'कन्यादान' फिल्मको लागि तीज गीत लेखिदिनु पर्यो।'
’किन किरण खरेल जीले लेखिदिनु भएन?'
कन्यादान फिल्मका निर्देशक प्रकाश थापा र उनका छोरा विजय थापा गीतकार चेतन कार्कीको घर पुगेका थिए। कन्यादान फिल्मका लागि गीत लेखिदिनु पर्ने आग्रह सहित। त्यसअघि प्रकाश थापाले गीतकार किरण खरेललाई गीत लेख्न लगाउने गरेको कार्कीलाई थाहा थियो। त्यसैले छुच्चो बनेर गरेको प्रश्न थियो त्यो।
जवाफ सरल आयो, ’किरण दाइले नै तपाईंलाई लेख्न लगाउनु भन्नु भएको हो।‘
महिलाको पर्व, रातो लुगा र श्रृङ्गारको पर्व, विवाह गरेर गएका छोरी चेलीको माइती गाउँमा सामाजिक पुनर्मिलनको पर्व। गीतकार रहेका कार्कीले नाचगान गर्नका लागि तीजको गीत सहजै लेख्थे होलान्। तर चेतन कार्कीको अगाडि च्यालेन्ज थियो, विधवा महिलालाई केन्द्रमा राखेर तीज गीत लेख्नुपर्ने।
'तीजमा माइती आएका चेलीहरु स्वर खोलेर गीत गाउँछन्, आफ्नै उमेरका सङ्गीहरुसँग मिलेर नाच्छन् पनि। सासु, नन्द, आमाजुले दिएको दु:ख पोख्छन्। यस्तै भावहरु समेटेर गीत लेखें', गीत तयार गर्दाको अवस्थालाई सम्झँदै भन्छन् गीतकार कार्की। तयार भयो गीत-
'गाऔं स्वर खोलेर दिदी र बहिनी
नाचौंला मिलेर दामली सैनी
तीजको रहर आयो बरी लै
तीजको रहर आयो बरी लै'
गीतमा प्रयोग शब्दहरुलाई पनि प्रस्ट पार्न पछि पर्दैनन् चेतन कार्की। भन्छन्,'दामलीको अर्थ उमेर मिल्ने कोही' र गण्डक क्षेत्रमा मितिनीलाई सैनी भनिन्छ।'
उनका अनुसार 'तीजको रहर'को अर्थ भने माइती जाने, आमा भेट्ने, घरको गुनासो गर्ने, दर खाने आदि हो।
विधवा महिलाको भूमिकालाई गीतको भिडियोमा ठाउँ बनाइदिए नृत्य निर्देशक वसन्त श्रेष्ठले।
तीजका लागि माइती आएका चेलीहरुको रमझम हेर्दै हुन्छे एक विधवा महिला जो बाध्य छे सेतो पहिरन लगाउन। उसलाई प्रवेश निषेध छ- आफ्नै साथीसङ्गीको भिडमा रातो लुगा, सिन्दुर, पोते र श्रृङ्गारिएर नाच्न। विधवा कल्पनामा आफैलाई पनि त्यहाँ पाउँछे। सबैसँग नाच्छे र गाउँछे।
***
'नेपालीले माया मारे बरी लै'को भाका
२८ वर्ष भयो हरेक वर्ष ‘तीजको रहर आयो बरी लै’ बोलको गीत नगुञ्जी तीज नै आउँदैन। यही विश्वास छ गीतको रचनाकार चेतन कार्कीको। उनले त्यो समय फिल्मको पात्रको अवस्थालाई केन्द्रमा राखेर लेखेको गीतले आजसम्मका आम महिलाको भावना समेट्छ सायद। समेट्छ र त रुचाइएको छ। झण्डै ३ दशक पूरा गर्न लाग्दा पनि गीत यसरी चलिरहन्छ भन्ने उनले सायदै सोचेका थिए।
गण्डक क्षेत्रमा प्रचलित लोकभाका 'तीजको रहर आयो बरी लै'को प्रयोग गरेको बताउँछन् रचनाकार चेतन कार्की। उनी सम्झन्छन्,'पहाडी क्षेत्रमा छोरीचेलीको विवाह गराएर टाढा पठाउने चलन थियो। तीज अघि बाबा, दाजु, भाइ लिन जान्थे। बिहे गरेर गएकाहरु जम्मा हुन्थे। आफ्ने घरको कुरा साट्थे। त्यही कुरा शब्दमा उतारें।'
त्यसअघि तीजका कुनै गीत लेखिएको थिएन। त्यसपछि धेरै गीत लेखिए। तर पहिलो गीतकै छाप आजसम्म धमिलो भएन।
गीतलाई जीवन्तता त मनोहरी सिंहले पो दिए त। संगीतकार मनोहरी सिंहलाई सम्झिए सायद, केही बेर चुप लागे र बोले, 'गीतमा भएको संगीतले शब्दहरुलाई साँच्चै न्याय गरेको छ।'
चेतन कार्कीका अनुसार गीतको भाका भने जनकवि केशरी धर्मराज थापाको प्रसिद्ध गीत 'नेपालीले माया मार्यो बरी लै'बाट लिइएको हो। यो गीत आसाम, सिक्किम दार्जिलिङ, देहरादुन होस् वा भाक्सु त्यहीँ बसोबास गर्न थालेका गोर्खालीहरुले देश बिर्सिए भन्ने भावसहित लेखेका थिए। त्यो भाका मूल लोकभाका रहँदै आएको बताउँछन् कार्की।
***
गीतले नै बनायो फिल्म हिट
अभिनयमा थिए त्यस समयका चर्चित अभिनेत्रीहरु गौरी मल्ल, सुभद्रा अधिकारी र बसुन्धरा भुषाल। 'तीनैजना त्यसबेलाका धुरन्धरहरु। गीत मात्र होइन गीतको भिडियो र भिडियोको मर्म सबै दर्शक, स्रोताले रुचाए। गीत मात्र होइन फिल्म पनि हिट भयो।' त्यस समय फिल्म सफल हुन तीजको रहरसहित उक्त फिल्मका अन्य दुई गीतले ६० प्रतिशत योगदान पुर्याएको बताउँछन् चेतन कार्की।
फिल्ममा अन्य दुई गीत समावेश छन्- नजाउ न मलाई छोडी, मुख मोडी, दिल तोडी च्यान्टे मायालु र ढिकिच्याउँ ढिकिच्याउँ घर घर जाँतो। कन्यादान फिल्मका तीनवटै गीत चेतन कार्कीले लेखेका हुन्। र तीनवटै निकै चलेका गीत ठहरिन्छन्।
***
बम्बईमा भएको थियो रेकर्ड
गीतको लागि शब्द तयार भयो। गीतमा संगीत दिने भए मनोहरी सिंहले। चेतन कार्कीका अनुसार १०/ १२ वटा लय र संगीतबाट एउटा चुनियो। गीत गाउने भइन् गायिका सुष्मा श्रेष्ठले। सबै तयारी पछि फिल्म निर्माता विनोद शेरचन, संगीत निर्देशक मनोहरी सिंह र गायिका सुष्मा श्रेष्ठसहितको टोली लाग्यो इन्डिया।'अहिले मुम्बई भनिन्छ तर हाम्रो समयमा बम्बईमा गीत रेकर्ड गराउन जानुको रौनक ओहो,' उनी नोस्टाल्जिक सुनिए।
अहिले जस्तो छ्यापछ्याप्ती रेकर्डिङ स्टुडियो हुँदैन थियो। त्यस समय रेडियो नेपालको विकल्प भारत जानु बाहेक अरु केही थिएन। कन्यादानको गीतहरु पनि भारतबाटै तयार भएर आएका हुन्।
गायिका सुष्मा श्रेष्ठ भने हाल मुम्बई मै बस्छिन्। पूर्णिमाको रुपमा परिचित उनले गुजराती नागरिकसँग विवाह गरेर उतै बस्दै आएकी हुन्।
***
संगीत आफ्नो भन्ने झुटो दाबी
सन् २०१३ मा 'तीजको रहर आयो बरी लै' बोलको गीत रिमेक गर्न अनुमति लिन आए संगीतकार शम्भुजित बास्कोटा। चेतन कार्कीले भनेका थिए- म त रचनाकार हुँ। फिल्मको लागि लेखेको गीत हो। संगीतकार मनोहरी सिंहसँग अनुमति लिनु पर्ने हो, उनी छैनन्। फिल्मको निर्माताको विनोद शेरचनसँग कुरा गर्नु नि। उनले यति बोल्न नपाउँदै शम्भुजित बास्कोटाले गीतको संगीत आफ्नो भएको दाबी गरेको कार्कीले सुनाए।बास्कोटाले त भने,'चेतन दाइ हजुरलाई थाहा नै छैन यो त मेरो संगीत हो।'
यति सुनाउँदा केही दु:खी अनि आक्रोशित सुनिए चेतन कार्की। 'तर विनोद शेरचनसँग मैले कुरा गरें। उनले भने, 'होइन दाइ संगीत मनोहरी सिंहकै हो। म साक्षी छु।'
शेरचनको कुराले आफैलाई केही राहत मिलेको बताइ नसक्दै उनी जोसिएर प्रस्तुत भए। भने, '२८ वर्ष पुरानो गीतको संगीत आफ्नो हो भन्दै क्लेम गर्ने कता थिए जब मनोहरी सिंह जिउँदो थिए। कता थिए जब फिल्मका निर्देशक प्रकाश थापा जिउँदो थिए।'
उनी पुन: आफ्नो तर्कलाई साबित गर्न थप्छन्, 'गीतको क्रेडिट लाइन सबैभन्दा बलियो प्रमाण हो जसमा संगीत निर्देशकको नाम मनोहरी सिंहको छ।' त्यो क्रेडिट लाइन जसमा आजसम्म कसैले पनि आपत्ति जनाएका थिएनन्।
विनोद शेरचनको अनुमतिमा गीत रिमेक गरियो। गायन रहर पूरा गर्न जापानबाट आएकी गायिका मञ्जु थापाले स्वर त दिइन् तर रिमेक गरिएको गीतले धेरै चर्चा भने पाएन। जुन गीतमा बसुन्धरा भुषाल, सुभद्रा अधिकारी र करिश्मा मानन्धरको फिचरिङ रहेको छ।
***
अभिनेत्रीहरुको कुरा
सदाबहार बनेको गीत तीजको रहरले करिअरमा फरक ठाउँ बनाएको बताउँछिन् कन्यादान फिल्मकी नक्कली बसुन्धरा भुषाल। कन्यादान फिल्ममा काम गर्दा तीन सन्तानको आमा भैसकेकी उनलाई अविवाहित युवतीको भूमिका दिइयो। तीजको गीतमा पनि त्यसरी नै प्रस्तुत भइन् जसको धेरैले प्रशंसा गरे। उनी भन्छिन्,'तीजको त्यही गीतमा मैले गरेको नृत्यका कारण होला आजसम्म पनि धेरै तीजको कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्तो पाउँछु।'उनले आफूले हरेक कार्यक्रममा उक्त गीतको सुटिङ, नृत्य निर्देशन सम्झिने गरेको बताइन्।
'कन्यादान फिल्मको त्यो गीत हिट भएपछि त तीजको दिन पशुपतीमा लाइन बस्नै परेन।' दर्शकहरुले आफ्नो लाइनमा राखेर दर्शन गराएको उनले खुशी हुँदै सुनाइन्।
गीतले आफूलाई मात्र नभएर समाजलाई पनि आजसम्म धेरै कुरा दिएको बताउँछिन् उनी,'मनोरञ्जन बेग्लै कुरा। गीतको शब्दले महिलाको पीडा बोक्छ। गीतको भिडियोले सामाजिक सन्देश दिन्छ। एउटै गीतले फरक महत्व बोक्नु निकै कलात्मक विषय हो।'
भिडियोमा विधवाको भूमिकामा देखिएकी गौरी मल्लका लागि पनि तीजको रहर महत्वपूर्ण गीत रहेको बताउँछिन् उनी। 'आजसम्म पनि मलाई त्यही फिल्मको पात्रको रुपमा सम्झने धेरै दर्शक भेटेकी छु।' नेपाली फिल्म दर्शकलाई गौरी मल्लको भर्सट्यालिटी र सुन्दर नृत्य सम्झाउने गीत मान्छिन् उनी।
पहिलोपोस्टसँगको कुराकानीमा सुटिङ् अनुभव पनि सुनाइन् उनले। पोखराको त्रिवेणीमा भएको थियो छायाङ्कन। 'गीतकै सुट सक्काउन मात्र तीन दिन लागेको थियो।'
पोखराको अप्रत्याशित मौसम। पानी पर्ला र सुटिङ लम्बिएला भन्ने डरै डरमा रातभर फिल्मको क्लाइमेक्स र अनिदो रहेरै दिनभर गीतको छायांकन गरेको रोचक कुरा सुनाइन् उनले।
फिल्मकी अर्की महत्वपूर्ण पात्र हुन् सुभद्रा अधिकारी। फिल्ममा देखिएको भूमिकाका कारण धेरैले उनलाई छुच्ची पात्रको रुपमा चिने पनि उनले तीजको गीतमा प्रस्तुत गरेको नृत्य दर्शकले मन पराए।
***
तीजको लागि सदाबहार गीत रचना गरेका चेतन कार्की आजको समयमा सार्वजनिक हुने तीज गीतलाई विकृतिको उपज मान्छन्। भन्छन्,'हामीले घटना, शब्द, लय, पीडाप्रधान गीत रच्यौं। अहिले तालप्रधान गीत लेखिन्छ। जुन गीत सुन्न होइन, हेर्नका लागि हो। एक दुई महिना बज्छन् र हराउँछन्।' राजनीतिक व्यङ्ग्य र सामाजिक चेतना गीतको विषय होइन। झन् आमा छोराको, साली भिनाजसको दोहोरी त तीजको गीत हुँदै होइन भन्ने उनको तर्क छ। तीज गीतमा त महिलाको कुरा हुन्छ, साथीसङ्गी बीच गरिने कुरा हुन्छ, छोरीले आमासँग गर्ने गुनासो हुनुपर्छ। 'म त आजभोलिको तीज गीतको नाममा फैलिएको विकृति रेडियोमा बज्न थाल्यो भने पनि बन्द गर्दिन्छु।'
चेतनका अनुसार तीज पहिले क्षेत्री बाहुनको सामाजिक पर्व थियो। सांस्कृतिक पछि बन्यो र धार्मिक त झन् पछि बनेको हो। 'अहिले त समस्त नेपाली महिलाहरुको पर्व बनेको छ। क्षेत्री बाहुनको मात्र भन्ने नै रहेन जसरी छठ र बोलबम पहाडी समुदायले पनि मनाउन थालेका छन्।'