PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

ब्याटिङमा फोकस महिला क्रिकेट, विश्वकप छनोटअघि बंगलादेशमा अभ्यास खेल खेल्ने



गोविन्दराज नेपाल

ब्याटिङमा फोकस महिला क्रिकेट, विश्वकप छनोटअघि बंगलादेशमा अभ्यास खेल खेल्ने

काठमाडौं: ब्याटिङ नेपाली क्रिकेटकै समस्याको रुपमा रहेको छ। चाहे पुरुष टोली होस् या महिला अथवा युवा टोली। सबैको ब्याटिङ कमजोर छ। नेपाली राष्ट्रिय महिला टोलीले अर्को महिना थाइल्याण्डमा आइसीसी वुमन्स टी-२० वर्ल्ड कप क्वालिफायर एसिया जोनमा प्रतिस्पर्धा गर्दैछ।

र यसका लागि प्रशिक्षक सामसनजंग थापाले ब्याटिङमै बढी फोकस हुने बताएका छन्। ‘हामीले ब्याटिङमै सुधार गर्नुपर्छ। ब्याटिङ राम्रो गर्न सक्ने राम्रो टिम लिएर थाइल्याण्ड जाने प्रयासमा छौँ।’ थापाले पहिलोपोस्टसँग भने। ‘ब्याटिङ गर्न सक्ने अलराउण्डर पनि टिममा चाहिएको छ।’

त्यसका लागि मंगलबारबाट सुरु भएको क्याम्पमा प्रशिक्षक थापाले ४ टिम बनाएर प्रशिक्षण गराइरहेका छन्। त्यसमा जसले राम्रो गर्छ उही छनोट हुन्छ। प्रारम्भिक चरणमा बोलाइएका ४८ मध्ये ४४ खेलाडी मात्र अहिले क्याम्पमा उपस्थित भएका छन्। अनुपस्थितमध्ये एक खेलाडी निर्मल शाही अहिले भारतमा क्रिकेट खेलिरहेका छन्। ‘उनले रेलवे टिमबाट खेलिरहेकी छिन् हामीले नेपाल बोलाउने प्रयास गरिरहेका छौँ। उनी आए राम्रो हुनेछ।’ थापाले भने 'गत वर्ष थाइल्याण्डमै भएको छनोटमा शाहीले नेपालको लागि राम्रो प्रदर्शन गरेकी थिइन्।'

यस्तै अनिता चौधरी, गीता गोसाई र शर्मी शर्माले पनि जानकारी गराएर क्याम्पमा उपस्थित नभएको थापाले जनाए।

संधै बलिङ जस्तै महिला टोलीको पनि राम्रो रहेको थापाको बुझाई छ। उनले अन्य टिमको भन्दा नेपालको बलिङ राम्रो रहेको बताए।

‘चाडपर्वले गर्दा प्रशिक्षण समय अली कम भएको छ। एक महिना अगाडी सुरु गर्न पाएको भए धेरै राम्रो हुन्थ्यो।’

 

बंगलादेशमा वैदेशिक प्रशिक्षण

थाइल्याण्ड जानुअघि नेपाली महिला टोलीले बंगलादेशमा पनि एक साता भन्दा बढी प्रशिक्षण गर्नेछ। ‘नोभेम्वर ९ देखि १८ सम्म नेपाली टोली बंगलादेशमा रहनेछ। बिकेएसपीमा ४/५ वटा खेल खेल्ने कार्यक्रम छ।’

बंगलादेश जानुअघि नै नेपालको अन्तिम टोलीको छनोट गरिने उनले जानकारी दिए। ‘नेपाली टोलीको कप्तानीमा रुविना क्षेत्रीले नै निरन्तरता पाएकी छिन्। आइसीसीले नै उनलाई कप्तान तोकेर पठाएको हो।' थापाले भने।

प्रशिक्षक थापासँगै राष्ट्रिय पुरुष टिमका प्रशिक्षक जगत टमाटा, कप्तान रुविना र आइसीसी प्रतिनिधि इमानुल हक सम्मिलित छनोट समितिले प्रारम्भिक टोली छनोट गरेको थापाले जानकारी दिए।

‘सातौँ राष्ट्रिय खेलकुदलाई नै मुख्य आधार बनाएर खेलाडी छनोट गरिएको हो। आइसीसीले ३३ खेलाडी मात्र छान्ने भने पनि सबै खेलाडी समेटिउन्, सबैलाई अवसर दिनुपर्छ भनेर नै हामीले अली धेरै खेलाडीलाई बोलाएका हौँ। सम्भवत कोही छुटेका छैनन्। अब यसबाट फेयर सेलेक्सन गरेर अन्तिम टिम निर्माण गरिनेछ।’

दोस्रो चरणमा २२ वा १८ खेलाडी छानिनेछ त्यसबाट अन्तिम १४ जना र ४ वैकल्पिक खेलाडी छान्नेछौँ। बंगलादेशमा १४ खेलाडी जानेछन्।

 

५ वर्षपछि महिला राष्ट्रिय टोलीको प्रशिक्षक

सामसङ थापाले करिब ५ वर्षपछि नेपाली महिला टोलीको प्रशिक्षण गर्ने अवसर पाएका छन्। ‘मैले सुरुवात नै महिला क्रिकेटबाट गरेको हुँ। २०१० र २०१२ मा मैले महिला टोली सम्हालेको थिएँ। अहिले फेरी जिम्मेवारी आएको छ।’ थापाले आगमनबारे बताए।

२०१० मा थापाको प्रशिक्षणमा नेपालले एसीसी यू-१९ च्याम्पियनसिपको उपाधि जितेर ह्याट्रिक गरेको थियो। यस्तै २०१२ मा चीनमा महिला टी-२० एसिया कप खेलेको थियो।

‘मैले उत्पादन गरेको हेर्दै आएको खेलाडी पनि अहिले टिममा छन्। सातौँ राष्ट्रिय खेलकुदमा पनि मैले मध्यमाञ्चलको टिम हेरेको थिएँ।’

‘महिलाले चाँडो विश्वकप खेल्न सक्छ, महिलामा सम्भव देखेर नै सुरुमा यसमा लागेको हो। तर नेपालको परिस्थितिले गर्दा अझ त्यो सम्भव हुन सकेको छैन।’

 

सबै खेल फाइनल बराबर

प्रशिक्षक थापाले थाइल्याण्डमा हुने क्वालिफायरमा सबै खेल फाइनल बराबर हुने बताए। ‘थाइल्याण्ड र चीनले पछिल्लो वर्षहरुमा राम्रो गरिरहेका छन्। हामी राम्रो क्रिकेट खेल्ने तयारीका साथ थाइल्याण्ड जानेछौँ। सबै टिमविरुद्धको खेल फाइनल बराबर नै हुनेछ। हाम्रो लक्ष्य भनेको सकेसम्म सबै टिमलाई हराउने हो। जुन असम्भव छैन तर कठिन छ। हामी अन्य टिमलाई पनि सजिलै जित्न दिनेछैनौँ’ थापाले भने। 

यसपटक नयाँ प्रशिक्षक आएपछि खेलाडीहरुमा पनि उत्साह थपिएको थापाले बताए। ‘अब पुराना कुरा बिर्सेर नयाँ जोस र उत्साहका साथ हामी खेल्नेछौँ। खेलाडीहरु पनि उत्साहित छन्।’

५ टिम सहभागि, १ टिम ग्लोबर क्वालिफायरमा छनोट हुने

यसअघि आइसीसीले आफ्नो वेवसाइटमा ६ टिमले क्वालिफायर खेल्ने र त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा जाने जनाएको थियो। तर प्रशिक्षक थापाका अनुसार ५ टिमले मात्र क्वालिफायर खेल्नेछन्। जुमा नेपाल र आयोजक थाइल्याण्डसंगै चीन, हङकङ र युएई छन्।


‘सिंगल राउण्ड रोविनमा प्रतियोगिता हुनेछ। लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ र विजेता टोली ग्लोबल क्वालिफायरमा छानिनेछ।’ उनले छनोट प्रक्रियाबारे जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell