PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

हैट ! यस्तालाई पनि अस्पताल भन्नुपर्ने?



स्वेच्छा राउत

हैट ! यस्तालाई पनि अस्पताल भन्नुपर्ने?

काठमाडौं : 'तिमीले फरकखाले पनि रिपोर्टिङ गर्नुपर्छ,' कफी खान साइत जुरेको दिन कवि तथा गीतकार विप्लव प्रतीकले भने, 'जनतासँग जोडिएका साना तर महत्वपूर्ण विषयमा पनि कलम चलाउ न।' 

आफ्नो विधाबाट बाहिर निस्कन पूर्व पत्रकारसमेत रहेका कविले भनेपछि सोच्न जोसुकै बाध्य हुन्थ्यो। मौनतालाई देखेपछि उनैले सुझाए, 'यहाँका अस्पताल एकपटक हेर त। के ती अस्पताल भन्न सुहाउने छन्?' पूरै अफ ट्र्याक। चुनौति झै लाग्यो र बुझ्ने रहर पनि – अस्पताल अस्पताल झै नभए के जस्तो लाग्छ त? 

गाँठो फुकाउँदै गए उनले। केही अघि गायिका आनी छोइङ डोमालाई विसञ्चो भयो। उपचार गराउन गइन निदान अस्पताल। भेट्न पुगेका रहेछन् कवि प्रतीक। त्यहाँको हालत देखेर उदेक लागेछ। नहोस् पनि कसरी? 'निजी अस्पतालकै हालत त त्यस्तो छ भने सरकारीको के होला?,' उनलाई त्यसैले सतायो। अफ दी बिटमा जान उत्प्रेरणा पनि। 

'बिरामीसँग महङ्गो रकम लिने अस्पतालले पनि लापरवाही गरेको प्रष्ट देखिन्छ,' उनले सेयर गरे, 'चार फरक किसिमका फोहोर फाल्न आइसियु भित्रै डस्टबिन त छन्। तर ती डस्टबिनको फोहोर छोपिएको छैन। त्यसकै दुर्गन्ध फैलिएको छ।' 

स्वभाविक प्रश्न उठ्यो त्यो गन्धले विरामीलाई कस्तो गर्ला? 'क्याबिनको नाममा पार्टेसन गरेर सानो कोठा बनाएको देखेँ। तर एउटा कोठाको बिरामी कराएको, रोएको अर्कोमा पूरै सुनिने। त्यस्तो आवाजले त बिरामीलाई झन् मानसिक तनाव कति दिन्छ होला?,' उनको प्रश्न।

प्रतीकको प्रेरणाले लागेँ त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पितालतिर। धेरै विरामीलाई निम्त्याउने र उपचार गरेर पठाउने सम्भवत सबैभन्दा ठूलो केन्द् हो यो। एकाएक आकस्मिक कक्षतिर हानिएँ। त्यहाँको दृश्य विप्लवले भनेभन्दा चौपट थियो। 

भेटिइन् धादिङकी दिलकुमारी राना मगर। मुटु सुन्निएर सास बढेपछि छोरा रामकृष्णले यहाँ ल्याएका रहेछन्। उनको ढुकढुकी सामान्य डाक्टरले औषधी दिए। उनीसँगैको अर्को बेडमा भेटिए कारागारबाट ल्याइएका अर्का बिरामी। बेहोसिमै बोलिरहेका। सुरक्षाकर्मी लखतरान विरामीको सुरक्षाका लागि भित्रै तैनाथ थिए। चट्पटाउला भनेर कैदी बिरामीको हात बेडको डण्डीमा ब्यान्डेजले बाँधिएको रहेछ। उनका पाइन्ट भिजेका थिए, चौपट्ट दुर्गन्ध फैलिरहेको थियो। 

यस्तै अरु पनि असरल्ल। हरेक बेडै पिच्छे ३ वा त्योभन्दा बढी कुरुवा पनि। 

'इमरजेन्सीमा राख्दा चाँडो उपचार हुन्छ भनेर वार्डमा नलगेको। तर अर्को रोग पो सर्लाजस्तो भयो त,' आमा कुरिरहेका रामकृष्ण मगरले भने, 'अरुतिरभन्दा कम खर्च हुने भएर यहाँ आएको।'

मुटु रोग विशेषज्ञ डाक्टर मिलन प्रकाश श्रेष्ठले मुटु सुन्निने रोगबारे ब्रिफ पनि गरे। 'खानेकुरामा पौष्टिकता नपुग्दा र अस्वस्थ वातावरणमा श्वास लिँदा बिरामीलाई धेरै नै असर गर्छ,' उनले भने। विरक्त लाग्दो त यही थियो – स्वस्थ हुनुपर्ने ठाउँ आफैँ विरामी झै लाग्थ्यो।

 सिन्धलीबाट काठमाडौं रिफर गरिएको छोरो लिएर शान्ता राउत पनि यही भेटिइन्। ज्वोरोले शान्ताका छोरा आँखा हेर्न र शरीर अड्याउन सक्ने अवस्थामा थिएनन्। इमरजेन्सी कक्षमै पल्टिएका उनी बेडमा एक्लो भने थिएनन्। उनीसँगै थिए नुवाकोटकी प्रतीक्षा र नारनथानकी सोनिया राई। एक बिरामी सुत्दा अर्को दुईजना उठ्नु पर्ने। पेट दुखेर छट्पट्याई रहेकी सोनिया ठाडो बस्न नसकेर पल्टिन ठाउँ खोज्दै थिइन्। मतलब एक बेड – तीन विरामी! देश जस्तो अस्पताल त्यस्तै।

अब निजी कस्तो होला त? प्रश्न उठिहाल्यो। सरकारी अस्पतालमा जस्तो एउटै बेडमा ३/४ बिरामी भेटिएनन्। तर क्याबिनका नाममा साँघुरा पार्टेसन काफी छ नाम बदनाम गर्न। एउटै कोठामा सिसा वा युपिभिसीको पार्टेसन गरेर जति धेरै क्याबिन बनायो उति धेरै ग्राहक। जब विरामीलाई ग्राहक मानिन्छ अनुमान गर्नुस् अस्पतालमा के हुन्छ? 

निजी अस्पतालका बेड चार्ज एक हजार रुपैयाँदेखि पाँच हजारसम्म छन्। उदाहरणका लागि निदान अस्पतालमा सबैभन्दा व्यवस्थित क्याबिन (डिलक्स)को पाँच हजार रहेको छ। जसमा एक बिरामी रहन्छन्। कुरुवाको लागि पनि बेड र अट्याच बाथरुमको व्यवस्था छ। त्यस्तै भौतिक व्यवस्था सहितको चार हजार र तीन हजारको पनि क्याविन रहेका छन्। सबै क्याबिनको फि फरक भए पनि सेवा भने खासै फरक हुँदैन। कुरुवाको सुविधाअनुसार चार्ज थपिन्छ।

स्पेसियल वार्ड र जनरल वार्डमा चाहिं के फरक छ त? 

जवाफ हो, 'पर्टेसन गरिएको फरक रुम छ। बिरामी कुरुवाको लागि पनि ठाउँ छ।' 

तर, जति पार्टेसन गरे पनि हल्लाखल्ला सबैले सुन्छन्। 

निदान अस्पलातको गुनासो शाखाले अस्तव्यस्तता रहेको सहजै स्वीकार गर्यो। 'यस्ता गुनासो कम आउँछन् त्यसैले ध्यान नगएको हो। अब प्रशासनसँग कुरा गरेर व्यवस्थित गर्छौं,' जवाफ मिल्यो। 

ललितपुरको अल्का अस्पतालको जेनेरल वार्ड र क्याबिन पनि उस्तै अस्तव्यस्त। बिरामीको चाप रहने यो निजी अस्पतालमा पनि क्याबिनहरु पार्टेसन गरेर सानो बक्सा जस्तो कोठाहरुमा बनाइएको छ। जसमा हल्ला र दुर्गन्धलाई केहीले छेक्न सक्दैन। अल्कामा बेड चार्ज दिनको नौ सय रुपैयाँबाट सुरु हुन्छ। व्यवस्था र सुविधा अनुसार नौ सय, बाह्र सय र पन्ध्र सय बेड चार्ड छन्। क्यबिनको भने बेडको सङ्ख्या अनुसार २२ सय देखि २८ सयसम्म रहेको पाइयो। 

कुपण्डोलको सर्वाङ्ग अस्पतालमा फोक्सोको समस्याका कारण भर्ना भएका शरण तण्डुकारले अव्यवस्थाको कथा नै सुनाए। शुल्कअनुसार सेवा नभएको उनको गुनासो। 

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईंका अनुसार काठमाडौंमा खुलेका निजी अस्पतालहरु उपभोक्ता जति भन्यो त्यति शुल्क तिर्न बाध्य छन्। भन्छन्, 'स्वास्थ्य मन्त्रालयले चिकित्सकको शुल्क तोके पनि अस्पतालमा दिइने अन्य सेवाहरुको शुल्क तोकिदिएको छैन। त्यसैले निजी अस्पतालले जसरी मन लाग्छ त्यसरी नै रकम उठाउने गरेका छन्। यस बारे उपभोक्तालाई थाहा हुँदैन र उपचार गरेपछि तिर्नुपर्छ भन्ने भएर जति पनि तिर्छन्।'

उनका अनुसार स्वास्थ्य मन्त्रालयले अस्पतालको स्तर र क्षमता अनुसार सेवा शुल्क तोक्नु पर्ने हो। तर नेपालको अस्पतालहरुको हकमा त्यस्तो भएको छैन। 

अस्पतालको वातावरणले नै विरामी छिटो वा ढिलो तगडा हुनसक्छ। चिकित्सक नै स्वीकार्छन्। मनोरोग विशेषज्ञ डाक्टर सञ्जीव गौतम भन्छन्, 'हस्पिटलको चाप र हल्लाले बिरामीको मानसिक स्थितिमा पक्कै असर गर्छ। झन् नेपालका प्राय हस्पिटलमा हुने दुर्गन्धको समस्याले मानसिक मात्र नभएर स्वास्थ्य अवस्थालाई झनै कमजोर बनाउँछ।' 

उनका अनुसार अस्पतालमा हुने अस्तव्यस्तताका कारण बिरामीको मनोविज्ञान र स्थितिमा दीर्घकालीन असर नगरेपनि अस्वस्थ रहेका बेला आत्तिने, अलमल्ल पर्ने, एकोहोरो बन्ने, चिन्ता र तनाव बढ्ने जस्तो समस्या देखिने हुन्छ। 

डाक्टर सञ्जीव गौतमका अनुसार अस्पतालको इमर्जेन्सी र वार्डहरु बीचको दुरी, वातावरण र हल्लालाई ध्यानमा राख्न नसक्नु व्यवस्थापनको कमजोरी हो। त्यसमाथि बिरामी लिएर आउने, हेर्न आउने र कुरुवाहरुले नै पनि यस्तो विषयमा ध्यान नदिएको बताउँछन् उनी। भने, 'दुई बिरामीलाई नजिकै राख्दा यसै पनि इन्फेक्सन फैलने सम्भावना बढी हुन्छ। त्यसमाथि बाहिरबाट भेट्न, कुर्न आएकाहरुले पनि ध्यान नपुर्याउँदा प्राय हस्पिटलमा लापरवाही बढेकै हो। हल्ला र चापले गर्दा बिरामीले शारीरिक र मानसिक दुवै आराम पाउँदैन।' 

कविको नजरले देखेको अस्पतालको हालत देखेपछि लाग्यो - सरकारी अस्पताल लापर्वाही र निजी अस्पताल मुनाफामुखि। जता हेर्योा उतै समस्या। सरकारीमा अलपत्र र निजीमा कस्मेटिक व्यवहार। अब सुधार्ने पो कसले? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell