PahiloPost

Jun 23, 2021 | ९ असार २०७८

शैय्यामै पनि रेडियोकै साथ, भन्छन् : बोली देउ नभए पोली देउ

शैय्यामै पनि रेडियोकै साथ, भन्छन् : बोली देउ नभए पोली देउ

स्वेच्छा राउत/पहिलोपोस्ट


'आउ मेरा प्यारा प्यारा भाइ बहिनीहरु, रेडियोको नजिक आउ' 

यही आवाज नै त अहिले रेडियोमा बज्दैन। तर, पक्कै धेरैको स्मृतिमा भने गुञ्जिरहन्छ। आवाज परिचितकै हो। रेडियो नेपालका बाल कार्यक्रम प्रस्तोता वासुदेव मुनाल। तर यतिखेर मौन छ उनको बोली। उपचारकै बलले भएपनि बोल्ने आकांक्षा छ। अस्पतालको शैय्यामा संघर्षरत छन् यतिखेर। 

३४ वर्ष लामो समय रेडियोमा बिताएका मुनाललाई ६ वर्षअघि ब्रेन ह्याम्रेज भयो। त्यसयता भन्न छाडे – आउ मेरा प्यारा…। बोल्ने कामबाटै अवकाश लिए। ब्रेन ह्याम्रेजको ६ वर्षपछि अहिले उनीमाथि अर्को पीडाको उपहार थपिएको - घाँटीको क्यान्सर।

स्लाइनका लागि हातमा सुई। त्यही हात तन्काउँदै आँखा नजिक लगेर भने, 'बोलेरै चिनिएको वासुदेव मुनालको घाँटी बोल्न नसक्ने भएको छ। योभन्दा ठूलो अभिशाप मेरा लागि के हुन सक्छ?' 

यतिखेर उनको बोली रेडियोमा सुने झै सुमधुर लागेन। बोलीको मिठासलाई पीडाको भारले पूरै थिचेको छ। उनको दुखाई अस्पष्ट बोलीमा अनुभूत पो भयो। 

हाम्रै लागि भए पनि उनी बुझिने गरी बोल्न खोज्दै थिए। उनी रेडियोमा झै आउ मेरा प्यारा… भन्न चाहन्थे। सकेनन्। 

कुरुवा बसेकी पत्नी इन्दिरा कोइरालाले सम्झाइन्, 'बिस्तारै बोल्नु न।' 

'डाक्टरले धेरै नबोल्न भन्नु भएको छ,' हामीतिर हेरेर इन्दिराले मलिन स्वर निकालिन्। तर मुनाललाई मन परेन। 'जिन्दगी बोलेर बिताएको मान्छेलाई नबोल भन्ने?,' प्रश्न पो गरे। ब्लड प्रेसरसमेत बढेको छ उनको।

बोलीकै बलले चिनिएका उनलाई बोल्न निषेध छ। उनलाई धेरै बोल्न हुँदैन। बोलेको आवाज पनि मुस्किलैले बुझिन्छ। सामान्य खाना पनि सर्किन्छ। 

२०२९ सालमा विराटनगरबाट रेडियो नेपालमा गीत गाउने सपना बोकेर काठमाडौं आएका थिए वासुदेव मुनाल। 'भ्वाइस टेस्ट' पास भएपछि उनले गीतमात्र गाएनन् कार्यक्रम पनि चलाउने अवसर पनि पाए। 

कस्तो कार्यक्रम चलाउनु हुन्छ?  

मुनालले फ्याट्ट भनेछन्, 'बाल कार्यक्रम'। 

रेडिमेड जवाफ जस्तो सुनिए पनि उनले आफ्नो रहर व्यक्त गरेका थिए। 

'हामी सानै छँदादेखि किरण खरेलको आवाजमा बाल कार्यक्रम सुन्ने। उनलाई सुन्दै गर्दा आफूलाई पनि त्यस्ता कार्यक्रम चलाउन मन लाग्थ्यो,' उनको रहर पूरा हुने अवसर थियो त्यो। त्यसमाथि बालबालिकासँगको लगावले उनीमा बाल केन्द्रित कार्यक्रममा राम्रो गर्न सक्छु भन्ने दृढता थियो। नभन्दै उनको कार्यक्रम लोकप्रिय बन्यो। पत्र र सहभागिता जनाउने भाइ बहिनी धेरै भए। 

बालबालिकाले उनको कार्यक्रम पर्खेर सुन्नुको कारण के थियो? नरम बोली, आफ्नोपनको आभाष दिने सम्बोधन, प्रेम र सानालाई पनि सम्मानका साथ गर्ने व्यवहारले बालबालिकालाई आफू नजिक ल्याएको उनको बुझाई छ। 

अनि तपाईँका लागि चाहिं बालबालिका किन त्यति धेरै प्यारा त? 

औंलाले पनि सङ्ख्या संकेत गर्दै भने, 'मेरा ६ भाइ र ७ बहिनीलाई मैले खेलाएँ, खुवाएँ, पढाएँ। उनीहरुकै कारण मेरा लागि हरेक केटाकेटी भाइ बहिनी सरह भए। मलाई मेरा हर स्रोता र सहभागीहरु आफ्ना लागे।' 

थोरै मुस्कुराए। अनि भने, 'त्यसै श्रुती शाह, दीपेन्द्र शाहहरु मेरो कार्यक्रममा आएर गीत गाउँथे होला त?' 

आफूले कार्यक्रम चलाउँदा नियमित स्रोता बनेका केही सफल नाम सम्झन्छन् उनी। सूची थोरै छैन। हरिभक्त कटुवाल, विजय कुमार पाण्डे, अरुणा उप्रेती, शर्मिला मल्ल, मनोज गजुरेल, दमन रुपाखेती, दीपकराज गिरी, दिपाश्री निरौला। अरु पनि केही नाम सम्झे। 'यी सबैको सफलता र लोकप्रियताले मलाई खुशी दिन्छ,' सुनाए। 

हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालको शैयामा छन् उनी। रेडियोसँग भने टाढा छैनन्। 

'बोल्न नसके पनि सुन्न सकिन्छ नि,' हातमा भएको सानो रेडियो ट्युन गर्दै भन्छन्, 'रेडियो नेपाल, कान्तिपुर, इमेज, काठमाडौं सबै पालैपालो सुन्छु।' काम्दै गरेको हातले थामेको रेडियो पनि हल्लियो। उनी आफैँलाई सम्हाल्न खोज्दै फ्रिक्वेन्सी चेन्ज गर्छन्। 

३४ वर्ष रेडियोसँग रहेका उनको हातमा रेडियो छ। पहिले रेडियोमा बोल्थे, अहिले अरुले बोलेको सुन्छन्। डाक्टरले सर्तक गरेका छन्, 'तपाईं नबोल्नु घाँटीलाई आरामको आवश्यकता छ।' 

शारीरिक अवस्था निकै कमजोर भएका कारण उनको घाँटीको अपरेशन अघि दिनुपर्ने किमो थेरापी दिन सकिएको छैन। 'कमजोर हुनु भएकाले किमो दिन सकिएन। रेडिएसन दिएका छौं,' इन्दिराले सुनाइन्।

यही भदौ १४ गते मात्र त हो उनको घाँटीमा ट्युमर पहिचान भएको। दु:ख मनाउ गर्दै सुनाइन्, 'एक प्रतिशत पनि शङ्का थिएन क्यान्सर होला भन्ने। श्वास बढ्ने, खाना सर्किने, बोल्न अफ्ठ्यारो हुने भएको ६/७ महिना भयो। अनेक डाक्टर देखायौं सबैले दम र बुढ्यौलीको संज्ञा दिए।' 
धेरै गाह्रो भएपछि भदौ ९ गते मेडिकेयर अस्पतल पुर्याएका थिए। छोरा मोहित मुनालले दिएको जानकारी अनुसार डाक्टर दिब्या बास्कोटाले भक्तपुर क्यान्सर अस्पताल रिफर गरिन्। 

'अपरेशन गरेर ट्युमर फाल्नै पर्छ। प्रेसर र कमजोरीका बाबजुद अपरेशन गर्नु रिस्क हो। त्यसैले दिल्ली लैजाने सोचेको तर हाम्रो आर्थिक हैसियत कहाँ त्यति माथि छ र?,' एउटा अर्को पीडा व्यक्त भयो। 

काम र नामका कारण सन्तुष्ट मुनालले रेडियो नेपालले दिने तलबप्रति कहिल्यै असन्तुष्टि जनाएनन्। 'खान, बस्न, परिवार चलाउन मजाले पुगेको थियो। अभाव त यस्तो समस्यामा पो खड्किदो रैछ,' यही निचोडमा पुगिसके उनीहरु। २ सय ९० रुपैयाँ मासिक तलबबाट सुरु भएको उनको रेडियो नेपालको कार्यकाल कार्यक्रम लेखन, निर्माण र प्रस्तुती भनेरै बित्यो। बाल गीतमात्रै २ सय १२ वटा। बाल नाटक, कथा, कविता कति दिए उनलाई याद छैन। रेडियो नेपालले चाहिँ के दियो? 

वासुदेव भन्छन्, 'आवाज सुनाउने ठाउँ दियो। अरु त रेडियो नेपालसँग नै के छ र आश गर्नु? अहिलेसम्म सुन्न पाएको छु त्यति हो।' 

उनी भावुक सुनिए। आफूले काम गरेको संस्थाको माया लाग्नु स्वभाविक हो तर उनले सोही संस्थासँग चित्त दुखेको बताए। ब्रेन ह्याम्रेज हुँदा रेडियो नेपालबाट लिएको उपदान सकियो। पेन्सन आउँदैन। वासुदेव र उनको परिवारमा एउटै आशा छ, 'कलाकार भएको नाताले उपचारको लागि केही रकम सरकारले देला कि?' 

रेडियो नेपालका कर्मचारीहरु, आफूले पढाएको विद्यार्थी र स्रोताहरुले व्यक्तिगत तर्फबाट केही रकम जम्मा गरेर उपचारका लागि सहयोग गर्दै आएका छन्। तर रेडियो नेपालको तर्फबाट केही सहयोग नभएकोमा उनको गुनासो छ। 

'मेरै कार्यक्रम अहिलेसम्म पनि बजाउँदै छन्, अनुमति पनि नमागी। यो बेठीक हो। आफ्नै कर्मचारीलाई पो बनाउन लगाउनु पर्छ,' उनी रुखो सुनिए।

कुरुवा बसेका आफन्तले उनको गुनासो पोख्ने क्रमलाई तोड्दै बोले, 'सरकारी प्रतिनिधिसँग कुरा भएको छ। क्याबिनेटको निर्णय आउन बाँकी हो। सहयोग गर्लान् नि।' 

वासुदेव मुनाल मौन बस्नै सक्दैनन्। केही बोलिरहन्छन्। केही लेखिरहन्छन् वा केही सुनिरहन्छन्। कामबाट अवकाश लिए पनि उनले लेख्न छोडेनन्। गीत, लेख र बाल साहित्य सामाग्री उनका उत्पादन। नजिकै बसेकी पत्नीले राती दुई बजेसम्म लेखेर बस्ने कुरा सक्काउन नपाउँदै मुनालले हाँस्दै नजिकै राखेको डायरी खोल्न लगाए। 

राजनीतिज्ञलाई व्यङ्ग्य गरेको कविता थियो। केही मख्ख पर्दै भने, 'ठूलो मान्छेलाई व्यङ्ग्य हो अरुलाई देखाउनु हुँदैन है। यसलाई गीत बनाए पनि हुन्छ। कविता पनि ठीक छ।' 

सँगैको अर्को पानामा थियो नातिका लागि लेखिएको कविता। कविता देखाउनासाथ उनी एकाएक रुन थाले। 'मलाई सबै केटाकेटी साह्रै माया लाग्छन्। तर मेरो नातिको सबैभन्दा धेरै,' भने। 

१५ महिने नाति सम्भव कोइराला। 'बाबा भन्दै मसँग चल्थ्यो। म बिरामी भएपछि त चल्न हुँदैन भन्ने थाहा पाएर होला जोसिएर खेल्न छोड्यो। तर मलाई मेरो नाति चलेकै मनपर्छ,' यतिखेर एउटा हजुरबुवा बोल्यो। 

वासुदेव बालबालिकासँग जोडिए। त्यसैले ६८ वर्षको उमेरसम्म पनि बालबालिकाकै लागि लेखे, बोले र गाए। वासुदेवको कार्यक्रम उनको छोरा मोहित मुनालले पनि सुने र नाति सम्भवले पनि सुन्ने सम्भव छ। किनकि हरेक शनिबार साँझ ५:१५ मा रेडियो नेपालमा उनकै कार्यक्रम दोहोरिन्छ।

मुनाल उनको टाइटल हो तर मुनालनै उनको परिचयको रुपमा स्थापित भयो। समकालीन साथीहरुसँग मिलेर बिराटनगरमा स्थापना गरेको 'मुनाल मनोरञ्जनालय र पुस्तकालय'बाट उनले आफ्नो टाइटल लेखे। क्लब स्थापनामा पुर्‍याएको योगदानसँगै उनले संगीतकार, गीतकार, नाटककार, निर्देशक र लोकगीत संचालकका रुपमा कला क्षेत्रमा आफैलाई समर्पित गरे। 

'पानी खाने निहुँले तिम्रो घरमा आउँला', 'तिम्रो घर चाँचरी', 'बाँसुरीको धुनमा', 'दुई एकान दुई' लगायत गीतहरु चर्चित पनि बने। 

आवाज बिहीनहरुको आवाज बनेर जीवन बिताएका उनी अहिले स्वयंम् आवाज बिहीन हुनुपर्ने त्रासले छट्पटाइरहेका छन्। स्वरको जादुले श्रोताको मन जितेका उनले भक्तपुर क्यान्सर अस्पतालबाट हरिसिद्धीको क्यान्सर अस्पताल पुग्दासम्म गाडीमै लेखे:
'मलाई मेरो बोली देउ 
होइन भने पोली देउ।' 


ट्रेन्डिङ पोस्ट

Ncell