PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एक्सपेरिमेन्टको अर्को श्रृंखलामा कुमार नगरकोटी र भूपेन्द्र खड्का



स्वेच्छा राउत

एक्सपेरिमेन्टको अर्को श्रृंखलामा कुमार नगरकोटी र भूपेन्द्र खड्का

'त्यस्तो राम्रो गीत, कविता लेख्ने मान्छेले कस्तो नराम्रो काम सुरु गरेको!' 

गीतकार तथा कवि भूपेन्द्र खड्काले आफू प्रकाशक बनेको सुनाउँदा फिक्सन डिजाइनर कुमार नगरकोटीले प्रतिक्रिया दिए - 'प्रकाशक बन्नु त नराम्रो काम'। 

भूपेन्द्रको लागि जीवनको नयाँ मोड थियो प्रकाशन गृह थाल्नु। आफ्नो रचनाको पाण्डुलिपी बोकेर धेरै प्रकाशककोमा धाए। तर, छाप्न कोही तयार भएनन्। एक प्रकाशकले इच्छा व्यक्त त गरे तर किताब कहिले छाप्ने भनेनन्। 

'त्यही झोकमा आफै प्रकाशक बन्ने मुड आएको हो,' भूपेन्द्रले बुकहिल सुरु गर्नुको कारण सुनाए। उनले पहिलोपटक साइकलिस्ट पुष्कर शाहको ‘संसारलाई साढे पाँच फन्को’ छापे। र, पुस्तक उपहार दिन पुगे लेखक कुमार नगरकोटीकोमा। 

'भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो…' जस्तो धेरैले गुन्गुनाउने गीत लेखेका खड्कालाई त्यसै समय 'बचन लगाएका' थिए नगरकोटीले। 

साहित्यका विद्यार्थी भूपेन्द्र नगरकोटीका पाठक। उनलाई नगरकोटीले लगाएको बचनले चसक्क छोयो। 

'सरले त्यति भनिसक्दा ममा सकारात्मक उर्जा थपियो। किनकि त्यो कुमार दाइको मप्रतिको प्रेम थियो,' सुनाए। त्यसै भेटले भूपेन्द्र खड्का र कुमार नगरकोटी दुवैको दैनिकीलाई मोडिदियो। 

'दाइ तपाईंको दैनिक जीवन अब फरक बनाउनु पर्योा। उपन्यास लेख्नु न,' खड्काले आफ्नो आग्रहलाई स्मरण गरे। उनको कुरामा सहमति जनाउँदै कुमार नगरकोटीले कुरा उप्काए, 'उपन्यास लेख्न सुरु गरको नै बुकहिलका कारणले हो। म उपन्यास लेख्ने मान्छे थिइन र सायद लेख्दिन पनि थिएँ होला। सबै साहित्यकारहरु उपन्यासै लेखिरहेका छन्। म पनि के उपन्यास लेख्नु भन्ने थियो।'
शिक्षण पेशामा रहेका नगरकोटीले जागिर छाडे। उपन्यास लेख्ने निधो गरे। 

'लेख्ने तर कस्तो लेख्ने? मैले सधैं आफ्नो लेखमार्फत् के दिनेभन्दा पनि कसरी दिने भन्नेमा ध्यान दिन आवश्यक ठानें,' पहिलो उपन्यास सुरु गर्नुअघिको उनको सोच। 

उपन्यासमा नयाँ कन्टेन्ट साथै प्रस्तुतीमा पनि नयाँपन दिनुपर्छ भन्ने सोचेर 'मिस्टिका' डिजाइन गरे। २०७२ मा सार्वजनिक भयो। उपन्यासमा साच्चै फरक प्रयोग भयो। किताबको गुदी होस् या आवरण। जसमा उनले साहित्यिक समीक्षकहरुलाई उद्धृत गरेर लेखेका थिए, 'कुमार नगरकोटीको रचनाको समीक्षा गर्नुभन्दा आत्महत्याको बाटो रोज्नु मनासिब हो।' 

नगरकोटी सम्झन्छन्, 'चलिरहेको, मौलिक विषय उठान स्वीकार्य थिएन। विषय मात्र होइन आवरणदेखि पाना पनि फरक हुनुपर्छ भन्ने मेरो मान्यता। त्यो विविधता कन्टेन्टमा मैले दिएँ र प्रकाशककोतर्फबाट बुकहिलले पनि गर्छु भनेको काम गर्‍यो।' 

उनले त आफ्नो किताबमा फरक अत्तरको प्रयोग गर्न खोजेका थिए। बास्नाका लागि। 

'तर नपाइने रहेछ!' उनी आफै हाँसे।

कुमार नगरकोटीको मोक्षान्त: काठमाडौं फिभर, फोसिल, अक्षरगन्ज लगायतका कथा सङ्ग्रह सार्वजनिक थिए। उपन्यास मिस्टिका, घाटमाण्डु र अब संस्मरण प्रकाशन जिम्मा पायो बुकहिलले। 

भूपेन्द्र खुसी। भन्छन्, 'कुमार नगरकोटीको किताब जो पाए त्यहीले कहाँ छाप्न पाउँछ? हामी भाग्यमानी छौं आफ्नो उपन्यास लेखनको एक्सपेरिमेन्ट र हाम्रो नयाँ प्रकाशनको एक्सपेरिमेन्ट एकसाथ गर्नुभयो।' 

भूपेन्द्र खड्काले कुमार नगरकोटीको लेखन शैली फरक हुनु र उनको शैलीलाई सजिलै अरुले नपच्छ्याउनुले नै छोटो समयमा स्थापित भएको निश्कर्ष निकाल्न भ्याइहाले। खड्कालाई रोक्दै कुमारले भने, 'मेरो लेखन यात्रा छोटो छैन। २० वर्षदेखि लेख्दै आएको छु। प्रकाशन गर्न थालेको पो ७/८ वर्षमात्र भयो।'

उनले प्रकाशन अघिको आफ्नो लेखन यात्रालाई आत्मविश्वासको 'वार्म अप'का रुपमा लिन्छन्। 

भूपेन्द्र खड्काले यिनै फरक सोचका कुमार नगरकोटीको अन्तराष्ट्रिय स्तरको साहित्य, लेख, रचनालाई व्यवस्थित गर्न खोजेका थिए। चाहे त्यो व्यवस्थापन कलेबरको होस् वा बजारको। खड्काले देखेको नगरकोटीको लेखको उचाइलाई पाठक समक्ष सुन्दर तरिकामा प्रस्तुत गर्न चाहन्थे। र, उनी केही हदसम्म सफल ठहरिए। उनको सफलता पुष्टि गर्छ बीस हजार कपी बिक्री भएको 'मिस्टिका'ले। जसको लागि उनले रिस्क लिए। रिस्कमा खड्का एक्लो भने थिएनन्। आर्थिक रिस्क र नगरकोटीको एक्पेरिमेन्टल शैलीलाई सीमित पाठक हुनुको बाबजुद उभ्याउने रिस्क। भूपेन्द्र भन्छन्, 'रिस्क बिना त केही नि हुँदैन नि। प्रकाशक बन्नुमा पनि त रिस्क नै थियो। त्यो रिस्क नलिएको भए सायद मिस्टिका जन्मदैन थियो।' 

उनको कुरामा समर्थन जनाउँदै नगरकोटी बोल्छन्, 'मेरो लेखनी आम नेपाली साहित्य पाठकमा 'युज्ड टू' थिएन। न त फ्यान फलोअर्स नै थिए। किताब बिक्री नभए पनि नयाँ पाठक जन्माउँछ भन्ने आत्मविश्वास थियो।' 

रिस्कबीच उनी घृणा वा प्रेम जे पाए पनि स्वीकार्न तयार थिए। लेखमा फ्यान्टासीको प्रयोग। त्यसमाथि अनेकौं पेन्टर, फिलोसोफर, अध्यात्मिक गुरु, लेखक बारे रिफ्रेन्स। 
'मेरो उद्देश्य नै त्यही थियो। नेपाली पाठक अन्तराष्ट्रिय कला, कलाकार, लेख, रचना र फिल्महरु खोजुन्। संसारमा यति सुन्दर सिर्जनाहरु भएका छन् भन्ने थाहा पाउन्। र आनन्द लिउन्।' 

'आनन्द'लाई उनले प्राय केन्द्रमा राखेको बताउँछन्। काममा पनि उनी आनन्दको खोजी गर्छन्। भन्छन्, 'लेखकलाई लेख्दा आनन्द होस्, प्रकाशकलाई किताब छाप्दा र पाठकलाई पढ्दा।' 

सँगै बसेर कफीको पिइरहेका भूपेन्द्रलाई हेर्छन् र भन्छन्, 'उसँगको काममा आनन्द पाउँछु। हामी प्रकाशक र लेखक भएर होइन। साथी बनेर काम गर्छौं।' 

भूपेन्द्र पनि थप्छन्, 'त्यसैले तीन वर्षमा तीन पुस्तक प्रकाशनमा पनि साथै छौं। मिस्टिकादेखि दोचासम्ममा नगरकोटीको पुस्तकले बुकहिलको ब्रान्डिङमा सहयोग पुर्याएको छ।' 

कुमार नगरकोटीले देखेको विश्व्यापी ट्रेण्ड नयाँ लेखकले प्रकाशक पाउन गाह्रो छ। जसरी भूपेन्द्रले पाएनन् र आफै प्रकाशक बने। भन्छन्, 'नेपालमा मात्र होइन  संसारभर प्रकाशकले नयाँ लेखकलाई पत्याउन गाह्रो छ। त्यसैले कन्टेन्ट नै विश्वास दिलाउन लायक हुनुपर्छ। नयाँलाई प्रकाशकले किन र कसरी फ्याट्ट विश्वास गर्ने? आखिर उनीहरुको त व्यवसाय हो। लगानी गरेका हुन्छन्। त्यो विश्वास जित्न  लेखकमा प्यासियन्स र प्यासन हुनुपर्छ।' 

भूपेन्द्रले पनि प्रकाशक भएपछि यो कुरा बुझे सायद। भने, 'हामी त नयाँ लेखकहरुकै काम गरिरहेका छौं। २, ३ जनाको टिमले पाण्डुलिपी पढ्छौं। यसलाई कतिसम्म बनाउन सकिन्छ भनेर हेर्छौ। साहित्यिक हिसाबले कति गुणवत्त छ र बजारको हिसाबले कुन तरिकामा प्रस्तुत गर्न सकिन्छ हेर्छौं। र त्यही अनुसार डिसिजन लिन्छौं।' 


घुम्टो खोल्दै दोचा

भोलि शनिबार कुमार नगरकोटीको नयाँ पुस्तक 'दोचा' विमोचन हुँदैछ। दोचा संस्मरण हो। 'डायरीको फर्ममा लेखेको छु। मिति र समय उल्लेख भएका मात्र डायरी लेखन हुन्न भन्ने देखाउन यो पुस्तकमा पनि नयाँ प्रयोग गरेको छु। संस्मरण लेखनमा पनि नयाँ प्रयोग।' 

कथा धेरै छन्। हरेकको जीवनमा। त्यो कथा भन्ने तरिकाले असर गर्छ। नगरकोटीले आफ्नो जीवनको कथालाई फरक ढङ्गले भन्ने प्रयास गरे। 
'दोचामा मैले भोगेका अवस्था र मैले भेटेका मान्छेहरु बारेको कथा चरा, घडीले न्यारेट गर्छन्', उनी जारी रहे, 'मेरो प्राचिन इतिहासददेखि हालसम्मका सम्बन्धहरु चाहे त्यो सम्बन्ध प्रेमिकाहरुसँगको होस्, पत्नीसँगको, छोराहरुसँगको साथीभाइ वा वस्तुहरुसँगको। सबैसँगको सम्बन्धको कथा वाचनमा एक्सपेरिमेन्टल गरेको छु।' 

उनलाई एक्सपेरिमेन्ट फेल हुने डर भने रत्तिभर छैन। भन्छन्, 'खत्तम भन्लान् भन्ने तिर ध्यान जाँदैन पाठकलाई आनन्द आओस् भन्ने मात्र हुन्छ। आएन भने पनि ठीकै छ। राम्रो लागोस् ठीकै छ नलागोस् त्यो पनि ठीकै।' 

उनले कूल भएर राखेको आफ्नो कुराको अन्त्यमा थपे, 'म पाठकबाट आश राख्दिन।' 

उनको कुरालाई रोक्दै खड्काले भने, 'दाइले पाठकबाट आश नगरे पनि पाठकले कुमार नगरकोटीबाट आश गर्छन् नि।' 

भूपेन्द्रका लागि कुमार नगरकोटीको हरेक लेख एक्सपेरिमेन्टसँगै एक्सपेक्टेसन पनि हुन्। विश्वास सहित थप्छन्, 'किताबले साहित्य सर्जक र पाठक सबैलाई केही न केही दिनुपर्छ र दोचाले पनि दिन्छ।'

खड्काको कुरामा समर्थन जनाएका हुन् वा असमर्थ नै रहेर ओठमा चुरोट च्याप्दै नगरकोटी बोले, 'अबको समय मेरो किताब यति हजारले पढ्छन् भनेर गन्नुभन्दा पनि मेरो किताबले यति नयाँ पाठक जन्मायो भन्नुले महत्व राख्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell