छक्कापञ्जाले बक्स अफिसमा पाएको अपार सफलताबाट हौसिएर तयार भएको हो छक्कापञ्जा २। सुरुवातदेखि अन्त्यसम्म यसले हँसाउन खोज्छ। यसका लागि संवादमा जोकहरुको संग्रह गरिएको छ। जस्तै ‘काउ’ (गाई) सँगै आफू सुतिरहँदा आफूलाई ‘म-काउ’ मा छु भन्ने।
जोकको प्रयोग नभएको ठाउँमा राइमिङ मिल्ने शब्द राखेर सायरी जस्ता संवादहरुको प्रयोग गरिएको छ - चल्ला/हल्ला, सात/आँट आदि।
टेलिसिरियलबाट दर्शकको टेस्ट बुझेर लेखिएको भान हुन्छ छक्कापञ्जा २ को संवाद। पुराना जोकहरुलाई पोलिस गरेर दृश्यमा ढाल्नुबाहेक यसमा अरु केही खास छैन। बरु प्रिक्वेलमा सांगीतिक प्रयोगले दर्शकलाई बाँधिन भूमिका खेलेको थियो। यसमा भने जम्मा दुई वटा गीत छ, दुवै विवादमा परेका थिए कपि गरिएको भन्दै। फ्लासब्याकमा गाइने झ्याम्म-झ्याम्म गीतको त अन्तरा देखाउने आँटसमेत गरिएको छैन।
कथा रुमल्लिएको फिल्म हो। एउटा प्लट देखाइन्छ अनि दर्शकले आफै अनुमान गर्छन् यसपछि के हुन्छ? भलै सस्पेन्सले दर्शकको अनुमान गलत साबित गरिदिन्छ। सस्पेन्स खुल्नु अघि सलल बगेको कथा सस्पेन्स खुल्दा नाटकीय मोड लिन्छ। फिल्मको जनरा कमेडी हो। तर लेखक दीपकराज गिरीले पात्रमार्फत् कुनै पनि विषयमा आफ्नो विचार थोपरिदिन्छन्। कहिले वकिल बनेकी प्रियङ्का कार्की (उमा) मार्फत प्रेमविवाह वा विदेशमा जाने सम्बन्धी विचार होस् वा मामा बनेका केदार घिमिरेमार्फत् भाषाको महत्व बारे धारणा। भाषणको शैलिमा विचार ठोसिन्छ।
उमाकी छोरी आकांक्षा (स्वस्तिमा खड्का)को अस्ट्रेलिया मोहले गर्दा उनी आफै डिपेन्डेन्टमा जान प्रयास गर्छिन्। आयल्टसमा राम्रो स्कोर गरेको तर विदेश जान पैसा नभएको पात्र हो प्रज्ज्वल (स्वरुप पुरुष ढकाल)। पैसा हुने र स्कोर हुने यी दुईले नक्कली विवाह गर्छन्। संयोगबस् प्रज्वलकी आमाले थाहा पाएर आकांक्षालाई पञ्चे बाजा सहित घरमा भित्र्याउँछिन्। त्यसपछि सिर्जना हुने अवस्थाहरु र खुल्ने रहस्यहरु फिल्मको विषय हो। तर कथा यी दुईको विवाहको कहानीमा सिमित हुँदैन। दर्शकलाई ट्विस्ट नै नहुनुले पनि वाक्क लगाउँछ अनि अनावश्यक ट्विस्ट धेरै हुनुले पनि। छक्कापञ्जा २ मा अनावश्यक ट्विस्ट ज्यादा छ।
उमा र राजा (दीपकराज गिरी)को कथा पनि छ। आकाशका रुपमा निर्माण पक्षले खुलासा नगरेका कलाकारको प्रवेश र उनीसँग आकांक्षाको कथा पनि छ। कमेडी जनराको फिल्मको अन्त्यमा फेरि वृद्धाश्रममा रहेको बुवा र अमेरिकामा रहेको छोराको कथा देखाएर दर्शकलाई भावुक बनाउन पनि खोजिन्छ। पात्रहरु यति धेरै छन् कि कुनै कुनै दृश्य त निर्माता, निर्देशकदेखि निर्माण युनिटका सबैको अनुहार एकपटक देखाउनकै लागि राखिएको भान हुन्छ।
पंचलाइन र दर्शक हँसाउनका लागि लेखनमा जोड दिँदा केन्द्रीय द्वन्द्व के हो भन्ने प्रष्ट पार्न चुकेका छन् दीपकराज गिरी। पुराना र द्विअर्थी जोक रिन्यू गर्नु सट्टा पटकथा र द्वन्द्व सिर्जनामा लागेको भए राम्रो हुन्थ्यो। महिला निर्देशक भए पनि महिला होच्याउने द्विअर्थी जोकको भरमार छ संवादमा-
- बिहे गर्न सुझाव दिँदा बूढाले भन्छन्- दाँत छैन, काजु खाएर के गर्नु !
- गर्भवती श्रीमतीको हेरविचार गर्न डाक्टरले सुझाव दिँदा श्रीमानले भन्छ- मेरो काम त सकियो, अब तपाईँहरुको पो काम त।
- महिला पात्रको जबर्जस्तीमा परेका पुरुष पात्र बाबुलाई भन्छन्- मकै गोडेर आएको !
अनि राइम मिलाइएका होच्याउने जोकहरु-
- दारी बढ्यो भने ब्लेड खोज्नुपर्छ, छोरी बढ्यो भने ज्वाइँ खोज्नुपर्छ।
- कुखुराले अण्डा छोप्यो भने चल्ला हुन्छ, छोरीलाई छोप्यो भने हल्ला हुन्छ।
अलमल्ल कथा र छरिएका पात्रको भिडलाई पर्दामा ठाउँ दिने आँट निर्देशक दीपाश्री निरौलाले गरेकी छिन्।
समग्रमा फिल्मलाई कमेडीभन्दा पनि मसालेदारभन्दा ठिक हुन्छ। किनकी कथाहरुमा प्रेम छ, चुट्किला मिसाइएको पनि छ, दर्शक भावुक बनाउन नखोजिएको पनि हैन, केही पात्रलाई निकै गम्भीर देखाइएको पनि छ, डायलगमार्फत आदर्श पनि सिकाइएको छ, बदला पनि छ, सस्पेन्स पनि छ, एक्शनको एनिमेसन त झन् साउथ इन्डियन फिल्मको जस्तै - प्रज्ज्वलकी आमा (लक्ष्मी गिरी)ले एक लात मार्दा केदार घिमिरे हावामा उड्छन्।
अभिनयतर्फ केन्द्रीय पात्रका रुपमा स्वस्तिमा खड्का होस्टल, लभ लभ लभ फिल्ममा निभाए जस्तै सहरी टिनएज युवतीको भूमिकामा देखिए पनि उनको अभिनयमा निकै निखार आएको भान हुन्छ। बरु जात्रा, छक्कापञ्जा लगायत हिट फिल्मकी अभिनेत्री वर्षा राउतलाई पो फिल्ममा किन उक्त भूमिकामा दिइयो होला भन्ने प्रश्न उठ्न सक्छ। उनको भूमिका अनावश्यक मात्रै होइन वर्षालाई सुहाउँदो पनि छैन।
मूलपात्रका रुपमा स्वरुपपुरुष ढकालले फिचर फिल्ममा आफ्नो सम्भावना राम्रो देखाएका छन्। पुराना हास्यकलाकारहरु सबैले राम्रो गरे पनि केदार घिमिरे, जितु नेपाल र लक्ष्मी गिरी राम्रोसित प्रस्तुत भएका छन्।
बरु बोल्ड वकीलको भूमिकामा कथाले खोजे जस्तो देखिनबाट चुकेकी छिन् प्रियङ्का कार्की। स्वस्तिमाको नक्कली बिहेमा देखिने आमा र फिल्मको कथाकी वास्तविक आमा (प्रियङ्का) उस्तै भान पर्छ। त्यहाँमाथि मिडियामा प्रेम प्रसंग छ्याप्छ्याप्ती भएको पात्रलाई प्रियङ्काले ज्वाइँ भन्नुपर्ने गरी पात्र चयन गरिएको छ।
नकारात्मक भूमिकामा रहेका पात्रले फिल्मको कथा भन्छ। हाँस्दाहाँस्दै पनि सोच्न पर्ने हुन्छ- फिल्मको सन्देश चाहिं के त? युवा विदेश जानुले देशमा नराम्रो असर मात्र गर्छ? वा आर्थिक स्थिति कमजोर हुनेले पैसाको लागि गलत बाटो अपनाउँछ? वा बदला र महत्वकांक्षाले कुनै पनि बेला प्रहार गर्न सक्छ। फिल्मसँगै हाँसो सकिन्छ र यी प्रश्नहरु दर्शकको मनमा उठ्न सक्छ।
फिल्म 'छक्कापञ्जा'को सिक्वेल भने होइन। सिक्वेल भनेर दर्शक झुक्याउने काम गरिएको हो। व्यवसायिक फिल्मलाई दर्शकको भिडको आवश्यकता अवश्य पर्छ। त्यसमाथि ब्लकबस्टर फिल्म दिएको युनिटलाई त बढी चुनौती हुन्छ। त्यही चुनौतीको सहज सामनाको लागि सुपर हिट फिल्म छक्कापञ्जाको नाम दोहोराएर प्रयोग गरिएको फिल्मको छक्कापञ्जा २। फिल्मले हँसाउँछ तर हाँसो त बजारमा पाइने जोकहरुको संग्रह पढेर पनि निस्कन्छ। फिल्मले भरपूर हैन ‘हल्का रमाइलो’ बनाउँछ। हजुर, पहिलोको तुलनामा हल्कामात्रै।