नाम: रीमा पुरी।
घर: प्युठान हो भन्ने याद छ। कुन ठाउँ थाहा छैन।
हाल: सिर्जनशील बाल आश्रम, काँडाघारी।
रीमा १४ वर्षकी भइन् तर उनको इच्छाशक्ति र आत्मविश्वास उनको उमेरभन्दा पाको लाग्छ। उनी समाजसेवी बन्न चाहन्छिन्, गायिका बन्न चाहन्छिन्, ठूला-ठूला मान्छेको अन्तर्वार्ता लिन चाहन्छिन्। उनले भने जस्तै 'ठूला-ठूला' मान्छे को हुन् उनले सोचेकी छैनन्। तर रेडियो र टिभीमा सुनेको, देखेको जस्तै गरी प्रस्तुत हुन चाहन्छिन् रीमा।
'त्यो सबै काम गर्न चिनेको मान्छे हुनुपर्छ भन्ने सुनेको थिएँ। तर होइन रहेछ', उनले रेडियोमा बोल्न पाउने अवसर पाएको खुशी यसरी व्यक्त गरिन्,'मैले अन्तर्वाता दिएँ र रेडियोमा बोल्ने अवसरका लागि चयन भएँ।'
सामुदायिक रेडियो प्रसारण संघ र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा 'म बालिका भएकीले' नाराका साथ किशोरीहरुलाई सामुदायिक रेडियोमा बहसमूलक कार्यक्रम चलाउने जिम्मेवारी सुम्पिएको छ। बुधबार अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा एकदिनका लागि प्रस्तोता छानिएका ३०० मध्यकी एक हुन् रीमा पुरी।
रेडियोमा बोल्नु उनको लागि यो नयाँ अनुभव होइन। तर बहस कार्यक्रमको प्रस्तोताको रुपमा भने पक्कै नयाँ अवसर हो।
यसअघि रेडियोमा के बोलिन् त?
पहिलोपोस्टसँगको कुराकानीका क्रममा उनले भनिन्,'मेरो खुट्टाको अपरेशनका लागि आर्थिक सहयोग जुटाउन। मैले रेडियो र पत्रपत्रिकामा अन्तर्वार्ता दिएपछि मेरो खुट्टाको उपचारका लागि नगद सहयोग उठेको थियो।'
२०६० सालमा जन्मिएको रीमा पुरीको जन्मँदै देब्रे खुट्टाका औंलाहरु थिएनन्। पैताला नभएकी रीमाको घुँडामा दुईवटा औंला देखेर उनको आमासँगै गाउँलेहरु छक्क परे। अन्धविश्वासी समाजले पापको संज्ञा दिएको खुट्टाका कारण उनकी आमा अपहेलित बनेको याद छ। उनलाई छरछिमेक र आफन्तले गरेको अपहेलना बाहेक केही याद छैन। न आमाको नाम, न बाबाको अनुहार, न ठेगाना, न दिदीहरु र भाइको अवस्था। 'आमाले खुवाउन र लगाउन दिनसमेत नसक्ने भएपछि गाउँले काकाले दुई दिदी, एक भाइ र म मध्य एकलाई काठमाडौंको अनाथ आश्रममा राख्न लग्दिने हुनुभयो। मेरो खुट्टामा देखिएको समस्याले दिएको चोटबाट बच्न होला मलाई नै पठाउनु भयो', उनले आफू काठमाडौं आउनुको कथा सुनाइन् र भनिन्, ‘अहिले लाग्छ मलाई पठाएर धेरै राम्रो गर्नु भएछ। म प्युठानमै बसेको भए यो जीवन पाउँदिन थिएँ। मैले मेरो दुई खुट्टाले उभिने सपना देख्न समेत सक्दिन थिएँ। जुन अहिले पूरा भएको छ।'
रीमा सिर्जनशिल बाल आश्रममा ४ वर्षको हुँदा आएकी थिइन्। 'सुरुमा नयाँ मान्छेहरु देख्दा आत्तिएकी थिएँ। तर अहिले त्यो बाल आश्रम नै मेरो संसार बनेको छ।'
रीमासँगै २२ बालबालिकाकी एक्ली आमा बनेकी उमादेवी बस्नेतले आफूलाई माया र साथ के हो सिकाएको बताउँछिन् उनी। 'उहाँले हौसला दिनु भयो। आत्मविश्वासी बन्न प्रेरणा दिनु भयो र मैले रेडियोमा बोल्न र प्रतिनिधिहरुलाई प्रश्न गर्ने कार्यक्रम संचालन गर्न हिम्मत गरें। नत्र त म अनाथ, अपाङ्ग हुँ भन्ने सोचेर धकाएर बस्थें होला नि।'
रीमा ९ वर्षको हुँदा विभिन्न संघ संस्थाको सहयोगमा धुलिखेल हस्पिटलमा उनको खुट्टाको अपरेशन भयो। 'खुट्टा पूरै काटेर फाल्नुपर्छ भनेको सुन्दा रोएँ, कराएँ। तर उपचारले दु:ख नदिने रहेछ।' उनले खुट्टाको अपरेशन पछि नयाँ खुट्टा पाइन्। फलामको खुट्टा। उनले सधैं सोचेकी थिइन्- मैले कहिले पनि दुई खुट्टाले टेक्न पाउने छैन। तर पहिलोपटक दुईवटा खुट्टाले टेक्दाको अनुभूति यसरी सुनाउँछिन्, 'अब म क्लासका अन्य साथीहरु जस्तै कार्यक्रममा नाच्न सक्छु। म पनि टाढा, टाढा घुम्न जान सक्छु। मैले काखी दुखाउने वैशाखीलाई साथी बनाइराख्नु पर्दैन।'
रीमा गाउँ गाउँ पुगेर आमाबुवा नभएका र शारीरिक समस्या भोगेका बालबालिकाको लागि गायन, नृत्य सिकाउन चाहन्छिन्। सीपमूलक तालिम र कार्यक्रमहरु लग्न चाहन्छिन्। तर आफू सानै भएकोले चाहेको गरिहाल्न नसक्नेमा केही दु:खी हुन्छिन्। 'तर हतार गरेर होइन धैर्य गरेर चाहेको कुरा पाउन सकिने रैछ नि। नसोचेको खुट्टा त पाएँ। अब त असम्भव केही छ जस्तो लाग्दैन।'
बिहान ६ बजेदेखि ८ बजेसम्म रीमा खुट्टाको थेरापीको लागि नृत्य सिक्न जान्छिन् र ८ देखि ९ बजेसम्म गायन कक्षा सकेर गान्धी आदर्शमा पढ्न जान्छिन्। ८ कक्षामा पढ्दै गरेकी उनी निकै परिपक्व कुरा गर्छिन्,'समय खेर जान दिनु हुन्न। राम्रो काम गरेर बिताएको समय पक्कै काम लाग्छ।'
बालिका दिवसले दिएको अवसरले उनको आत्मविश्वासमा थप ऊर्जा थपेको सुनाउँछिन्। आफू जस्तै ३०० किशोरीलाई अवसर दिनेले आफ्नै लागि कार्यक्रम आयोजना गरेको जस्तो लागेको बताइन्। भनिन्,'म पनि यसरी आफू जस्तैको लागि बोल्ने ठाउँ बनाउन चाहन्छु।'