PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

मायावतीलाई लट्ठीको भाषामा माया गर्ने आशिक 



स्वेच्छा राउत

मायावतीलाई लट्ठीको भाषामा माया गर्ने आशिक 

मायावतीको उमेर ३० वर्ष। आशिक खानको उमेर झण्डै डबल, ५८ वर्ष। जब आशिकले मायावतीलाई 'चल' भन्छन् आफूमाथि पर्यटकको भारी बोकेर लचकलचक गर्दै पाइला नाप्न थाल्छिन्। आशिक र मायावती एकअर्काको भाषा बुझ्छन्। त्यो मौन भाषा आशिकले बुझ्छन् र त मायावतीलाई भोक लागेको थाहा पाउँछन्, तिर्खा लागेको, थकाई लागेको, हिँड्न नसकेको सबै थाहा पाउँछन् तर पनि तालिका बाहिर रहेर केही सहयोग गर्न सक्दैनन्। मायावतीमा पनि आशिक र आशिकको हातमा भएको त्यो लट्ठीको भाषा बुझ्ने छुट्टै कला छ। 

आशिक भन्छन्,'मान्छेलाई जति माया गर्नुस्, दया गर्नुस्, सहयोग साथ दिनुस् उसले बिर्सन्छ। यो जमानामा मान्छेलाई बुझ्न पो गाह्रो, जनावरलाई त केही दिन मायाले पाले मजाले बुझिन्छ। ऊ आफ्नो बन्छ।' निकै गम्भीर कुरा गरिरहेका आशिक फेरि मायावतीलाई निर्देश गर्दै बोल्छन्,'आगे चल।' 

चितवन सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको हात्ती सफारीमा भेटिएका यी दुई, एक मान्छे र एक हात्ती दिनभर मात्र सँगै काम गर्दैनन् रातमा पनि सँगै हुन्छन्। मायावतीको हात्तीसारमा नै छ आशिकको पकाउने, खाने र सुत्ने कुटी। 

'बिहान तीन बजेबाट मायावतीलाई सफा गर्न, शृङ्गार्न थाल्नुपर्छ। अनि त्यसपछि सामुदायिक वनमा क्युमा राख्न लिएर जानुपर्छ', आशिक खान आफ्नो दैनिकीको सुरुवात बारे बताउँदै थिए। केही सम्झिए जसरी भने,'अँ सधैं बिहान बिहान म यसलाई गणेश भगवान मानेर ढोग्छु।' 
हात्तीमा सवार एक व्यक्ति सोध्छन्। 'दाइ तपाईं त मुस्लिम होइन र? आशिक खान। तपाईं पनि हिन्दु देउता मान्नु हुन्छ?' 

उनले अल्लाहलाईजस्तै हिन्दु देउतालाई पनि उत्तिकै सम्मान गर्ने भाव सहित भन्छन्,'मैले मेरो रोजीरोटीको पूजा गर्ने हो। मैले खाने, लाउने, कमाउने भाँडो मायावती नै मेरो सबै देउता हो।' 

एकछिन् मायावतीलाई बाटो निर्देश गरेपछि पछाडि सवार यात्रुलाई हेर्दै केही आक्रोशित प्रस्तुत हुन्छन्। 'अरे मान्छेलाई किन जात, धर्म र राष्ट्रियताले यति धेरै असर गर्छ? यो हात्तीले मलाई, तँ इन्डियन ममाथि नचढ् वा तपाईंलाई, तँ नेपाली ममाथि नचढ् भनेको छ र?' 
प्रश्न गरिसकेर पनि उनको तातेको दिमाग शान्त हुँदैन सायद। त्यसैले गुनासो पोख्छन्,'अरु देशकोहरुलाई सफारीमा मैले लुकेर रहेको जनावर देखाउनु, १०/१५ मिनेट बढी डुलाउनुले मतलब राख्छ। तर प्रायः नेपाली र इन्डियन गेस्टलाई मेरो जात, धर्म र नागरिकताको प्रश्न महत्वपूर्ण लाग्छ।' 

राष्ट्रियता सोधेर टिप्स घटी वा बढी दिनेहरुप्रति आशिक खानको आपत्ति छ।



गोरखपुर, इन्डियाका आशिक खानको खानदानी पेशा हो माउते। उनका हजुरबुवा, बुवा, काका सबैले इन्डियामा माउते नै बनेर जीवन बिताए। आशिक खान भने १६ वर्षअघि हात्ती माउते बनेर नेपाल आएका हुन्। उनका दुई छोरा १६ वर्षीय राहुल खान र २३ वर्षीय शाहरुख खान पनि सौराहामै हात्ती माउते हुन्।

छोरा राहुलले चलाउने हात्ती मायाकली। शाहरुखको निश्चित हात्ती छैन। किनकी तीन बाबुछोरा पालैपालो सफारीको लागि दुई हात्ती लिएर जान्छन्। बिहान ३ बजे हात्तीसार र हात्ती सफा गर्नेदेखि, दिनभर सफारी गराउने र बेलुकी लगेर खान दिनसम्मको काम गरे बापत दैनिक तरकारी, चामल, सुत्ने ठाउँ र मासिक आठ हजार पाउँछन्। त्यो तलब जम्मा गर्छन् र चार, पाँच महिनामा केही दिनको लागि बिदा पाउँदा गोरखपुरमा रहेका परिवारको लागि लिएर जान्छन्। उनी १६ वर्ष पहिले आउँदा १५ सय रुपैयाँ तलव पाउँथे। समयसँगै सौराहामा हात्तीको सङ्ख्या बढ्यो, पर्यटक बढे, सफारीको रेट बढ्यो तर माउतेको तलब बढ्ने क्रम हात्तीको चालझै सुस्त छ। 

'घरमा श्रीमतीहरु र बालबच्चा मात्र छन्। ढिलोचाँडो हाम्रै कमाइको नून पर्खन्छन् तर गरिबी छ भन्दैमा छोरी मान्छेलाई काममा पठाउँदैनौं।' 
१६ वर्षको छोरो राहुल पनि घरकै लागि कमाउँछन्। बुवाको आँखामा हेरेर प्रश्न गर्छन्,'पढाइ पनि गरिबको लागि होइन रैछ है?' 

बुवाले आँखा तरेपछि हात्तीसँगै अघि बढ्छन्। पर पुगेर रोकिन्छन्। राहुललाई आफूले मिस नेपाललाई सफारी गराएको कुरा सुनाउनु रहेछ। बुवातिर हेर्दै नहेरी चिच्याउँछन्,'नाम थाहा छैन तर ऊ मिस नेपाल थिई। मलाई टिप्स पनि दिइन्। उनीहरु त निकै कडा अत्तर छर्कने रहेछन्।' 
बाबा आशिकले चर्केर केही बोलेपछि राहुल आफ्ना यात्रु लिएर केही पर नै पुग्छन्।

लाग्छ अभावले जिन्दगीमा धेरै कुरा नखोज्न यो माउतेहरुको परिवारलाई दवाव दिएको छ। 

६५ हात्ती छन् र केही सङ्ख्यामा थप माउते। यी सबको नून तेल हात्ती सफारीको लागि आउने पर्यटकले बुझाउने १२ सय देखि २५ सय रुपैयाँबाट जोहो हुन्छ। खान परिवारका तीन र थप दुई गरी पाँच माउते भारतीय छन् भने अन्य सबै सर्लाहीको स्थानीय वा सप्तरी, नवलपरासीका बासिन्दाहरु माउते रहेका छन्। हात्ती संचालक समितिका अध्यक्षसमेत रहेका दीपक भट्टराईको पनि दुई हात्तीका लागि दुई माउते छन्- २२ वर्षीय सञ्जय चौधरी र ३२ वर्षीय कान्छा कुमाल। उनीहरु दुई पनि माउतेको काम गर्दै आएका छन्। उनीहरुको दैनिकी पनि आशिक खान र उनको छोराहरुको जस्तै नै हो। उनीहरुले पनि आफ्नोसँगै हात्तीको जीवनलाई पनि जोड्नु पर्छ। बिहान उठेदेखि बेलुकी सुत्नु अघिसम्म। उनीहरुले पनि खान, लगाउन र बस्न पाउँछन्। समितिले तोकेको ८ हजार मासिक तलब, पर्यटकले दिने टिप्स र हात्ती मालिकले काम हेरेर थपिदिने ३/ ४ हजारसम्मले उनीहरुको परिवार चल्छ। यी माउतेहरु अन्त त सक्दैनन् तर एकअर्कासँग गुनासो गर्छन् पैसा कम हुने बारे। 



माउतेहरुको कुरा सुन्ने पर्यटकलाई पनि लाग्न सक्छ मिहेनत अनुसार कमाइ छैन रहेछ भन्ने। 'तर हात्ती पाल्न कहाँ सजिलो छ र?' दीपक भट्टराई प्रश्न गर्छन्। उनका अनुसार हात्ती पाल्न मासिक ८० हजारदेखि एक लाखसम्म खर्च लाग्छ। सबै हात्तीलाई दैनिक दुई सय मुठा पराल दिइन्छ। साथै आवश्यकता अनुसार करिव २० किलो धान, दुई किलो सख्खर, चना, नुन,उखु, घाँसको पनि प्रयोग हुन्छ।  

'पहिले पहिले त लगानी अनुसार कमाइ पनि हुन्थ्यो तर अहिले चितवनमा पर्यटक घट्नुको असर हात्ती पाल्नुमा पनि परेको छ।' भूकम्प र नाकाबन्दीपछि सौराहामा पर्यटक घट्नुले हात्ती सफारी पनि कम हुन थालेको छ। भट्टराईले दिएको जानकारी अनुसार पहिले पहिले हात्ती र माउतेको खर्च कटाएर पनि महिनाको  ५०/६० हजारसम्म कमाई हुन्थ्यो तर अहिले १०/ २० हजारको आम्दानीमा चित्त बुझाउनु पर्छ। 
ऋषि तिवारीको एउटा हात्ती छ। उनी पनि हात्ती पालनको आर्थिक पाटोसँग असन्तुष्ट छन्। 'पर्यटकको फ्लो ठप्प भएको छ। सधैं कमाइभन्दा बढी खर्च गरेर त कहाँ पाल्न सकिन्छ होला र? तर नपालेर पनि के गर्ने? किनिसकियो।' 

उनी हात्ती संचालक समितिका सचिव हुन्। उनका अनुसार हात्तीमा लगानी, मोल्न पर्ने जोखिम र प्रतिफलको तालमेल नमिलेका कारण हात्ती पालनको व्यवसायिक पाटो कमजोर हुँदै गएको छ। 



चितवनको हात्ती मालिकहरुको संयुक्त युनाइटेड हात्ती संचालन सहकारी संस्था रहेको छ। जहाँ हरेक दिन हात्ती सफारीबाट भएको आम्दानी जम्मा गरिन्छ। 'मेरो हात्तीले यति कमायो तेरोले त्यति भन्ने हुँदैन। जति हुन्छ त्यही विभाजन हुने हो', हात्ती संचालनलाई व्यवस्थित बनाउने उद्देश्यले स्थापित सहकारी अध्यक्ष रहेका भट्टराईले जानकारी दिए। उनका अनुसार व्यवस्थापनको एक रुट बराबर सय रुपैयाँ काटिन्छ र अरु रकम जम्मा हुन्छ।

पहिले पहिले भारतबाट हात्ती आयात गरिन्थ्यो। एउटा हात्तीको ८० लाख देखि १ करोडसम्म पर्छ। अहिले भने नेपालभित्र नै हात्तीको किनबेच हुने गरेको छ। यो क्षेत्रमा सफारीका लागि प्रयोग हुने सबै ढोई अर्थात पोथी हात्ती हुन्। यी सब पोथी हात्ती प्रजननबाट भने वञ्चित छन्। २२ देखि २४ महिनामा हात्ती गर्भवती हात्तीले बच्चा जन्माउँछ। त्यसपछिको ३, ४ वर्ष छावालाई दुध खुवाउनु पर्छ। 'पाँच, सात वर्ष एउटा हात्तीलाई आमदामी बिना पाल्न मात्र त व्यवसाय गर्नेहरुले सोच्नु नै हुँदैन। त्यसैले व्यवसायिक प्रयोजनका लागि करोडसम्म लगानी गरेको हात्ती गर्भवती हुनु त मालिक घाटामा पर्नु हो।' 

कहिलेकाहीँ जङ्गली मत्ताले निजी व्यवसायीहरुको ढोईलाई गर्भवती बनाएको घटनाहरु हुने भए पनि निजी लगानीकर्ताको मत्ता छैन। सरकारी हात्ती प्रजनन केन्द्रसँग भने भाले र पोथी दुबै हात्ती छन् जसका कारण सरकारी प्रजनन केन्द्रमा वर्षको ५ वटासम्म हात्ती थप हुन्छन्। 

हात्ती सफारी हुने सामुदायिक वनभित्र हात्तीको लागि घाँस काट्न मनाही छ। चितवन राष्ट्रिय निकुञ्जले अन्य वन्यजन्तुलाई असर गर्ने भन्दै घाँस काट्न रोक लगाएको हो। तर ती ढोईहरु सफारी गर्दागर्दै भुईंमा भएका घाँस लुस्दै हुन्छन्। माउतेको निर्देशन अनुसार नमस्ते गर्ने, फोटोको लागि पोज दिने, पर्यटकले माउतेलाई दिएको टिप्स आफ्नो सुँडले माथिसम्म पुर्‍याइदिने जस्ता काममा पनि सिपालु लाग्छन्। यी ढोईहरुले ती मालिकलाई चिन्दैनन् जसले बार्गेनिङ गरेर उसमा लगानी गरेको थियो। उनीहरु माउतेलाई चिन्छन् जसले उसको स्याहार पनि गर्छ र रिस उठ्दा सिर्कनोले दुख्ने गरी प्रहार पनि गर्छ। तर हात्तीमा माउतेको अधिकार छैन। पूर्ण अधिकार त मालिकको पनि हुँदैन। 'हात्ती मरेको खण्डमा हाडखोर सबै सरकारलाई बुझाउनु पर्छ', हात्ती मालिक रहेका अन्जन पाण्डेले बताए। 



रुट अनुसार पर्यटक बोकेर जङ्गलै जङ्गल हिँड्ने पालो कुरेर बसेका हात्तीहरु मानव आकर्षणको केन्द्र त बनेका छन् तर यिनीहरुसँग जोडिएको व्यवसायिक, भावनात्मक, आर्थिक लगायत अन्य विषयहरु उनीहरुको सुँड र कानमा गरिने श्रृङ्गारका रङ्गहरु जस्तै सुन्दर पक्कै छैनन्। व्यवसायीको लाखौं लगानीको प्रश्न, माउतेको परिवारको नुन तेलको प्रश्न, पर्यटकको आनन्दको प्रश्न अगाडि ढोइको वर्जित प्रजनन, तालिममा दिइने सास्ती, उनीहरुले बोल्न नसक्ने भारीको पीडा, पशु अधिकारको कुरा - यी प्रश्नहरु गौण मानिन्छन्। तर पर्यटन व्यवसायको अझै उत्थान हुनुछ। त्यसमा मायावती जस्ता सफारी हात्तीहरु र आशिक खानजस्ता हात्तीलाई बुझ्ने माउतेहरु आवश्यक परिरहन्छन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell