काठमाडौं : नेपाल सरकार बोली देऊ
भारत सरकार बाटो देऊ
भुटान सरकार माटो देऊ
फिल्म देश खोज्दै जाँदामा देखाइएका भुटानी शरणार्थीहरू आफ्नो देश फर्कन गरेको संघर्षको मूल नारा हो यो।
धन्यवाद प्रकाश आङदेम्बे यस्तो फिल्मको लागि जसले भुटानी शरणार्थीको कथालाई सजीव चित्रण गर्छ। प्रकाशले भुटानी शरणार्थी र झापाको क्याम्पलाई नजिकबाट देखेनन् मात्र, लेखे र दर्शकलाई पनि देखाएका छन्। शरणार्थीको भुटान प्रेम, देश फर्कने हुटहुटी, वृद्धदेखि बालबालिकासम्मले आफ्नो भूमि फर्कन आन्दोलनमा होमिएको कथा।
उनीहरुको गरिबी, अभाव, कतैको पनि नागरिक नहुनुको पीडा, दैनिकी हरेकको साक्षी रहेर लेखनीय एवं निर्देशकीय हिसाबमा पस्कन सफल रहेकोमा बधाईको पात्र हुन् आङदेम्बे। कथालाई यथार्थपरक ढङ्गमा प्रस्तुत गर्नसाथ दिएको छ पटकथा र संवादले। साना साना संवादहरू महत्वपूर्ण छन्। फिल्मको सन्दर्भमा मीठा छन्। संवादमा गरेको काव्यिक प्रयोगले कथामा थपेको मिठास र कथा भित्रका पनि साना साना कथा देखाउन सफल छन् उपेन्द्र सुब्बा।
फिल्मको कथा पैतालाको चित्रणबाट सुरु हुन्छ। नेपाली भाषी भुटानी कसरी नेपालसम्म आइपुगे र शरणार्थी जीवन बिताउँन बाध्य भए भन्ने बारे एनिमेटेड जानकारी पैतालाको स्केचमा पुगेर टुङ्गिन्छ र फिल्म सुरु हुन्छ। पैतालाको प्रयोग एकपटक मात्र भएको छैन। पात्रहरु भुटानी क्याम्पमा भएको घरबाट भुटान फर्किन संघर्ष गर्न जाँदा निस्किने पैताला, भित्र बाहिर गर्दा पैतालामा गरिने फोकस। वा साइकलको प्याडलसँगै तलमाथि हुने पैताला। नेपाल छोडेर भुटान हान्निएको मुल पात्रको पैताला पनि भारतीय प्रहरीसँगको लडाईमा घाइते हुन्छ। जसले उसलाई वैसाखीको सहायता लिन बाध्य बनाउँछ। साना साना घटनाहरुमा पाइला देखाएर गरिएको बिम्बको प्रयोगले भुटानी शरणार्थीहरुको यात्रालाई संकेत गर्छ। यात्रा जुन सहज छैन। यसैले फिल्मको शीर्षक जोड्छ, ‘देश खोज्दै जानु कठिन यात्रा रहेछ।’ यात्रा जुन नसकिँदै फिल्म सकिन्छ किनकि पात्रहरुले खोजेको देश भेट्दैनन्। पाइलाहरु खोजेको गन्तव्यसम्म पुग्दैनन्।
फिल्मलाई आकर्षक बनाउन कुनै जबरजस्त घटनालाई ठाउँ दिइएको छैन। शरणार्थीहरुको दैनिक जीवन, मजदुरी र मजबुरीको कथा। जसरी उनीहरु बाँचेका छन् सायद त्यस्तै पर्दामा उतारिएको हो। मुख्य पात्र हुन् कारबारी काका (हेमन्त बुढाथोकी) र उनको परिवार जहाँ छोरी शान्ति (सरिता वली) र काकाकी श्रीमती (मीना कोइराला) हुन्छिन्। कारबारी काकाले साइनो लगाएकी बहिनी माइली (अरुणा कार्की)। माइलीको एउटा छोरो हुन्छ। र पात्र बिरु (बाबु बोगटी)। बिरु एक्लो छ, काकाको भरमा भुटानबाट नेपाल आएको। र भुटान फर्कनु आफूहरुको आवश्यकता मात्र नभएर अधिकार समेत भएको बताउँछ उ। आफ्नो देश फर्कने अभियानको इमान्दार नाइके। जसलाई अमेरिका वा अन्य देश गएर बाच्नु छैन।
भुटान फर्कन असमर्थ रहेपछि केही आफ्नो अभियानलाई अझ सशक्त बनाउने होडमा रहेको बिरु एकदिन मारिन्छ। कसले मार्यो थाहा हुँदैन। बिरु जस्तै भुटानलाई उत्तिकै प्रेम गर्ने काकाको पनि परिवार मार्ने धम्की आउँछ। शरणार्थी पुनर्बासको विरुद्ध खनिएका उनी स्वयंम अमेरिका जान्छन्। अभियान अधुरो रहन्छ। यात्रा अधुरो रहन्छ। तर कथा यति मात्र होइन। छोरी शान्तिले बिरुलाई मन पराएको थाहा पाएर बुवा खुशी हुने कथा पनि छ। शिविर भित्रै अमेरिका जान लुकेर फारम भर्नेको कथा पनि छ। नेपालमै मर्न तयार पात्रहरु पनि छन्। फिल्ममा घटनाहरु उल्झिन्छन् यथार्थमा शरणार्थीको जीवन जस्तै।
कलाकारलाई निर्देशनले उभ्याउने रहेछ। फिल्म देश खोज्दै जाँदाले यही कुरा पुष्टि गर्छ। किनकि देखिएका कुनै पनि पात्रले अभिनय गर्दैनन्। अन्य फिल्ममा जुन कलाकारको अभिनय नाटकीय लाग्छ त्यही पात्रले देश खोज्दै जाँदामा अवस्थालाई भोग्छ। दिइएको भूमिकामा आफैलाई बाँध्छ। कुनै पनि मुख्य पात्रले निभाएको भूमिका नाटकीय लाग्दैन। आखिर ग्ल्यामर बिना पनि त कलाकारले ठाउँ पाउने रहेछन्। अभिनयको पाटो साच्चै सशक्त छ।
फिल्मको कलात्मक पाटोलाई जीवनतता दिएको छ सिनेमेटोग्राफीले। जसका लागि छायांकार सञ्जय लामाको मिहेनत प्रस्ट देखिन्छ। प्लटहरुको पृष्ठभूमि र भइरहेका घटनासँग त्यसको सम्बन्ध- निकै सुन्दर लाग्छन्। हुन त पछिल्लो समय प्राय नेपाली फिल्मको सिनेम्याटोग्राफी तारिफ योग्य नै रहेको पाइन्छ। प्रविधिको विकासले फिल्म समिक्षामा छायाँकनको पाटो बारे केही सकारात्मक लेख्न मिल्ने बनाइदिएको पक्कै हो। तर कथा, पटकथामा मिहेनत गरिएको फिल्म र छायांकनले गरेको फिनिसिङ यी तीनै कुरा मिलाउन निकै कम फिल्मकर्मीले सकेका छन्।
भुटानी माटोको टिका लगाएर दिन सुरु गर्ने पात्र, भातको गाँसमा भेटिने ढुङ्गाहरु, साँघुरो छाप्रोबाट निस्किएर एकान्त खोज्दै हिड्ने नव दम्पती, भित्तामा भुटानको नक्सा र भुटानको झण्डाको पर्दा जसलाई हुरीले उडाउँछ, पाइलाहरु, बालबालिकाले खेल्दा गाउने गीत: हवाइजहाज उडाए भुटान लैजा, शरणार्थी शिविर वरपर रोपिएका केराको खम्बाहरु, पात्रको मानसिक द्वन्द्व र चुल्होमा छड्कीरहेको भात। बिम्ब र प्रतीकले घटनाहरु बारे दोहोर्याएर सोच्न बाध्य बनाउँछ। त्यस्ता बिम्बहरू दोहोरिइरहन्छन्। यी बिम्बहरु उनीहरुको संघर्षको साक्षी हुन्। चाहे त्यो संघर्ष दैनिकी बिताउनुको होस् या भुटान फर्कने दिन गन्नुको।
देश खोज्दै जाँदा फिल्मले प्रमाणित गरेका धेरै कुराहरू छन्। एकमुक्काले भिलेन ढाल्ने सिन नदेखाउँदा पनि एक्सन हुने रहेछ। अन्धकारमा बलेको मधुरो टर्चको उज्यालोले फिल्मको फाइट सिन स्थापित गर्छ। र त्यही दृश्य सफल पनि छ। पात्रहरुको शारीरिक र मानसिक दुवै द्वन्द्व बारे दर्शकलाई बुझाउन। बीचमा गीत र नृत्य नभए पनि प्रेम देखिँदो रहेछ। त्यो पनि देखिएको छ।
संगीतलाई फिल्म प्रचारको सुत्रको रुपमा व्याख्या गरिरहँदा देश खोज्दै जाँदाको एउटा मात्र गीत सार्वजनिक भयो। गीतको भिन्दै भिडियो पनि छैन। फिल्म भित्र कै दृश्यहरु देखाइएको छ। फिल्ममा त उक्त गीतले कास्टिङ लाइन देखाउँदा मात्र ठाउँ पाउँछ।
आम दर्शकलाई कथा भन्न सफल छन् आङदेम्बे। फिल्म जीवन्त लाग्छ।
पात्रहरु छुट्छन्। कहाँ पुग्छन् देखाइदैन। उनीहरुले के छोड्छन् त्यो देखाइन्छ- शिविरको छाप्रो, छाप्रोभित्र ठोकिएका काँटी, हजार सपना थिचिएको सिरानी आदि। वर्षौ राष्ट्रियता खोजेकाहरुले मनमा कस्तो घाउ लिएर अपनाउँछन् होला पुनर्वासी जीवन? उनीहरुको बाध्यता र पैतालाको कस्तो सम्बन्ध छ होला? यी तमाम प्रश्नहरुको जवाफका लागि एक पटक फिल्म हेर्नैपर्छ। लेखकले आम दर्शकलाई व्याख्याका लागि ढोका खुला राखिदिएका छन्। उनले आफ्नो विचार, भोगाइ र देखाइ केही पनि लादेका छैनन्। केही कमजोरीहरु पक्कै छन्- टुकीको धिपधिपे बत्तिमा कोठा पुरै उज्यालो हुनु, क्याम्प सेक्रेटरीसँग मुख्य पात्र भेट्न जानु, कण्डमलाई बेलुन बनाएर खेलाउनु जस्ता केही अनावश्क दृश्यहरुलाई ठाउँ दिनु, क्याम्प छोडेर बस्तिमा बसेकी छोरीले आफ्नै माइतीमा धाक दिनुले प्लटलाई नाटकिय बनाउँछ। सुरुवातमै त डकुमेन्ट्री हेर्न बसेको जस्तो भान पनि हुन्छ। आन्दोलनको मुख्य नाइके बिरुको मृत्युले कथा सुस्त बनाउँछ। आन्दोलनको औचित्य बारे प्रश्न खडा गर्ने ठाउँ दिन्छ। तर समग्रमा फिल्म शरणार्थीहरुको कथा हो। जसले आम दर्शकलाई उनीहरुको जीवनसँग भावनात्मक रुपमा जोड्छ। देश खोज्दै जाँदा उदाहरण हो नेपाली फिल्महरुको कथा, पटकथा र संवादले उठाएको प्रश्नहरुको।