PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

साफ यू-१५ च्याम्पियनसिप : दुई सेमिफाइनल आज



गोविन्दराज नेपाल

साफ यू-१५ च्याम्पियनसिप : दुई सेमिफाइनल आज
फाइल फोटो

काठमाडौं : ललितपुरमा भइरहेको साफ यू-१५ च्याम्पियनसिपका दुई सेमिफाइनल खेलहरु आज हुँदैछन्।

दुवै सेमिफाइनल एकै समय दिउँसो ३ बजे हुनेछ। जसमा घरेलु टोली नेपाल यू-१५ ले बंगलादेश यू-१५ सँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल्नेछ भने भारत यू-१५ र भुटान यू-१५ बीचको खेल हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा हुनेछ।

बंगलादेश समूह ए को विजेता तथा नेपाल समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् भने भारत समूह बी को विजेता तथा भुटान समूह ए को उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।

बंगलादेश र भारत अहिलेसम्म अपराजित रहेको छ। समूह ए मा बंगलादेशले श्रीलंका र भुटानलाई हराएको थियो भने भुटानले श्रीलंकालाई हराएको थियो।

यसैगरी समूह बी मा भारतले माल्दिभ्स र नेपाललाई हराएको थियो भने नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो।

प्रतियोगिताअघि नै साविक विजेता बंगलादेश, साविक उपविजेता भारत र आयोजकको हैसियतमा रहेको नेपानलले उपाधि जित्ने दाबी गरिरहेको थियो। अब त्यसमा भुटान पनि थपिएको छ।

भुटानका प्रशिक्षकले सेमिफाइनलमा नेपालसँग खेल्न चाहेको बताएपनि समूह चरणमा नेपाल भारतसँग पराजित भएपछि उनको चाहना पूरा नहुने भएको छ।

यस्तै बंगलादेशका प्रशिक्षकले प्रतियोगिता अघि नै दुई वर्ष अघि घरेलु मैदानमा जितेको उपाधि रक्षा गर्ने बताएका थिए। यसअघि लगातार तीन संस्करण यू-१६ च्याम्पियनसिपको नामबाट प्रतियोगिता भएपनि एएफसी यू-१६ को लागि उमेर मिलाउन यसपटक बाट साफ यू-१५ च्याम्पियनसिप गरिएको हो।

यता नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले प्रतियोगिता अघि सेमिफाइनल पहिलो लक्ष्य भएको बताएका थिए। उनले त्यसपछि फाइनल पुग्दै घरेलु मैदानमा उपाधि जित्ने चाहेको बताएका थिए।

समूह चरणका सबै खेल सकिएपछि अन्तिम चारमा पुगेका चारै प्रशिक्षकले सेमिफाइनल खेल सजिलो नहुने प्रतिक्रिया दिएका छन्।

नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन भने भारत र बंगलादेशले यसअघि एक-एक पटक उपाधि जितिसकेको छ। नेपालमै भएको पहिलो संस्करणको उपाधि जितेको पाकस्तान यस पटक आन्तरिका कारण देखाउँदै प्रतियोगितामा सहभागी छैन।

नेपाल पहिलो संस्करणमा सेमिफाइनलमा भारतसँग हारेपछि तेस्रो भएको थियो। घरेलु मैदानमै भएको दोस्रो संस्करणमा भारतले उपाधि जित्दा नेपाल उपविजेतामा बन्यो। बंगलादेशमा भएको तेस्रो संस्करणमा पनि नेपाल सेमिफाइनलमा भारतसँगै हारेको थियो।

यसपटक नेपाल समूहचरणमै भारतसँग पराजित भइसकेको छ। सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्दैछ। नेपालले बंगलादेशसँग यसअघि खेलेका ३ मध्ये २ खेलमा जित हात पारेकव छ भने एक खेल बराबरीमा सकिएको थियो।

यसपटक पनि नेपालले घरेलु मैदान र दर्शकको समर्थनमा बंगलादेशलाई हराउँदै फाइनल पुग्ने लक्षय राखेको छ।

यता भुटान भने पहिलो पटक सेमिफाइनल पुगेको हो। भुटानले यसअघि भएको साफ यू-१६ को पहिलो र तेस्रो संसकरणमा सहभागिता जनाएको थिएन भने दोस्रो संसकरणमा कुनै खेल जितेको थिएन। यस पटक समूह चरणमा एक खेल जितेको भुटान सेमिफाइनलमा बलियो टोली भारतसँग खेल्दैछ।

नेपाललाई समूह चरणमा पराजित गरेपछि भारतिय प्रशिक्षक बिलियानो फर्नान्डेजले भुटान विरुद्धको खेललाई हल्का रुपमा नलिने बताएका थिए। तर उनले फाइनलमा भने पुन: नेपालसँगै खेल्न चाहेको बताउँदै भुटानलाई हल्का प्रतिद्वन्दीको रुपमा लिएको छनक दिएका थिए।

के भारतिय प्रशिक्षकको उक्त चाहना पूरा होला? यस्तै नेपालले फाइनल पुग्दै भारत/भुटानलाई हराउँदै उपाधि जित्दा वा बंगलादेशले उपाधि रक्षाको अभियान कायमै राख्ला? यसका लागि आजको दुवै सेमिफाइनल खेल महत्वपूर्ण रहेको छ।

 

आजको खेल


बंगलादेश भर्सेस नेपाल

स्थान : एन्फा कम्प्लेक्स, सातबोबाटो

भारत भर्सेस भुटान

स्थान : एपीएफ मैदान, हलचोक


दुवै खेलको समय : दिउँसो ३ बजे

मिति : २०७४ भदौ ९ गते

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell