काठमाडौं : अचानक मदनकृष्ण श्रेष्ठको दाहिने खुट्टा अररो हुन थालेको थियो। तर, पनि सामान्य शारीरिक अफ्ठ्यारोले गर्दा होला भन्ने थियो उनलाई। तर, समस्या दाहिने हात हुँदै बिस्तारै शरीरको दाहिने हरतिरै सर्यो। पूरै अररो हुने गरी चलाउन अप्ठ्यारो हुने भयो। हात, खुट्टा, मुख हल्लाएर र बङ्गाएर अभिनयमा फरक फरक पात्रहरुको भूमिका निर्वाह गरेका मदनकृष्णमा पार्किन्सन देखियो। तब शरीर बिस्तारै यताउता गर्नबाहेक चलाउन सम्भव रहेन। आठ वर्षदेखि पार्किन्सनको समस्या भोगिरहेका श्रेष्ठको तीन वर्षयता भने मस्तिष्कमा पेसमेकर राखिएको छ।
प्रविधिकै कारण संसारभरका दर्शक, श्रोताले चिनेको मदनकृष्ण श्रेष्ठ अहिले प्रविधिकै सहायतामा स्वस्थ जस्तै जीवन बाँचिरहेका छन्। मस्तिष्कमा राखिएको 'डिपिएस' नामक पेसमेकरबारे सायद उनले आफ्नो आत्मकथा 'महको म'मा पनि उल्लेख गर्लान्। यो प्रविधिले दिमागमा बाह्य संदेश प्रवाह गर्छ। मस्तिष्कमा राखेको उक्त मेसिनको ब्याट्रीले श्रेष्ठको लागि अझै सात वर्ष काम गर्नेछ।
मह जोडीको म। उनले दर्शक, स्रोता हसाउँदै जीवनका विभिन्न आयामहरु भोगे। दर्शक हसाउँने यी महको मको जीवनमा भने पक्कै हाँसोमात्र रहेन। उनी पिडामा हुन्थे भने पनि कसरी थाहा पाउनु? दर्शकका लागि त उनी सधैं मदन बहादुर रहे। लालपूर्जा टेलिफिल्मको छट्टु मोही रहे। ती पात्रलाई सम्झेर अझै दर्शक हाँस्छन्।
आफ्नो शारीरिक समस्या जीवनको एउटा पाटो रह्यो भने पत्नी यशोदाको क्यान्सर अर्को पाटो। ३७ वर्षदेखि जीवनमा जोडिएका हरिवंश आचार्यसँगको भेट र सम्बन्धको पाटो। अभिनय, कलाकारिता र अन्य थुप्रै पाटाहरु! आफूले बाँचेको यस्तै यस्तै अवस्थाहरुलाई उनले किताबमा उतार्ने प्रयत्न गरेका छन्।
आफ्नो आत्मकथामा जीवनका साना साना पाटोहरुको गहिरो कथा रहेको बताए। मदनकृष्ण श्रेष्ठले भने, 'आत्मकथा त ठूला विद्वानहरुले लेख्ने हो जस्तो लाग्थ्यो। त्यस्तो होइन रहेछ। मेरा धेरै दर्शक छन्। शुभचिन्तक छन्। जसलाई मेरो आत्मकथाले मसँग अझै नजिक ल्याउन सक्छ। फिल्म, प्रहसन र टेलिश्रृङ्खलामा मेरो फरक रुप देख्नु भएका स्रोताले यथार्थको मदनकृष्ण श्रेष्ठलाई पनि पढ्न पाउनु हुन्छ।'
मदनकृष्ण श्रेष्ठ दर्शक श्रोतासँग जोडिएको लामो समय भयो। उपत्यकामा नेवार भाषाको सामुदायिक कार्यक्रमहरुमा नेवार भाषाको गीत गाएर चर्चा बटुलेका उनले रेडियो नेपालमा भ्वाइस टेस्ट गराए। २०२२ सालदेखि उनले नेपाली भाषामा पनि गाउन थाले। भने, 'आफ्नो गीत बज्छ भनेर मख्ख पर्दै भन्नु र कुरेर गीत सुन्नुको मज्जा बेग्लै थियो।'
औपचारिक रुपमा संगीत नपढेका उनलाई आज पनि नेवार समुदायमा पाकाहरुले अभिनेता कम गायकको रुपमा बढी चिन्छन्।
'अचम्म त के भने मैले नेवार भाषा घरमा होइन बाहिर साथीहरुसँग सिकेको थिएँ ठूलो भएपछि,' विगत कोट्याउँदा उनी केही वर्ष अगाडि पुगे। त्यस समयको रेडियो नेपालमा गायन क्रेजबारे उनले केही सेयर गरे। उनको अभिनय यात्रा संगीतसँगै जोडिएको छ। गायन सँगसँगै उनले प्रहसन सुरु गरे। किनकि उनको स्वरको भर्स्याटालिटीलाई केही कलाकारले नजिकबाट देखेका थिए।
प्रहसनकै कारण त जोडिए हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ। उमेरले आचार्य मदनभन्दा साढे सात वर्ष कान्छा। सायद सोचेका थिएनन् उनकै जोडी बनेर कलाकारिताको उचाइमा पुग्छन् भन्ने। दर्शकले एकसाथ मन पराइदिएपछि न उमेरले छेक्यो न अभिनयको अनुभवले। २०३७ सालमा एकसाथ देखिएका थिए। मिलेर हसाउन सम्भव देखेपछि एकसाथ प्रहसन थाले। २०३७ सालदेखि २०७४ सम्म। झण्डै ४ दशक। छोटो समयको यात्रा होइन र अझै कतिन्जेल निरन्तर चलिरहन्छ पनि भन्न सकिन्न। रङ्गमञ्चले नजोडेको भए मदनकृष्ण श्रेष्ठ हुन्थे। हरिवंश आचार्य हुन्थे। तर मह जोडी हुँदैन थियो।
मह जोडी एउटा उचाइमा छ कलाकारिताको हिसाबले। अनुभवको हिसाबले। र, सामाजिक कार्यमा पुर्याएको योगदानको हिसाबले। दर्शक, स्रोताको माया र साथ पाएका छन्।
‘तर, दर्शकले दिएको मायाका कारण जो जति माथि पुगे पनि त्यो मान्छेमा अहम् हुनुहुन्न,‘ मदनकृष्ण श्रेष्ठको जीवनको निचोड यही हो।
हरिवंशको चिना हरायो त के भयो? उनको भाग्यले मदनकृष्ण श्रेष्ठजस्तो सहयात्री भेटायो। यी दुवै एकअर्काले बाँचिरहेको आधा जीवनको साक्षी। सफलता, लोकप्रियता, संघर्ष जे छन्- एकअर्कासँग जोडिएका छन्। तर अहम् छैन। दुवैमा महम् को भावना छ। मदनकृष्णको ‘म’ र हरिवंशको ‘ह’ले महम् को भाव सिर्जना गरिदियो। त्यसैले यो जोडी मह जस्तै मिठो जोडी बनेको छ।
अभिनय मात्र होइन् लेखनमा पनि सक्रिय रहेका दुवै पात्रले आफ्नो जीवनको आयामहरुलाई पनि शब्दमा उतारेका छन्।
'विषयवस्तुको अध्ययन र कथा लेखन नै हाम्रो फिल्म, टेलिश्रृङ्खलाहरुले आजसम्म सान्दर्भिक रहनु र असान्दर्भिक लाग्ने फिल्म हेर्दा पनि एक किसिमको मज्जा आउनुको कारण हो,' जोडीले मिलेर लेखनमा गर्ने मिहेनत बारे बताए।
हरिवंश आचार्यको पहिलो आत्मकथा 'चिना हराएको मान्छे' २०१३ मा सार्वजनिक भएको थियो भने र दोस्रो पुस्तक 'हरिबहादुर' २०१७ मा सार्वजनिक भएको छ। त्यस्तै मदनकृष्ण श्रेष्ठले गत फागुनमा आफूले टेलिश्रृङ्खलाको लागि लेखेको स्क्रिप्टलाई किताबमा रुपान्तरण गर्दै 'साझा पृथ्वी' सार्वजनिक गरेका थिए भने उनको दोस्रो पुस्तक 'महको म' यही मङ्गलबार सार्वजनिक हुँदैछ।
मदनकृष्ण श्रेष्ठको किताब बारे हरिवंशले भनेका थिए, 'महको (म) मदन दाइ हो। (ह) म हुँ। त्यसैले दाइको पुस्तक मेरो पनि पुस्तक हो। मेरो पनि कथा हो।'
मदन थप्छन्, 'किताबको आयु लामो हुन्छ। हामीले बाँचेको अवस्थाहरुको याद जस्तै लामो।'
हास्य कलाकारितामा हरिवंश मात्र होइनन् अन्य धेरै कलाकार छन् जसले मदनकृष्ण श्रेष्ठलाई उत्तिकै सम्मान गर्छन्। मदनकृष्ण श्रेष्ठ पनि व्यक्ति वा गुट विशेष नभइ हास्य कलाकारितालाई मनोरञ्जन र संदेश प्रवाहको एउटा सिङ्गो माध्यम मान्छन्। भड्किलो हास्य कलाकारिता बारे उनको धारणा बारे सोध्दा सरल प्रस्तुत हुन्छन्, 'हँसाउनको कारण र नियम हुनु पर्दैन। जसरी हुन्छ मान्छे हाँसे पुग्दैन र? कलाकारले मुख बङ्गाएर हसाओस् वा उखान टुक्का सुनाएर।'
उनले एउटा रमाइलो प्रसङ्ग सुनाए- एक जापानीसँग मदनकृष्ण श्रेष्ठको भेट भयो। जापनिज नागरिकलाई कसैले भन्यो, 'उहाँ एकदम सम्मानित कलाकार हो। ठूलो भीडलाई हसाउनुहुन्छ। व्यङ्ग्य गर्नुहुन्छ।'
जापानीले फेरि सोध्यो, 'कस्तो विषयहरुमा व्यङ्ग्य गरेर हसाउने जोडी हो?'
जवाफ थियो, 'सामाजिक राजनीतिक।'
जापानीले निकै सामान्य तरिकाले भन्यो, 'हाम्रो देशमा पनि ६०/७० वर्ष अघि राजनीतिक व्यङ्ग्य गरेर हाँस्नु पर्ने अवस्था थियो। अहिले त हाँस्न पाए पुग्छ।'
उनको कुराले मदनकृष्ण श्रेष्ठ छक्क परे। उनी अहिले पनि आशा गर्छन्- हाम्रो देशमा पनि राजनीति र राजनीतिज्ञलाई जिस्काउन नपर्ने अवस्था कहिले आउँला? भन्छन्, 'नेपालको अवस्था ३० वर्ष अघिको प्रहसनमा व्यङ्ग्य गर्दा पनि उस्तै थियो अहिले पनि। त्यो समय १०० जना भ्रष्ट थिए भने अहिले १००० जना। त्यसैले पनि हास्यव्यङ्ग्यबाट राजनीतिक विषयबस्तु पfर गर्न सकेका छैनौं।'
हास्यव्यङ्ग्यको अभिभावक मदनकृष्ण आफू रोएर पनि हँसाउन छोडेनन्। श्रीमती यशोदालाई क्यान्सर भएको थाहा पाउँदा होस् वा हरेक पटक किमो थेरापी गराउँदा- उनी जिम्मेवार पति ठहरिए। सँगै दर्शकले आश गरेको कलाकारलाई पनि निस्क्रिय बनाएनन्। दिनमा औषधीको ४ गोली निलेर पनि उनी महको म बनिरहे।
वीरगञ्ज गएर टाँगा चड्दा रमाउने अवस्थामा जोडिएको महको साथ। पहिलोपटक विदेशमा हङकङ पुग्ने भयो सन् १९८७ मा। नोस्टालजियाले त उनलाई उत्साही पो बनायो। रौसिँदै सुनाए, 'सन् १९९० म हरिवंश र म कलाकारको रुपमा पहिलोपटक अमेरिका समेत पुग्यौं। हामी अमेरिका गएको खबर समाचार पो बन्यो। फर्कदा त एयरपोर्टमा दुबोको माला लगाएर हाम्रो स्वागत गरियो।'
कलाकार विदेश जाँदा समाचार बन्ने त्यो युग र कलाकार कला क्षेत्रमा टिक्न र बिक्न विदेशको स्टेज चाहिने यो युग- दुवैलाई निकै नजिकबाट नियालेका छन् उनले। भन्छन्, 'मेरो आत्मकथामा मैले भोगेको यस्तै फरक समयहरुको अनुभूति त संगालेको छु नि।'
उनले धेरै भोगे। अनुभव संगाले। सम्मान पाए। साथ पाए। तर, पनि श्रेष्ठमा अहम् होइन महमको भाव छ। महम बन्न हरिवंश छन्। र, त उनी पूर्ण छन्।