा दिएर बसेका महेश पत्रकारितामा पनि सक्रिय छन्। उनी हाल गायनभन्दा बढी शब्द र संगीत रचनामा लागेका छन्।
दाइ दिनेश भने संगीतलाई फूल टाइम दिएर बसेका छन्। भन्छन्, 'संगीत साधना हो, जति गरे पनि पुग्दैन। त्यसैले रियाजमा व्यस्त छु।' गाउनमै बढी सौख राख्ने उनको कौंसीमाथी झ्याल राख…, हजारौंको भिड…, औंठी चिनो छ… लगायत गीत सार्वजनिक छन्।
बुबा भोजराज काफ्ले संगीत क्षेत्रमा भिजेका व्यक्ति हुन्। रेडियो नेपालमा संगीत निर्देशक एवं फूलबारी म्यूजिकको संचालक रहेका उनी छोराहरुलाई भन्छन्, 'धैर्य गर्ने क्षमता राख्छौ भने संगीतलाई निरन्तरता देउ। भाका लोक होस्, पप होस् या अन्य। यो क्षेत्रमा सफल हुन कुर्न सक्नु पर्छ।'
बुबाले देखाएकै बाटोमा हिड्ने जनाउ दिँदै भन्छन्, 'सानोमा बुबाले गर्दा चिनियौं। अब बुबालाई खुशी बनाउनु छ। हामी अथक सिक्छौं।' दुवै एकअर्काको बोलीमा सहमति जनाउँछन्। दिनेशको त सपना नै छ लोक गीत क्षेत्रमा बढेको बिकृति हटाउने। उनी मौलिकता र भावनालाई लोक गीतमा जीवन्त बनाउन चाहन्छन्।