PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

पूर्वअन्तर्राष्ट्रिय खेलाडी थापा युइएफए मास्टर्स कोर्षमा सहभागी हुने, एसियाको एक्लो प्रतिनिधि



गोविन्दराज नेपाल

पूर्वअन्तर्राष्ट्रिय खेलाडी थापा युइएफए मास्टर्स कोर्षमा सहभागी हुने, एसियाको एक्लो प्रतिनिधि

काठमाडौं : नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय महिला टिमका प्रशिक्षक कुमार थापा युरोपेली फुटबल महासंघ (युइएफए)ले सञ्चालन गर्ने एक्जुकेटिभ मास्टर्स फर इन्टरनेशनल प्लेअर्स कोर्षका लागि छनोट भएका छन्।

विश्वकै चर्चित २५ पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरुले भाग लिने यस कोर्षमा छनोट हुने थापा नेपालको मात्र नभई एसियाकै एक मात्र खेलाडी हुन्। जहाँ विश्वकप जितेका, युरोकप जितेका विश्वकै हस्ती खेलाडीहरुको जमघट हुनेछ।

'युइएफए म्यानेजमेन्ट सम्बन्धी कोर्स गर्न पाउनु मेरो लागि एकदमै खुशीको विषय हो।' थापाले मंगलबार सानो गौचरणमा कार्यक्रम आयोजना गर्दै सञ्चारकर्मीमाझ खुसी साटे। 'नेपाली फुटबलमा लागेर यहाँसम्म आइपुगेकाले यसको श्रेय पनि नेपाली फुटबललाई नै जान्छ।'

युइएफएको शैक्षिक पार्टनरको रुपमा रहेको युनिभर्सिटी अफ लिमोगेस, फ्रान्स र बिर्कबेक युनिभर्सिटी अफ लण्डनले युरोपका विभिन्न सात देशको सात सहरमा यस कोर्सको सञ्चालन गर्नेछ।

उक्त कोर्ष युइएफएले पूर्वअन्तर्राष्ट्रिय पुटबलरहरुको लागि तयार पारेको कोर्स हो। जसको दोस्रो संस्करण २०१७ देखि २०१९ सम्म कूल २० महिना चल्नेछ।

यही नोभेम्वर १३ देखि युइएफए हेडक्वाटर स्वीट्जरल्याण्डको नियोनमा शुरु हुने कोर्समा भाग लिने कुमार थापा नोभेम्वर १० मा त्यसततर्फ प्रस्थान गर्नेछन्।

यसअघि नियोनमै अक्टोबर १२ मा इन्टक्सन प्रोग्राममा थापा सहभागी भएर आइसकेका छन्। उनले कुनै ठाउँमा गएर आएपछि जानकारी गराउँदा बढी खुशी भइन्छ भनेर यसको जानकारी ढिला गराएको पनि बताए।

'एएफसी कै कोर्स गर्न गाह्रो भइरहेका बेला युइएफएको कोर्स पाउनु त्यो पनि एसियाबाट एक मात्र खेलाडीको रुपमा सहभागि हुनु गर्वको कुरो हो।'

थापाका लागि युइएफले २७ हजार युरो करिब ३५ लाख नेपाली रुपैयाँ बराबरको स्कलरसिप पनि उपलब्ध गराएको छ।

सन् २०१९ मे ३१ मा च्याम्पियन्स लिग फाइनल खेल दौरान हुने परिक्षा पश्चात नोभेम्वर १४ मा युइएफएको हेडक्वाटर नियोफनमा कोर्ष सम्पन्न हुनेछ।

को-को सहभागि हुँदैछन् कोर्षमा?

थापा एसियाबाट सहभागी हुने एक्लो खेलाडी हुन्। यस्तै सन् २००२ मा विश्वकप जितेका ब्राजिली खेलाडी गिलर्टो शिल्भा, १९९८ को विश्वकप विजेता यूरी जार्कोभ, २०१५ को महिला विश्वकप विजेता जर्मनीकी आनेका खान, स्पेन तथा बार्सिलोनाका पूर्व खेलाडी गाजिया मेन्डिएटा, फ्रान्सेली क्लब पीएसजीका टीम कोअर्डिनेटर तथा पूर्व बार्सा खेलाडी म्याक्सवेल, आइभरीकोष्टका पूरव् खेलाडी तथा स्कटिस क्लब सेल्टिकका सहायक प्रशिक्षक कोलो टुरे लगायत २५ जना छन्।

यी चर्चित फुटबल खेलाडीसँग रहेर फुटबलको मुटु मानिने युरोपसँगै अमेरिकन फुटबल व्यवस्थापन र सञ्चालनबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्न मद्दत पुग्ने यो कोर्स नेपाली फुटबल व्यवस्थापनका लागि पनि कोसेढुङ्गा सावित हुने थापाले जनाए।

स्वीट्जरल्याण्डबाट शुरु हुने कोर्ष फ्रान्स, इंगल्याण्ड, स्पेन, नेदरल्याण्ड, जर्मनी र अमेरिकामा सञ्चालन हुनेछ।

 

२७ हजार युरो स्कलरसिप

झण्डै दुई वर्षसम्म युरोपका सात सहरमा चल्ने कोर्सका लागि थापाले स्कलरसिप प्राप्त गरेका छन्। उनलाई युइएफएले २७ हजार युरो स्कलसिप प्रदान गरेको थापाले जानकारी दिए।

दुई वर्षसम्म युरोपका विभिन्न सहरमा जानुपर्ने भएकाले अन्य खर्चका लागि थापाले नेपाल सरकार लगायत विभिन्न खेल सरोकार निकायम करपोरेट हाउससँग सहयोगका लागि आग्रह समेत गरेका छन्।

यस्तै नेपाली फुटबल विश्लेषक नविन पाण्डेले थापाका लागि जाने आउने टिकट स्पोनसर गर्ने बताएका छन्। यसका लागि हिमालयन बैंकको टेकु ब्रान्चमा एकाउन्ट नम्वर ०१८०१९५३९२००१४ मा रकम जम्मा गर्ने पाण्डेले जानकारी दिए। त्यसमा जम्मा भएका सबै रकम थापाको सहयोगका लागि रहनेछ।

जर्मन जायन्ट वायर्न म्युनिख फ्यान क्लबको प्रेसिडेन्ट रहेका पाण्डेले थापाका लागि वायर्न म्याच हेर्न २ वटा टिकट उपलब्ध गराउने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell