PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

फिल्म समीक्षा ‘दुई रुपैयाँ’ : हास्य संवादको बलले टिकाएको फिल्म



गोविन्दराज नेपाल

फिल्म समीक्षा ‘दुई रुपैयाँ’ : हास्य संवादको बलले टिकाएको फिल्म

फिल्मको नाम वरपर नै घुमेको फिल्म हो 'दुई रुपैयाँ'। कथादेखि निर्देशन पक्षसम्मले नामैलाई पुष्टि गराउन मेहनत गरेको प्रष्ट हुन्छ। किनकि फिल्ममा हराएको दुई रुपैयाँ खोज्न हुने संघर्षबाहेक अरु कुनै प्लट छैन। 

जुरेली (निश्चल बस्नेत) र दाह्री (आसिफ शाह) पैसा कमाउने होडमा दुई नम्बरी धन्दा गर्ने बोस (टीका पहारी)कोमा पुग्छन्। उनीहरुलाई भारतबाट आयात हुने अवैध सुनका लागि पठाइन्छ। साथमा दिइएको हुन्छ 'दुई रुपैयाँ'को नोट जसको नम्बर भारतीय दलाललाई दिइएको नम्बरसँग मिलेपछि मात्र उनीहरुले उक्त अवैध माल पाउँछन्। नोट हराएपछि उनीहरु समस्यामा पर्छन्। किनकि बोसले भनेको छ 'वन मिस गेम फिनिस'। बोसको सजायबाट बच्न पैसाको खोजीमा भौतारिएका दुई युवकको दैनिकीमा सिर्जना हुने अवस्थाहरु फिल्मको मुख्य विषय हो। 

चीनबाट आयात भएको सुन भारतमा निर्यात भइरहेको तथ्य समाचारमा पटक पटक आउँछ। तर फिल्ममा भने उल्टो छ- भारतबाट सुन तस्करी गरी नेपाल ल्याइन्छ। 

मूल कथाबाहेक माया (मेनुका प्रधान) र दाह्री बीचको सम्बन्धलाई पनि फरक कथा बनाएर ठाउँ दिइएको छ। जुन प्लट निकै नाटकीय लाग्छ। सुरुमा दुई बीच शारिरीक आकर्षण मात्र भए जस्तो भान हुन्छ। संवादको सहायताले जब माया र दाह्री बीच प्रेम सम्बन्ध नै भएको पुष्टि हुन्छ, तब देखाइएको दृश्य र भनिएको कथा मेल खाँदैनन्। दर्शकको सेन्टिमेन्ट तानिन्छ कि भन्ने हेतुले माया पात्रको बुवाको कथा र प्रेमकथा जबरजस्ति राखिएको छ। मसला मिसाउने धुनमा राखिएको प्लट निकै कमजोर छ।

एउटा छोटो कथालाई तन्काएर दुई घण्टा लामो फिल्म बनाइएको छ। पर्दा अगाडि रहुन्जेल दर्शकलाई पट्यार भने लाग्दैन। किनकी डार्क कमेडी जनराको यो फिल्ममा प्रयोग संवादले दर्शकलाई हँसाई हँसाई फिल्ममा इन्गेज गराउँछ। भलै दर्शकलाई घटनाहरुमा विश्वास भने लाग्दैन। दुई नम्बरी धन्दा र गुण्डाहरुलाई त्यति हल्का रुपमा प्रस्तुत गर्नुले न त- अब दुई मुख्य पात्रलाई केही गर्लान् भन्ने डर दर्शकमा पैदा हुन्छ। न त- तराई क्षेत्रमा हुने अवैध क्रियाकलाप बारे दर्शक जानकार बन्छन्। पैसा कमाउने युवाकाे सपना र यथार्थमा हुने दुई नम्बरी गतिविधिका पात्रहरुलाई जोडेर घटनाको सजीव चित्रण गर्न निर्देशक चुके। 

कथाको सुरुवातमा मोबाइल हराएको कुरालाई फोकस गरिन्छ र त्यसलाई जोडिन्छ अर्को घटनामा फोन सम्पर्क नहुनुसँग। जुरेली पात्रको सेल्फी क्रेजले समसामयिक विषयसँग पात्रलाई जोड्छ। होटलकी साहुनीसँग देखाइएको अल्लारेको सम्बन्ध। एम्बुलेन्स चालक मण्डले (रविन्द्र झा)ले बिरामी लगे बापत् पाउने कमिसनको लागि हस्पिटलसँग गर्ने बार्गेनिङ। सानो सानो कुरा देखाउनमा निर्देशक सचेत रहेका छन्। तर न ट्विस्ट न टर्न। नोट कहाँ गयो होला भन्ने प्रश्न मात्र उब्जाइन्छ। 

एउटा छोटो कथालाई तन्काएर दुई घण्टा लामो फिल्म बनाइएको छ तर पर्दा अगाडि रहुन्जेल दर्शकलाई पट्यार भने लाग्दैन। किनकी डार्क कमेडी जनराको यो फिल्ममा प्रयोग संवादले दर्शकलाई हँसाई हँसाई फिल्ममा इन्गेज गराउँछ।

***

खासमा नोटमा रहेको नम्बर एसएमएस गर्दा पुग्ने हुन्छ। तर नोटको नम्बर देखिने गरी सेल्फी खिचेको हुँदाहुँदै पनि नम्बरले नपुगेर नोटै किन चाहिने हो, त्यसको चित्तबुझ्दो जवाफ देखाइएको छैन। 

झिम्रिक दादा (राजन इशान) जसलाई झुक्याउन, फुर्क्याउन सजिलो छ। त्यो पात्रसँग ठूलै तस्करीमा लागेका जुरेली र दाह्री तर्सन्छन् तर उनीहरुले नै तर्साउँदा, धम्क्याउँदा मायाको फुच्चे छोरो तर्संदैन। कथाको अन्त्यमा दुई रुपैयाँ त्यही बच्चाले लुकाएको देखाएर पटकथा कच्चा साबित गरिएको छ। बच्चाले बोल्ने डायलगले दर्शक हाँस्लान् तर हँसाउनुभन्दा पनि सस्पेन्स जारी राख्दिनुले बरु 'पैसा कहाँ गयो होला' भन्ने प्रश्नसहित दर्शक बाँधिन्थे होला। अर्को कृत्रिम लाग्ने दृश्य हो भारतीय गुण्डा पक्षका (विरासत बस्नेत), झिम्रिक दादाको टोली र बोसको टोलीलाई एकै ठाउँमा फाइट गराउनु। यो दृश्य कथा सकाउन गरिएको हतार हो। इन्टरभल पछाडि उपलब्धि बिना दृश्यहरुलाई लम्बेतान बनाउनुको सट्टा अन्तिम प्लटलाई त्यति हल्का नबनाइएको भए हुन्थ्यो।

फिल्मलाई चर्चामा ल्याउन 'कुटुमा कुटु' गीतले धेरै सघायो। युट्युबमा दुई करोड पटकभन्दा बढी हेरिसकिएको यो गीत हलमा ठूलो पर्दामा हेर्नुबाहेक नयाँ केही छैन। दर्शकको दिमागमा यति गहिरोसँग बसिसकेको गीत र दृश्यको लिङ्क फिल्ममा गीतमै देखाइएको दृश्यभन्दा थप केही छैन।   

अभिनयमा नायक पात्रहरुभन्दा खलनायक पात्रहरु विरासत बस्नेत, राजन इशान, प्रतिकराज पाण्डे, टीका पहारी लगायतले आफ्नो भूमिकालाई न्याय गरेका छन्। बुद्धि तामाङ (बमबहादुर तामाङ) र मण्डले (रवीन्द्र झा) उत्कृष्ट लाग्छन्। मेनका प्रधानको रोल फिल्ममा उति आवश्यक नभएपनि उनको अभिनय राम्रो छ। 

समग्रमा फिल्म मनोरञ्जन मात्र हो। मनोरञ्जन दिन सफल छन् फिल्मका कलाकार, संगीतकार र संवाद लेखक। कथामा त चुकेकै हो। सर्ट फिल्म बनाउन योग्य छोटो कथा तन्काएर फिचर गर्ने प्रयासले कथा प्रस्तुति कमजोर बनाएको छ। द्विअर्थी संवाद प्रयोग गरी भद्दा मजाक गर्नबाट जोगिएको छ फिल्म। संवादमा गरिएको हास्यरसको भरपुर प्रयोगले भने फिल्म हेरुन्जेल दर्शकलाई बोर भने गर्दैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell