काठमाडौं: एउटा कथाले पूरै देशको वा आम अवस्थाको प्रतिनिधित्व नगरे पनि एउटा वर्ग वा समाजको यथार्थ र परिवेशलाई पक्कै चित्रण गर्छ। कथामा प्रस्तुत हुने एउटा पात्रको कथा समाजको दोस्रो वा तेस्रो अर्को केहीसँग मेल खानु स्वभाविक हुन्छ। 'लाटीको छोरो' नाटकले एउटा त्यस्तै कथा भन्छ। यसले धेरै महिलाको पीडाको कथा भन्छ, भूमिहिन समुदायको कथा भन्छ, जातीय वा लैङ्गिक उत्पीडनको कथा भन्छ।
श्याम शाहको कथालाई सुलक्षण भारतीले निर्देशन गरी मञ्चन गराएका छन् मण्डला थिएटरमा। नाटक नाटक मात्र नभएर प्रश्न जस्तो लाग्छ। प्रश्न प्रशासनलाई, सामाजिक दायित्व बोकेकालाई, समाजलाई र हामीलाई पनि जसलाई डोम समुदाय र लाटी जस्ता पात्र काल्पनिक पात्रहरु जस्तै मात्र लाग्छ।
डोम जातिको बस्ती उठाएर 'सुन्दर बजार' बनाइन्छ। जुन यथार्थमा निकै कुरुप छ। कुरुप यस अर्थमा यहाँ जातियताका आधारमा मान्छे माथि र तल बस्छन्। कथित उपल्लो जात माथि र कथित तल्लो जात तल जातियताको आधारमा व्यापारीले कालो चिया गरिबलाई र सेतो चिया धनीलाई बेच्छ। बजारमा दिनमा एउटी महिला बोक्सी भनेर घरबाट निकालिन्छे, युवती लाटी भनेर लखेटिन्छे र रातमा निकाल्नेहरुले नै उनीहरुको बलात्कार गर्छन्। यौन शोषण गर्छन्। समग्रमा यहाँ राजनीतिक, लैङ्गिक, आर्थिक शोषण हुन्छ र सम्बन्धितहरु न्यायको नारा फुकेर आफू स्वयं त्यो शोषणमा संलग्न हुन्छन्।
नाटकले फरक विषयहरुको उठान गरेपनि केन्द्रमा छे 'लाटी' जो बोल्न सक्दिन र सुस्त मनस्थितिकी छे। अन्य पात्रहरु छन् पवित्रा भाउजु जो स्वयं ससुरा पण्डित चन्द्रकान्त लगायत अन्यबाट यौन शोषणमा परेकी छे। गाउँको एक युवा पुनितले लाटीलाई पवित्राकोमा लगेर राख्छ ताकी ऊ सुरक्षित रहोस्। तर चन्द्रकान्त जस्तै अन्य पात्र नेता विषनाथ बाबु, पेशाले शिक्षक रामप्रसाद सर, व्यापारी सीताराम र असई प्रेमबहादुर। यी सबै बलात्कारी हुन्। जो रात परेपछि लाटी र पवित्रा बस्ने झुपडीमा पुग्छन्।
नेता विषनाथ राजनीतिक शक्तिको दुरुपयोग गर्छ, व्यापारी सीताराम आर्थिक शक्तिको, असई प्रेमबहादुर वर्दीको दुरुपयोग गर्छ र शिक्षक रामप्रसाद आफूमाथिको विश्वसनियताको। यी सबै लाटीको बलात्कार गर्छन् र उसको गर्भमा बच्चा बसेपछि विषनाथको शरणमा पुग्छन्। किनकि उनी स्वघोषित न्यायमूर्ति हुन्। विषनाथ आफ्नो थाप्लोको पिर बिसाइ दिनेहरुको भीड देखेर मख्ख पर्छ र अन्ततः लाटीको बलात्कारको आरोप भूमिपीडित सुर्जा डोममाथि थोपरिदिन्छ। पञ्चायतले लिएको निर्णयले चित्रण गर्छ हाम्रै देशको कुनै क्षेत्र वा गाउँमा हुने राजनीतिक र सामाजिक शक्तिको दुरुपयोगलाई जहाँ महिला एकल वा अपाङ्गका लागि आवाज उठाउनु, डुम लगायत उत्पीडित समुदायले आफ्नो हक अधिकार माग्नु पद र प्रतिष्ठामा भएकोहरुको अपमान हो भन्ने मान्यता रहेको हुन्छ।
गर्भ रहेको चेतनासमेत नभएकी लाटी आफूलाई बलात्कार गर्नेहरु देखेर आक्रोशित हुन्छे। चिच्याउँछे, आक्रमण गर्छे तर ऊ कमजोर र निरीह हुन्छे। जसको आक्रोशले शक्ति भएकाहरु डगमगाउँदैनन्। जसको क्रोध र आक्रमणले कसैलाई तर्साउँदैन। ऊ त आवाजविहिन छे। आवाज भएको डुमले जग्गा पाउन उठाएको क्रान्तिकारी आवाज त सुनिंदैन। लाटीलाई कसले बुझोस्?
नाई र हवल्दार बच्चु अर्को दुई निरीह पात्र छन् जो यथार्थ थाहा भएर पनि अनजान बन्छन्। किनकी उनीहरुमा पनि डर छ, आर्थिक र राजनीतिक चलखलले जीवनमा निम्त्याउन सक्ने पहिरो र बाढीको।
तर जब लाटीको सन्तान जन्मन्छ, उसको रुप, चालढाल र गुण सुन्दर बजारका तीनै उच्च अहोदामा रहेकाहरुसँग मेल खान्छ। विषनाथको कोठीदेखि असईको हिंड्ने शैलीसम्म। सुन्दर बजारले जन्माएको विम्बात्मक सन्तान हुन्छ 'लाटीको छोरो'।
न्याय दिने, सजाय दिने, निर्णय दिने, शिक्षा दिने भनिएकाहरु नै चेतनाशून्य रहेका छन्। कोबाट कस्तो परिवर्तनको अपेक्षा गर्ने भन्ने प्रश्न उठाएको छ 'लाटीको छोरो'ले। यो आम नेपालीको कथा नहोला। तर सुनिनु र देखिनु पर्ने कुनै समुदाय वा क्षेत्रको कथा पक्कै हो। जहाँ विकास होइन चेतनास्तरमा परिवर्तन पहिलो आवश्यकता हो।
नाटकको निर्देशकीय पक्षमा गरिएको मेहनतले सुन्दरबस्ती र पात्रहरुको सजीव चित्रण गर्छ। कलाकारहरुले निभाएको भूमिका र अभिनयमा गरेको न्यायले घटनालाई जीवन्त बनाएको पक्कै हो। डोम जातिको समस्या, एकल तथा अपाङ्ग महिलामाथि हेर्ने दृष्टिकोण र शक्तिको दुरुपयोग गर्नेहरुको चरित्रलाई शब्दमा उतार्ने कथाकार श्याम शाह धन्यवादका पात्र हुन्। दृश्य, संवाद, संगीत र संकेतले नाटकलाई उत्कृष्ट बनाएको छ।
नाटकमार्फत् अभिनेता टीका पहारी ४१ वर्षपछि नेपाली रंगमञ्चमा फर्किएका हुन्। यो नाटकमा पहिलो पटक नेपाली रङ्गमञ्चमा प्रोडक्सन डिजाइनको अभ्यास गरिएको छ। प्रोडक्सन डिजाइनको काम कलाकार प्रकाश दाहालले गर्दैछन्। प्रोडक्सन डिजाइनरले नाटकको सेट, लोकेसन, प्रकाश, कलाकारलगायत नाटक निर्माणका सम्पूर्ण प्रक्रियामा सिर्जनात्मक ढंगले डिजाइन गर्ने काम गर्छ।
असोज ८ गतेसम्म मण्डलामा नाटक मञ्चन हुनेछ। नाटकमा अन्य कलाकार सन्दिप पौडेल, कुन्दन थारु, कुसल पाण्डे, रोसन सुवेदी, प्रकाश दाहाल, राजन काफ्ले, पशुपति राई, सुदिप खतिवडा, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले समेत अभिनय गरेका छन्।