तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आँउदा
बिछोडका कुरा कल्पिन थाल्छन्, तिम्रो तस्वीरले चित्त बुझाउँदा
२०३५ सालमा यो गीत यसरी चलिदियो कि रेडियो नेपालमा पटक पटक उनकै आवाज गुञ्जन थाल्यो।
एक वर्षअघि मात्रै स्वर परीक्षा उत्तीर्ण गरेर रेडियो नेपालमा 'क' वर्गको गायक सूचीमा नाम लेखाएका दीपकले गाएको पहिलो गीत थियो 'मैले रचेका गीत'। तर उनलाई धेरै स्रोताले चिनेको चाहिँ यही गीतबाट थियो।
गीतमा एउटा वाक्य छ – तिम्रो तस्वीरले चित्त बुझाउँदा..। तर उनको तस्वीर सार्वजनिक भएको थिएन।
कसैले अनुहार हेरेर यी दीपक खरेल हुन् भन्ने थाहा पाउन २०३६ सालमा मा राष्ट्रिय सभागृहमा उनको लाइभ कन्सर्ट हुनपऱ्यो। उनको गीत सुन्न आएकाले उनलाई देखे पनि।
'त्यो समय मेरो गीत रेडियो नेपालमा दिनमा ५/६ पटक बजे पनि स्रोताले अनुहार चिन्न अहिले जस्तो सजिलो थिएन। त्यसैले त्यो पहिलो कन्सर्ट पछि धेरैले अनुहार पनि चिन्न थाले।'
त्यो समय उनी त्रिभुवन विश्वविद्यालयमा कमर्स पढ्थे। डिल्लीबजारबाट रत्नपार्कसम्म हिँड्दै पुग्थे। जब उनी पद्मकन्या क्याम्पसको बाटो हुँदै रत्नपार्क पुग्थे, तब पद्मकन्या कलेजका विद्यार्थीको झुण्ड हुन्थ्यो जसले उनलाई पच्छ्याउँदै रत्नपार्क पुर्याउँथ्यो। र, बेलुकी फर्कँदा पनि उनको फ्यानको त्यस्तै भिड हुन्थ्यो जसले उनलाई बागबजारसम्मै पुर्याउँथ्यो।
स्वरले पहिचान दिने दीपक खरेलको समय र युट्युब, टिभीको अहिलेको समय।
३६ वर्षपछि मिङ्मा शेर्पा र डिजे राजुले यो गीत रिमेक गरे २०७१ सालमा। यसको युट्युब हिट्स मात्र पनि हालसम्म २४ लाख पुगिसकेको छ। जबकि रेडियो नेपालबाट उति बेला नै पटक पटक बजिसकेको दीपकको ओरिजिनल गीतको भिडियो युट्युबमा बल्ल ७५ हजार पुगेको छ।
हेर्दा सुन्दर देखिन्छ। कुनै त साँच्चै प्राकृतिक फूल झै लाग्छन्। तर देख्नु र हुनुमा फरक पर्छ नै। गीतमा यस्तै केही महसुस गर्छन् गायक दीपक खरेल। उनलाई रिमेक गरिएका गीतहरु कागजका फूलजस्तै लाग्छन्,'न सुगन्ध हुन्छ न सौन्दर्य।'
'पुराना गीतहरु पुन: गाइनु ठिक या बेठिक भन्न सकिन्न। तर रिमेक गरिएको गीतलाई स्रोताले रुचाएपछि पुरानो पनि पक्कै खोजिन्छ', उनको अनुभव बोल्यो।
बदलिँदो नेपाली संगीत बारे थोरै पनि नकारात्मक छैनन् गायक खरेल। उनी भन्छन्,'प्रकृति नै परिवर्तनशील छ। समयसँगै स्रोता फेरिन्छन्। उनीहरुको सांगीतिक रुचि फेरिन्छ। अहिले जस्तो संगीत स्रोताको रुचिमा पर्छ प्रायः गायकगायिकाले त्यस्तै दिने प्रयास गरेका हुन्।'
‘आज आएर भोलि हराउने ट्रेन्ड’
खरेल संगीत क्षेत्रमा भैरहेको परिवर्तनलाई विकृति मान्दैनन्। उनको समयको सुगम संगीत होस् वा अहिलेको पपदेखि र्यापसम्म सबै उनको लागि फरक समयको फरक प्रयास हो। उनी हरेक शैलीका गीत सुन्छन्। 'संगीतको साधकले गीतको विधा होइन सुर, कला र भाव बुझ्ने कोशिश गर्छ। त्यसैले म मन छोएको हरेक खालका गीत सुन्छु।' उनलाई चित्त नबुझेको एउटै विषय छ। त्यो हो गायन क्षेत्रमा आज आएर भोलि हराउने ट्रेन्ड। 'एउटा गीत गाएर हराउनु त रहर पूरा गर्नु मात्र हो जस्तो लाग्छ। त्यसरी स्रोतालाई राम्रो चिज दिन सकिन्छ जस्तो मलाई लाग्दैन', उनले स्रोतालाई छुने गीत, संगीत दिन लामो साधना र प्रयास चाहिने प्रष्ट पार्दै भने,'स्रोताको लागि गाउनु र चर्चाको लागि गाउनुमा फरक हुन्छ नै।'
प्रविधिले सहज बनाइदिएको छ अहिलेका संगीत पारखीलाई। चाहे अनुसार गायो। न म्यूजिक कम्पनी धाउन पर्ने झन्झट् न त सिडी क्यासेट बिकाउन पर्ने। गाएर आफै युट्युबमा अपलोड गर्ने र प्रमोशन थाल्ने। दीपक प्रविधिले दिएको सुविधाको प्रयोगलाई सकारात्मक ढङ्गमा लिन्छन्। 'स्रोताले संगीतमा खोज्ने नयाँ स्वादहरुसँग ट्याकल गर्न प्रविधिले धेरै सहयोग गरेको छ। नयाँ प्रतिभाहरु अगाडि आएका छन्।' उनको अनुभवले भन्छ,'राम्रो गर्नेहरु टिक्छन्। स्रोताले नरुचाएका हराउँछन्।'
दीपकलाई लाग्छ अहिले स्रोताले स्वरसँगै गायक गायिका पनि हेर्न पाउँछन्। एक दुई गीत चर्चामा आएपछि धेरैले चिन्छन्। त्यो फाइदाको दुरुपयोग गायक, संगीतकारले नगरुन् भन्ने चाहन्छन् उनी। चर्चामा आउनकै लागि मात्र म्यूजिक भिडियो र इन्टरनेटलाई माध्यम बनाउन गलत हो भन्छन् खरेल।
संगीतमा व्यवसायिकता
‘लामो दौडको घोडा बनुन् संगीतमा लागेकाहरु। साधना गरुन्, मिहेनत गरुन् र मिहेनतको फल पनि पाउन्’ दीपक खरेलले देखे अनुसार अहिले संगीत क्षेत्रमा केही मात्र त्यस्ता घोडा छन् जसले मिहेनत पनि गरे र भाग्यमानी पनि ठहरिए। 'उनीहरु व्यवसायिक बनेका छन्। गीत, संगीतमा पैसा कमाइँदैन भन्नेहरुका लागि उदाहरण बनेका छन्। जो कन्सर्ट र विदेशी कार्यक्रममा सहभागी भएरै कमाउँछन्।'संगीतमा लागेर सबैले कमाएका छैननको अर्थ संगीत क्षेत्र व्यवसायिक नभएको भने होइन। उनी प्रश्न गर्छन् संगीत व्यवसाय भारत वा अन्य देशमा जस्तै विस्तार हुन नेपाली गीतको स्रोता कति छन्? - पक्कै पनि नेपालीभाषीले मात्रै सुन्छन् नेपाली गीत। नेपालभित्रै पनि नेपाली भाषाको गीत बुझ्ने निकै कम सङ्ख्याका स्रोता छन्। यस्तो अवस्थामा पनि नेपाली गीतहरुले करोडौं हिट्स बटुल्दो छन्। नेपाली संगीतको स्रोता सीमित भएर पनि संगीत स्रोता बढ्नुलाई उनी सकारात्मक विकास मान्छन्। भन्छन्,'गीतमा विकृति बढ्दो छ, खत्तम हुँदैछ, विकास हुँदै भएन भन्नुभन्दा पनि बिस्तारै हुँदैछ भन्ने पाटोलाई महत्व दिनुपर्छ।' नेपाली गीतमा धेरै मान्छे आउँदै जाँदै गर्दा जानेहरु गइहाल्छन्। रहनेहरु संगीतमै केही गर्न चाहने भएर रहन्छन् भन्ने उनको विश्वास हो।
खरेल खुसी छन् अहिले भैरहेको संगीतको विकाससँग। निजामती कर्मचारी रहेका उनले औपचारिक रुपमा कहिल्यै संगीत सिक्न पाएनन्। तर अहिले संगीत शैक्षिक पाठ्यक्रममा समावेश छ, संगीत व्यवसायिक बन्दै छ, मौलिक संगीत/ गीत प्रवर्द्धनमा युवा संगीत तथा गीतकार लागिपरेका छन्, गायक, गायिकाले प्रस्तुतिको लागि धेरै अवसर र माध्यम पाएका छन्। 'सिकेर संगीतमा लाग्ने युवा जमात देखेर म खुशी छु। अझ खुसी त संगीत सिकाउनेहरुसँग छु जसका कारण गीत गाउन चाहनेहरु मेरो समयमा जस्तो इन्डिया नै जान पर्दैन।'
हुन त उनको हकमा पनि संगीत व्यवसायिक नहुनुनै निजामती सेवामा लाग्नुको कारण बन्यो। तर उनले संगीतलाई छोटो समयको चर्चाका लागि प्रयोग गरेनन्। हुन त त्यस समय रेडियो नेपालले स्वर परिक्षा पास गरेका सबै गायकको लागि टाइम टेबल सार्वजनिक गर्थ्यो र सोही अनुसार गायकले गीत रेकर्ड गराउन जान्थे।
'त्यसैले ६ महिनामा एकपटक पालो आउँथ्यो। आफ्नो लागि गीत र संगीतकार खोजेर रेकर्ड गराउन जान समय टन्न हुन्थ्यो', उनले सरकारी कर्मचारी रहेर पनि संगीतलाई सँगै लिएर हिँड्नु बारे बताए। उनको हकमा गीत गाउने माध्यम कम हुनु नै सरकारी सेवा र गीतलाई सन्तुलनमा राख्न सक्नुको कारण बन्यो। आज पनि हरेक खालका गीत सुन्ने उनी आफ्नो समयको गीत सुन्छन् र नोस्ट्ल्जिक बन्छन्। त्यो समय गीत रेकर्ड गर्न बस्नु अघि हुने डर, गायक देखि संगीतकारमध्य कसैले एउटा गल्ति गरे रेकर्डिङ पुन: सुरु गर्नु पर्ने रिस्क, गीत रेकर्ड भएपछि रेडियो नेपालमार्फत बज्ने पर्खाइ र त्यसपछिको चर्चा सबै सबै सम्झन्छन् उनी।
डिजिटल प्रविधिको असर
'रेकर्डिङमा अहिले डिजिटल प्रविधिले निम्त्याएको सहजता र टुक्राटुक्रा रेकर्ड गरेर सिङ्गो गीत बनाउनुमा त्यो मज्जा छैन', उनी आफ्नो समयको रेकर्डिङ सम्झिंदै भन्छन्,'बेसुरको गीतलाई प्रविधिले फाइन बनाएर निकाल्नुभन्दा सुर र स्वर मिलेको गीतमा अलि अलि गल्ति हुने समय नै ठीक थियो।'त्यसैले पनि त्यो समय वा त्यसभन्दा अघिका गीतहरुको दुरुपयोग नहोस्, कसैले आफ्नो नामको गीत नबनाओस् भन्ने चाहन्छन् दीपक खरेल। चाहे त्यो गीत सुगम संगीतको समयको होस् वा लोक भाका। 'कसैले प्रयोग गर्नु नै छ भने "संकलित" भनेर लेखोस्। कसैले आफ्नो नाममा प्रयोग गर्छ भने त्यो गीतका अपमान हो।'
दीपक नेपाली संगीतको क्षेत्रमा भैरहेको विकासलाई माथि पुगेको हेर्न चाहन्छन्। उनले हरेक पटक गीत रेकर्ड गराउँदा रेडियो नेपालबाट ४५ रुपैयाँ पाउँथे। उनी हरेक गायकले उसको गीत बज्ने मिडियाबाट रोयल्टी रकम पाउन पर्ने तर्क राख्छन्। संगीत रोयल्टी समाजले मिडियाको वार्षिक विज्ञापनको कुल रकमबाट १ प्रतिशत गीतले पाउनु पर्ने नियम बनाएको छ। त्यसलाई जिम्मेवार ढङ्गमा लागू गर्न सके नयाँ संगीत पारखीलाई प्रोत्साहन मिल्ने उनी बताउँछन्। भने,'नयाँ प्रयोग, संगीत शिक्षा, बढ्दो स्रोता यो सबैले सिमित घेराभित्र पनि नेपाली संगीतलाई व्यवसायिक बनाइराखेको छ। अब सही दिशा दिनु पर्योढ।' उनी भन्छन् मिडियाले राम्रो गीतलाई ठाउँ देओस्। रोयल्टी देओस्। गाउनेहरु सिकेर आउन्।
दीपक खरेल अब नेपाली संगीत बजारलाई सकारात्मक ढङ्गमा हेर्ने वातावरण सिर्जना भएको हेर्न चाहन्छन्, जहाँ अभिभावकले छोराछोरीलाई भन्न सकुन्,'संगीतमै करियर बनाऊ।'