PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

नेपाली फुटबल टिमलाई जापान लैजाने सपना पूरा : प्रशिक्षक योतुकु कोजी



गोविन्दराज नेपाल

नेपाली फुटबल टिमलाई जापान लैजाने सपना पूरा : प्रशिक्षक योतुकु कोजी

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योतुकु कोजीले नेपाललाई जापान लैजाने सपना पूरा भएको बताएका छन्। बिहीवार जाने नेपाली फुटबल टोलीको बिदाइ कार्यक्रममा जापानी मुलका प्रशिक्षक कोजीले एक वर्षअघि देखि नै जापान फुटबल एसोसिएसन (जेएफए)सँग नेपाली फुटबललाई जापान लैजानेबारे कुरा गरिरहेको र अहिले आएर पूरा भएको प्रतिक्रिया दिए।

जेएफए र जापनिज दुतावासको विशेष पहलमा अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली फुटबल टोलीलाई एसियन कप छनोटअन्तर्गत ताजकिस्तान विरुद्धको खेल अघि नेपाललाई जापान पठाउन लागेको हो।

अनिल गुरुङको कप्तानीमा २४ खेलाडी, प्रशिक्षक र अफिसियलसहित कूल ३० सदस्यीय नेपाली टोली भोली शुक्रबार दश दिने प्रशिक्षणका लागि जापानको ओसाका जाँदैछ।

नेपाली टोलीलाई नेपालका लागि जापानी राजदुत मासाई ओगावा, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशव कुमार बिष्ट, एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले बदाई गरे।

फोटो : एन्फा

एन्फाका अनुसार नेपाल करिब दुई दशकपछि फुटबल खेल्नका लागि जापान भ्रमण जान लागेको हो। विश्वकप छनोट खेल्न सन् १९९७ मा नेपाल जापान गएकव थियो। त्यतिबेला जापानसँग भएकव दुईवटा खेलमा नेपाल ६-० र ३-० ले पराजित भएको थियो।

नेपालले जापान भ्रमणमा रहदा ओसाकाका स्थानीय क्लब र विश्वविद्यालयका टिम गरी जम्मा पाँच मैत्रीपूर्ण खेल खेल्नेछ। यस्तै जापानमा प्रशिक्षण समेत गर्ने नेपालले जे-लिगको ट्रेनिङका साथै जे-लिगको खेल समेत हेर्ने कार्यक्रम छ।

नेपालका प्रशिक्षक कोजी र कप्तान अनिल गुरुङले जापान भ्रमणले नेपाली फुटबललाई फाइदा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। एक वर्षअघि नेपाली टोलीको प्रशिक्षणको बागडोर सम्हालेका कोजीले नेपाली फुटबल विकास र नेपालको अविष्यका लागि धेरै कुरा सिकेर आउने बताए।

यसैगरी कप्तान अनिल गुरुङले जापान जस्तो देशमा प्रशिक्षणका लागि जान पाउनु नेपालको लागि महत्वपूर्ण रहेको बताए।

'यसअघि हामी दक्षिण एसियाली टिमसँग मात्र मैत्रीपूर्ण खेलहरु खेल्थ्यौँ, अहिले जापानमा खेल्न जाँदैछौँ। पक्कै पनि यसले हाम्रो फुटबलको विकास गर्नेछ।' नेपाली टोलीकै सबैभन्दा सिनियर खेलाडी अनिलले भने। 'हामी जापानमा ५ वटा खेल खेल्दैछौँ जसले हामीमा रहेको कमजोरीहरुलाई कसरी सुधार गर्ने भनेर सिकाउँनेछ। त्यसैले पनि हामीले धेरै खेल खेल्न लागेका हौँ।'

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि जापान भ्रमणपछि नेपाली टिमको आत्मविश्वास बढ्ने र भविष्यका लागि राम्रो हुने प्रतिक्रिया दिए।

'एसियाकै बलियो फुटबल शक्ति देशमा गएर खेल्न लागेका छौँ, यसले हाम्रो कमजोरीलाई स्पष्ट देखाउँछ जसलाई हामीले सुधार गर्न पाउनेछौँ। त्यसैले पनि हामीले जापानमा खेल्ने चुनौतीलाई स्विकार गरेका हौँ।'

एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफ को तेस्रो खेल ताजिकिस्तानसँग घरेलु मैदानमा आगामी सेप्टेम्वर ५ मा खेल्दैछ। एक साता भन्दा लामो भ्रमणपछि नेपालले उक्त खेलमा सुधार गर्ने सक्ने अपेक्षा प्रशिक्षक कोजीले समेत व्यक्त गरेका छन्।

यस्तै एन्फा अध्यक्ष श्रेष्ठले एसियन कपमा नेपालको छनोट हुने सम्भावना अझै कायम रहेको बताए। 'हामीले उत्कृष्ट प्रदर्शन गर्न सक्यौँ भने हाम्रो सम्भावना अझै कायम छ।'

नेपालले यसअघि भएका दुईमध्ये एक खेल हारेको थियो भने एक खेलमा बराबरी खेलेको थियो।

पहिलो अवे खेलमा फिलिपिनससँग ४-१ ले पराजित भएको नेपालले ३रेलु मैदानमा यमनलाई गोलरहित बराबरीमा रोक्दै एक अंक जोडेको थियो।

 

जापानमा नेपालको खेल तालिका

नेपालले जापानमा तीन स्थानिय क्लब र दुई युनिभर्सिटी क्लबसँग खेल्नेछ। नेपालले आगामी सोमबार (अगस्ट १२) गाम्बा ओसाकाको यू-२३ टोलीसँग पहिलो खेल खेल्नेछ।

अगस्ट १६ मा क्वानसेइ गाक्विन युनिभर्सिटीसँग खेल्ने नेपालले १७ अगस्टमा अमिटिज स्पोर्टस् क्लबसँग खेल्नेछ। अगस्ट १८ मा हानन युनिभर्सिटी तथा अन्तिम खेल १९ अगस्टमा भिसेल कोब को यू-१८ टीमसँग खेल्ने तय छ।

जापान जाने नेपाली टोली

गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने

डिफेण्डर : विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, राजेन्द्र रावल, मान बहादुर तामाङ, दीनेश राजवंशी

मिडफिल्डर : विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापा मगर, सुनिल बाल

फरवार्ड : अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, सुमन लामा

व्यवस्थापक : विराटजंग शाही

मुख्य प्रशिक्षक : योतुकु कोजी

प्रशिक्षक : राजुकाजी शाक्य

गोलकिपर प्रशिक्षक : उज्जवल मानन्धर

फिजियो : राजु डंगोल

इन्टप्रेटर : रोशन तुलाधर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell