PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

भारत साफ यू-१५ च्याम्पियन, नेपाल फेरि चुक्यो



गोविन्दराज नेपाल

भारत साफ यू-१५ च्याम्पियन, नेपाल फेरि चुक्यो

काठमाडौं : पहिलो हाफमा नेपालले गोल गर्दै १-० को अग्रता लियो। दोस्रो हाफमा भारतले दुई गोल फर्काउँदै खेल जित्यो। यही नै साफ यू-१५ च्याम्पियनसिपको फाइनलको नतिजा रह्यो।

नेपालले अग्रता लियो, तर त्यसलाई जोगाउन सकेन र एक गोलले अगाडि रहेको दबाब थेग्न पनि सकेन।

पहिलो पटक भएको साफ यू-१५ फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले हराउँदै भारतले उपाधि जित्यो। यसअघि तीन संस्करण यू-१६ को भएको थियो जसमा भारतले एक पटक उपाधि जितिसकेको छ। नेपालले भने अहिलेसम्म यो उमेर समूहको उपाधि जित्न सकेको छैन र भारतलाई हराउन पनि सकेको छैन।

समूह चरणको खेलमा पनि नेपाल भारतसँग २-१ ले नै पराजित भएको थियो। उता बंगालदशेले भुटानलाई ८-० पराजित गर्दै तेस्रो बनेको छ।

घरेलु मैदानमा नेपालसामु भारतलाई पराजित गर्ने र उपाधि घरमै राख्ने मौका थियो, तर त्यसलाई सदुपयोग गर्न भने सकेन।

हारपछि निराश देखिएका नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले पनि एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भएको प्रतिक्रिया दिए।

'केटाहरुले खेल्नुपर्ने जती खेलेका हुन्। पहिलो हाफमा गोल गरेर अग्रता बनायौँ तर दोस्रो हाफमा दुईवटा अवसर गुमायौँ। त्यसमा गोल गर्न नसक्दा पराजित भयौँ।' श्रेष्ठले हारको कारण बताए। 'हाम्रो डिफेन्समा पनि समस्या देखियो।'

'मैले पहिले भनेजस्तै हामी अल अट्याक र अल डिफेन्समा खेल्यौँ र त्यसमा सफल पनि भयौँ सबै पक्षमा सुधार भयो तर नतिजामा सुधार हुन सकेन।'

उनले एक गोलको लिड गर्दा पनि किन बेन्चको खेलाडीलाई चान्स नदिएको भन्ने प्रश्नमा खेलको कन्डिसन अनुसार प्रदर्शन भइरहेको अवस्था खेलाडी परिवर्तन गर्न नचाहेको बताए।

उता जितपछि पनि निकै भद्र देखिएका भारतिय प्रशिक्षक बिबियानो फर्नान्डेजले एक गोलले पछि परेर खेलमा फर्कन सक्नु नै जितको आधार रहेको बताए।

'हामीले एक गोलले पछि परेर पनि खेलमा फर्कन सफल भयौँ। यो नै खेलको बेस्ट पार्ट रह्यो। यो जितले हामीलाई एएफसी यू-१६ छनोटमा फाइदा पुग्नेछ।' फर्नान्डेजले भने।

'पहिलो हाफको अन्त्यमै केटाहरुले गोल हुनुपर्ने बल गोल नदिएको भनेका थिए। तर मैले हाफ टाइममा कुल हुन भने र हामी कमब्याग गर्न सक्छौँ भनेका थिए। त्यही अनुसार नतिजा आयो।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्टो टर्फ मैदानमा नेपालले पहिलो हाफमा अग्रता लियो। ४१औँ मिनेटमा मोइराङ्गथेम तोइबा सिंहले रन्जन पुनलाई डि एरियामा फल गरेपछि नेपालले पेनाल्टी पायो। त्यसलाई बिर्जेश चौधरीले गोलमा परिणत गर्दै नेपाललाई अग्रता दिलाए।

दोस्रो हाफको शुरुमा पनि नेपालले खेलमा कन्ट्रोल राखेको थियो। तर त्यसपछि भने नेपालले लय गुमायो। भारतले खेलमा पुनरागमन जनायो। ४८औँ मिनेटमा रवि राना गरको स्थानमा मैदान छिरेका लालरोकिमाले ५९औँ मिनेटमा डि बक्स नजिकैबाट गोल गर्दै खेल १-१ को बराबरी गरे।

बराबरीपछि हौसिएको भारतका लागि ७५औँ मिनेटमा कप्तान विक्रम सिंहले गोल गर्दै अग्रता दोब्बर पारे। अन्तत त्यही गोल नै भारतलाई उपाधि दिलाउन निर्णायक बन्यो भने नेपालका लागि उपाधि टाढा बनायो।

आगामी सेप्टेम्बर २० देखि नेपालले घरेलु मैदानमै एएफसी यू-१६ च्याम्पियनसिप क्वालिफायर्स खेल्दैछ। त्यसका लागि अब तयारी अगाडी बढाउने नेपाल र भारतका प्रशिक्षकले बताएका छन्।

नेपालमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतसँगै इराक र प्यालेस्टाइन समूह डी मा छन्।

नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले टिममा देखिएका कमजोरी सुधार गर्दै पर्सी देखिनै उक्त प्रतियोगिताको लागि तयारी थाल्ने बताए।


नेपाल भर्सेस भारत फोटोहरु हेर्न क्लिक गर्नुस्


प्रतियोगिताका अवार्ड विजेताहरु

च्याम्पियन : भारत

रनर अफ : नेपाल

तेस्रो स्थान : बंगलादेश

फियर प्ले अवार्ड : बंगलादेश

बेस्ट प्लेयर : विक्रम प्रताप सिंह (भारत)

हाइएस्ट गोल स्कोरर : मोहम्मद फोएसल अहमेद फहिम (६ गोल)




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell