काठमाडौं: उपत्यकासहित देशका विभिन्न स्थानमा आज गाईजात्रा पर्व मनाइँदैछ। यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गरिँदै आएको छ। दिवंगत आफन्तहरुको सम्झनामा गाईको रूप धारण गरी नगरपरिक्रमा गरे वर्षभरि मृत्यु भएका आफन्तहरु वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ।
इतिहासअनुसार पुत्रशोकका कारण विक्षिप्त बनेकी आफ्नी रानीलाई अरुले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मल्लकालका राजा प्रताप मल्लले गाईजात्राको थालनी गरेका हुन्। उनले जनतालाई मृतक आफन्तको नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको मानिन्छ।
शोक विर्साउन गाईजात्रामै विभिन्न प्रहसन तथा हास्यव्यंग्यात्मक कार्यक्रम गरेर मन बहालाउने पनि गरिएको छ। तिथि अनुसार गाईजात्रा एकदिन पर्ने भए पनि नेपाली हास्य कलाकारहरुले यो जात्रा ३ दिनदेखि ५ दिनसम्म मनाउँछन्। हास्य कलाकार मात्र नभएर अन्य विधाका कलाकारहरु पनि व्यंग्यात्मक गीत, नृत्य, अभिनयको प्रस्तुती दिँदै आएका छन्।
गाईजात्रा विशेष व्यंग्यात्मक कार्यक्रमहरुमा विशेष गरी राजनीतिक, सामाजिक कुरीतिमाथि व्यंग्य गर्ने चलन छ।
तर हास्य कलाकार शिवहरी पौडेलालाई यस्ता व्यंग्यहरुले सामाजिक परिवर्तनका लागि कुनै असर गर्छ जस्तो लाग्दैन। उनको लागि हास्यव्यंग्य हास्न र हसाउँन मात्र कम लाग्ने कलाको विधा हो। भन्छन्, 'म एउटाले २३ वर्षदेखि गाइजात्रे व्यंग्य गर्दै आएको छु। तर यसले न नेतालाई छुन्छ न जनतालाई। किनकी अरुको कुरा सुन्ने निकै कम मान्छे छन्।'
शिवहरी पौडेलको लागि हास्यव्यंग्य नैतिक दबाब दिने गतिलो माध्यम हो तर यो माध्यमलाई निकै हल्का रुपमा लिइन्छ।
त्यस्तै लाग्छ अर्का हास्यकलाकार जितु नेपाललाई। ११ वर्षदेखि लगातार सामाजिक अनि राजनीतिक विषयमाथि व्यंग्य गरेका नेपाल अहिले फिल्म छक्कापञ्जा २ को काममा व्यस्त छन्। फिल्म पनि कमेडी जनराकै हो। भन्छन्, 'पक्कै परिवर्तन सुधारको आशाले नै व्यंग्यात्मक कार्यक्रम आयोजना गर्छौं, फिल्म बनाउँछौं। तर व्यंग्यलाई हाँसोमै मात्र उडाउनेहरु छन्। मनन् गर्ने निकै कम।'
जितु नेपालका लागि कलाकारको काम हसाउँने हो। त्यसैले व्यंग्य गरेर समाज परिवर्तन गर्छु भन्ने नसोच्नु नै ठीक हो। उनी दर्शक स्रोतालाई शुद्ध मनोरन्जन दिन चाहन्छन्।
गाईजात्रामा कलाकारहरुले गर्दै आएको हास्य कार्यक्रमहरुले गाली गलौज र अश्लिलता बढेको भन्ने आरोप सुनिन्छ। यसबारे हास्य कलाकार साथै निर्देशक समेत रहेकी दिपाश्री निरौला भन्छिन्, 'सुरुवाल नै खोल्न हुँदैन तर सुरुवालको इँजारसम्म खोल्दा फरक पर्दैन।'
निकै लामो हासोपछि उनले सुनाइन्, 'तरिका हुन्छ हसाउँने पनि। सभ्य र पाच्य तरिकाले गरेको व्यंग्यले कोही माथि असर पर्नु त राम्रो हो। उसले सुधार ल्याउने कोसिस पो गर्छ कि?'
दीपाश्रीका लागि पनि हास्य व्यंग्यको मूख्य उद्देश्य समाज तथा राजनीति सुधारका लागि दबाब दिनु नै हो।
दीपकराज गिरीका लागि भने हास्य विधा कलाको ९ मध्ये सबैभन्दा गाह्रो विधा हो। भन्छन्, 'मान्छे रुवाउन सजिलो होला तर हसाउँन सबै भन्दा गाह्रो। दीपकका लागि गाईजात्रा विशेष व्यंग्यहरु झन् अप्ठ्यारा हुन्छन् किनकी निकै सोचेर प्रस्तुती दिनुपर्छ। उनले गाईजात्रे व्यंग्य र अन्य व्यंग्य केही फरक छन् भन्ने तर्कलाई प्रष्ट्याउँदै भने, 'यी दुई एकै भान्साका फरक पकवान हुन्।'
चल्दै आएको चलनका कारण गाईजात्राको समय कुनै व्यक्ति, संस्था विशेष भएर, पार्टी तोकेर गाली गर्नु सहज बन्छ। सहज वातावरणको फाइदा उठाउँदै व्यंग्यमा अश्लिलता मिसाएको आरोप धेरै आउन थालेपछि यस पटक त्यस्ता व्यंग्य कम गर्ने बताउँछन् शिवहरी पौडेल।
परिस्थिति र प्रसङ्गबस् श्लिल र अश्लिल दुवै कुरा आउने गर्थ्यो तर यो पटक सजग रहेरै प्रस्तुती दिने जानकारी उनले पहिलोपोस्टलाई दिए।
आजभोलि पत्रपत्रिका र अनलाइन पोर्टलमार्फत व्यङ्ग्यात्मक कार्टून, सामाजिक सञ्चालन देखिएका व्याङ्ग्यात्मक पोस्टहरु दैनिक प्रकाशित हुन्छन्। त्यसैले पनि हास्यव्यङ्ग्यका लागि पहिले जस्तो गाईजात्रा नै कुर्न पर्ने आवश्यकता छैन। तर नेपाली हास्य कलाकारहरुको लागि गाईजात्रा विशेष पर्व हो। विभिन्न ठाउँहरुमा आयोजना हुने गाईजात्रा विशेष कार्यक्रममा कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्ने मौका त पाउँछन् नै साथै यस्ता विशेष कार्यक्रमहरु कमाइको राम्रो माध्यम पनि बनेको छ। गत वर्षबाट चर्चित हास्य टेलिश्रृङखलाहरु बन्द भएपछि त हास्यकलाकारहरुको दैनिकीमा धेरै असर परेको बताउँछन् राजाराम पौडेल। भन्छन्,'यस्ता विशेष अवसरमा स्टेज कार्यक्रम नआए त हामी बेरोजगार हुन्छौं।'
गत वर्षको गाईजात्राको अंकमा प्रकाशित सामाग्री समय सान्दर्भिक भएकाले पुनः प्रकाशित गरिएको हो ।