PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

आफ्नै फिल्म डिजिटल रिलिज गर्न हलवालाले रोक लगाएपछि निर्माताहरुको आपत्ति



स्वेच्छा राउत

आफ्नै फिल्म डिजिटल रिलिज गर्न हलवालाले रोक लगाएपछि निर्माताहरुको आपत्ति

काठमाडौं : नेपाली फिल्म 'धूम २' पहिलो पटक नेपाली हलहरु र टिभीमा एकसाथ प्रदर्शनमा आयो। त्यसअघि कुनै पनि नेपाली फिल्म हलमा प्रदर्शन भैरहँदा टिभीमा देखाइएको थिएन। डिटिएच डिसहोमले फिल्म रिलिजको नयाँ ट्रेन्ड सुरु गरिदियो। 

हलबाट उत्रिसक्दा पनि डिसहोमका ग्राहकले सीमित रकम तिरेर (पे पर मुभी) फिल्म हेरे। धूम २ निर्माता तथा निर्देशकले फेसबुकमा खुशी व्यक्त पनि गरेका थिए, 'धुम २ डिसहोममा प्रदर्शनको चौथो हप्तामा।' 

त्यस लगत्तै फिल्म 'लिला' युनिटले पनि फिल्मलाई टिभीमार्फत् सार्वजनिक गर्‍यो। डिसहोममार्फत् सार्वजनिक भएको फिल्म हलमा धेरै दिन टिकेन। तर फिल्म टिभीमा उपलब्ध हुनुले दर्शक र निर्माण युनिटलाई फाइदा नै गरायो। 

डिसहोमका व्यवस्थापक कल्याण अधिकारीले आफ्ना दूरदराजका ग्राहकलाई फिल्मको टिभी रिलिजले फाइदा गरेको र उनीहरुबाट सकारात्मक प्रतिक्रिया दिइरहेको जानकारी दिए। 

'दुई-तीन सयमा उहाँहरुले पनि नयाँ नेपाली फिल्म हेर्न पाउनु हुन्छ। निर्मातालाई पनि हलले शो नदेला भन्ने डर हुँदैन। त्यसैले फिल्मको टिभी रिलिजले कुनै पनि पक्षलाई असर गर्छ जस्तो लाग्दैन। आखिर हलको पहुँच नभएका दर्शकले न टिभीमा हेर्ने हुन्।' 

नेपाली फिल्मको टिभी रिलिजले नेपाली फिल्मको व्यवसायिक पाटोमा पनि सकारात्मक असर गर्ने अधिकारीको बुझाइ छ। उनले दिएको जानकारी अनुसार फिल्म निर्माता र डिजिटल टिभी युनिट बीच फिल्मले गरेको कूल व्यवसायको लगभग ५० प्रतिशत विभाजन हुन्छ। 'यो विभाजनले निर्मातालाई राहत दिन्छ। व्यवसायिक राहत मिले न हो नेपाली फिल्ममा लगानी गर्न हौसला मिल्ने', उनले बताए। 

तर सोमबार नेपाली हलहरुको छाता संगठन चलचित्र संघले हल र टिभीमा एकसाथ फिल्म रिलिज गर्न नपाइने निर्णय गर्‍यो। संघले कुनै पनि फिल्म सार्वजनिक भएको ३ सातापछि मात्र फिल्मको डिजिटल रिलिज गर्न पाइने नियम बनाएको छ।

निर्माता तथा निर्देशक रोज राणा भने संघको निर्णयसँग सहमत छैनन्। टिभीमार्फत फिल्म रिलिज गर्न पाउनुको फाइदा राणाले पनि उठाएका थिए।। फिल्म 'छक्का पञ्जा २' सँग सार्वजनिक भएको फिल्म 'मेरो पैसा खोइ?'ले हलमा दर्शक तान्न सकेन, तर डिसहोम प्रदर्शनले केही राहत दियो। रोज राणा व्यवसायिक पाटोलाई केही पर राखेर बोल्छन्, 'देशमा हरेक जिल्ला, हरेक गाउँमा हल छ? टिभी जस्तो सहज माध्यम हुँदाहुँदै पनि हलमा मात्र रिलिज गर्नुले ती दुर्गम भेगका दर्शकमा राम्रो सन्देश जान्छ र?' 

उनले टिभीमार्फत् फिल्म सार्वजनिक गर्नुको मुख्य उद्देश्य हलको पहुँच नभएको दर्शक रहेको बताए। भने, 'हलमा गएर फिल्म हेर्ने दर्शकले टिभीमा हेर्छन् जस्तो लाग्दैन। फेरि निर्माता चाहिं हलबाट फिल्म उत्रेलना भन्ने डरमा हुनुपर्छ भने प्रदर्शनको अन्य माध्यम प्रयोग गर्न किन नपाउने?' 

राणाका अनुसार दैनिक तोकिएको मात्रामा टिकट बिक्री भएन भने हलले शो हटाएर नयाँ फिल्म लगाउँछ। र आर्थिक मारमा चाहिं निर्माता पर्छन्। भने,'उनीहरुले त एउटा हटाए अर्को फिल्म पाउँछन्। हामीले चाहिं अर्को माध्यम खोज्न नपाउने?' 

राणा भन्छन्,'फिल्म उद्योगमा नाफा, घाटाका लागि प्रतिशोध राखेर निर्णय लिएर हुँदैन।'

राणाजस्तै चलचित्र संघको निर्णय विपरीत उभिएकी छिन् नायिका तथा निर्मात्री रेखा थापा। उनको फिल्म 'रुद्रप्रिया' आउँदो कार्तिक २ गते सार्वजनिक हुँदैछ। उनले प्रचार सामाग्रीमा समेत फिल्म नेपाली हलहरुसँगै अन्य डिजिटल माध्यममा एकसाथ सार्वजनिक हुने उल्लेख गरेकी थिइन्। उनी भन्छिन्,'फिल्म निर्माताको सम्पत्ति हो। निर्माताले जसरी चाहन्छन्, प्रदर्शनमा ल्याउन पाउनु पर्छ।' 

नेपाली सिनेमा घरहरुको छाता संगठन चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय भने संघको निर्णय सही भएको दाबी गर्छन्। उनी भन्छन्, 'फिल्मको डिजिटल रिलिजले नेपाली फिल्म उद्योग ध्वस्त बनाउँछ। दर्शकले नेपाली फिल्म जति टिभीमा हेर्ने र हिन्दी फिल्म हलमा हेर्ने भयो भने कस्तो बन्ला फिल्मको व्यवसाय?' 

उदयले दिएको जानकारी अनुसार फिल्म बिक्रेताले सहमति र नियम विपरीत काम गरेका छन्। नियम अनुसार फिल्म रिलिज गरिएको ६ महिनासम्म कुनै पनि डिजिटल माध्यमबाट फिल्म सार्वजनिक गर्न पाइँदैन। भने, 'निर्माताहरु हाम्रो फिल्म हाम्रो अधिकार भन्छन् भने हाम्रो पनि हाम्रो हल हाम्रै अधिकार।'
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell