PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

केमा चित्त बुझेन प्रचण्डलाई? व्यक्तिगत वेबसाइटमा सार्वजनिक गरेनन् साझा घोषणापत्र



केमा चित्त बुझेन प्रचण्डलाई? व्यक्तिगत वेबसाइटमा सार्वजनिक गरेनन् साझा घोषणापत्र

काठमाडौँ : मंगलबार तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा एमाले अध्यक्ष केपी ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको साझा घोषणापत्र सार्वजनिक गरे।

प्रचण्डले घोषणापत्रबारे ब्रिफिङ गर्दै तयारीका क्रममा ढिला भएकाले जारी गर्न ढिला भएको भन्दै असन्तुष्टि पोखे। एमाले अध्यक्ष ओलीले उत्कृष्ट घोषणापत्र दोहोर्‍याइ तेहर्‍याइ भने। तर प्रचण्डले त्यसो भनेनन्। 

घोषणापत्र सार्वजनिक भएपछि एमाले अध्यक्ष ओलीले ‘एमाले र माओवादी केन्द्रको राष्ट्र निर्माणको उत्कृष्ट घोषणापत्र सार्वजनिक। घोषणापत्र कार्यान्वयनका लागि गठबन्धनलाई जिताऔं’ लेख्दै ट्वीट गरे।
 

त्यसैगरी एमालेको आधिकारिक वेबसाइटमा पनि साझा घोषणापत्रको विस्तृत विवरण अपलोड गरिएको छ ।


यता माओवादी अध्यक्ष प्रचण्डले भने घोषणापत्र जारी भएको भोलिपल्टसम्म पनि आफ्नो सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा घोषणापत्र त परै जाओस्, फोटोसमेत सार्वजनिक गरेका छैनन्। 

हरेक कार्यक्रमको तत्काल अपडेट हुने उनको व्यक्तिगत वेबसाइट सिएम प्रचण्ड डटकममा पनि घोषणापत्र सार्वजनिक बारे समाचार राखिएको छैन।

त्यसो त उनका स्वकीय सचिव एवं पुत्र प्रकाश दाहालले अध्यक्ष प्रचण्डको हरेक कार्यक्रम लाइभ गर्न भ्याउँछन् । तर, प्रकाश दाहालको आधिकारिक फेसबुक पेजमा घोषणापत्रबारे कुनै जानकारी राखिएको छैन ।

एमालेसँग गठबन्धन गरी निर्वाचनमा होमिइसकेको अवस्थामा मत आकर्षण गर्ने महत्वपूर्ण दस्तावेज केमा चित्ता नबुझेर अध्यक्ष प्रचण्डले सार्वजनिक नगरेका होलान्? प्रश्न कायमै छ।

अपडेट : पहिलोपोस्टमा यो समाचार प्रकाशित भएपछि बुधबार दिउँसो २ बजेर १७ मिनेटमा प्रचण्डले ट्विटरमा र आफ्नो व्यक्तिगत वेबसाइटमा साझा घोषणापत्र प्रकाशित गरेका छन्-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell