PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

एसिया कप तयारीका लागि नेपाल यू-१९ टोली बंगलादेश जाने, बंगलादेश यु-१९ सँग ३ अभ्यास खेल खेल्ने



गोविन्दराज नेपाल

एसिया कप तयारीका लागि नेपाल यू-१९ टोली बंगलादेश जाने, बंगलादेश यु-१९ सँग ३ अभ्यास खेल खेल्ने

काठमाडौं : मलेसियामा हुने एसीसी यू-१९ एसिया कपको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली बंगलादेश भ्रमणमा जाने भएको छ।

युवा टोलीका प्रशिक्षक विनोद दासले नेपाली यू-१९ टोली आगामी शनिबार बंगलादेश जाने पहिलोपोस्टलाई बताए।

'हाम्रो रिक्वेस्टलाई स्वीकार गर्दै बंगलादेश क्रिकेट बोर्डले निमन्त्रणा गरेपछि हामी तयारीका लागि बंगलादेश जान लागेका हौँ।' दासले भने। 'त्यहाँ हामीले बंगलादेशको यू-१९ टोलीसँग ३ वान डे म्याच खेल्नेछौँ।'

बंगलादेश क्रिकेट बोर्डले पनि आफ्नो वेवसाइटमा नेपाली यू-१९ टोलीले अक्टोबर ३० देखि नोभेम्वर ६ सम्म बंगलादेश टुर गर्ने उल्लेख गरेको छ।

बंगलादेश टूरमा १५ खेलाडी जाने विनोद दासले बताए। 'यू-१९ एसिया कपका लागि हामीले अक्टोबर १३ देखि प्रशिक्षण गरिरहेका छौँ। त्यसबाट १५ खेलाडी छनोट गर्दै हामी बंगलादेश जानेछौँ।' दासले पहिलोस्टसंग भने। 'युथ एसिया कपका लागि पनि सोही टिमले नै निरन्तरता पाउनेछ।'

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली टोलीले गत महिना मलेसियामा एसीसी वेस्ट रिजन च्याम्पियन बन्दै यू-१९ एसिया कपमा स्थान बनाएको हो।

कात्तिक २३ गते (नोभेम्वर ९) देखि मलेसियामा हुने यू–१९ एसिया कपमा नेपालसहित कूल ८ टिमको सहभागिता हुनेछ।

यस्तै एसिया कपमा नेपालसहित आयोजकका रुपमा मलेसिया तथा एसियाका टेष्ट खेने पाँच राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तानले खेल्नेछन्। यसबाहेक एसीसी वेस्ट रिजनको विजेताले पनि यू-१९ एसिया कप खेल्न पाउनेछ।

 

एसिया कपमा राम्रो खेल्ने लक्ष्य

प्रशिक्षक विनोद दासले नोभेम्वर ९ देखि मलेसियामा हुने एसिया कपमा राम्रो प्रदर्शन गर्ने बताए। त्यसैका लागि हामी बंगलादेश भ्रमण गर्दैछौँ। गत वर्ष पनि हामी श्रीलंकासँग १ रनले हार्‍यौँ। भारतसँग पनि राम्रै खेलेका थियौँ। यो पाली अझै राम्रो गर्ने लक्ष्य छ, दासले भने।

श्रीलंकासँग १ रनको झिनो अन्तरले पराजित हुँदा नेपालले दोस्रो चरण प्रवेश गर्ने मौका गुमाएको थियो।

मलेसियामा हुने युथ एसिया कपमा लागि साविक विजेता भारत र पाकिस्तानले अन्तिम टोली घोषणा गरिसकेका छन्। भारतले हिमांशु रानाको कप्तानीमा टोली घोषणा गरेको छ।

हिमांशु राना र उपकप्तान अभिषेक शर्माले अघिल्लो संसकरणसमेत खेलेका थिए। यस्तै अघिल्लो पटक श्रीलंका खेलेका १७ वर्षीय पृथ्वी शाहलाई भने भारतको टिममा राखिएको छैन। दुलिप ट्रफीको फाइनलमा शतक बनाएका पृथ्वीलाई रणजी ट्रफी खेलाउनका लागि टिममा नराखिएको सेलेक्टरले जनाएको छ। पाकिस्तानले हसन खानको कप्तानीमा टोली घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell