PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

वेब सिरिज हाइस्कूल जसमा कलाकारले नै नसोचेको ट्विस्ट आयो



स्वेच्छा राउत

वेब सिरिज हाइस्कूल जसमा कलाकारले नै नसोचेको ट्विस्ट आयो

विजय अधिकारी लम्जुङका हुन्। पढ्नका लागि काठमाडौं आएका उनी प्लस टुसम्म बुवासँग बसे। त्रिचन्द्र क्याम्पसमा बिएससी पढ्न भर्ना हुँदा बुवा गाउँ फर्किए।

'बुवालाई लाग्यो छोरा ठूलो भयो अब एक्लै बस्न सक्छ। राम्रो नराम्रो छुट्टाउन सक्छ।' तर विजयले त स्वतन्त्र भएको महसुस गरे। एक्लो भएपछि दबाएर राखेको रहर पूरा गर्छु भन्ने सोचे।

'मलाई नाटक सिक्नु थियो। जसबारे बाबा बिल्कुल नकरात्मक हुनुन्थ्यो', उनले अभिनय सिक्ने भोक पूरा हुनसक्नुको पहिलो चरण सम्झिए र भने,'मसँग अभिनय सिक्ने भोक थियो। बाबा जानु भएपछि बाटो पनि खुला भयो। तर पैसा कहाँबाट ल्याउने?' विजयले सुरुवाती दिनको कथा निकै भावुक बनेर सुनाए,'२० दिन होटलमा भाडा माझेर एक्टिङ क्लास जोइन गरें। पछि पछि खाजा खाँदै नखाई जोहो गरे।'

उनले शैली थिएटरमा नाटक सिकेका हुन्। किस्ताबन्दीमा पैसा तिर्छु त भनेका थिए 'तर मैले पैसा नतिरी कक्षा संचालन पनि सम्भव थिएन नि।' एक वर्ष अघि शैली थिएटर कै प्रस्तुति रहेको 'चिसो यात्रा'मा बाहेक अन्य नाटकमा काम गर्ने मौका उनले पाएका छैनन्।
 
विजयको कलाकार बन्ने हुटहुटी। सानो तिनो भए पनि कुनै नाटक वा फिल्म, सिरिजमा रोल पाए हुन्थ्यो भन्ने सोच।  त्यस्तैमा साथीहरुको अभिनय रहने भन्दै वेब सिरिजको प्रचार देखे। त्यसमा सानो तिनो रोलको आशले पटकथा लेखक सरिन पोखरेलसँग आग्रह गरे। 

वेब सिरिजको नाम 'हाम्रो हाइस्कूल'। ५ मुख्य पात्र तय भैसकेका थिए। नयाँ भूमिकाको लागि मान्छे खोजी भैरहँदा विजयको आग्रह स्वीकार गरे सरिन पोखरेलले जो हाइ स्कूलका एक्ज्युकेटिभ प्रोड्युसर भनिएका थिए। 

भूमिका थियो तेस्रो लिङ्गीको। बन्नी पात्र बन्नु पर्ने। 'लागेको थियो चान्स पाए जे पनि गर्छु। न पैसाको मतलव थियो न अरुले के भन्ला भन्ने डर। फरक प्रस्तुति दिन पाउने भएपछि खुशी थिए', उनले पहिलोपटक सिरिजको लागि चयन हुँदा मनमा लागेको कुरा सम्झिए। दिएको भूमिका इमान्दारिताका साथ गरे।

'धेरैले मेरो अभिनयको सकारात्मक प्रतिक्रिया दिनु भयो अनि कतिले चाहिं किन तेस्रो लिङ्गीको रोल गरेको भनेर गाली गर्नु भयो। तर मैले त्यसमा केही नराम्रो महशुस गरेको थिइनँ। उनीहरुलाई के थाहा कलाकारले मञ्च वा स्क्रिन पाउनुको महत्व?' हाइस्कूल युवा पुस्तामा चर्चित भैराख्दा विजय पनि खुशी थिए तर कसैले उनको बाबालाई हाइस्कूल देखाइ दिएछ।

फोनमा बाबाले गाली गरेको सम्झिन्छन्,'त्यती नमिठो गाली कहिले पनि सुनेको थिइनँ। हुन पनि ठूलो मान्छे बनाउने सपना देखेर साइन्स पढाएको छोराले पढाई छोडेर अभिनयमा लाग्नुले कसरी खुशी दिन्थ्यो?' तर पनि विजयले सिरिज छोडेनन्।
 
७ एपिसोड पछि सिरिज बन्द भयो। चित्लाङमा छायांकन गरेर फर्किए पछि आगामी एपिसोड सुटिङको सल्लाह हुँदै थियो। तर चित्लाङबाट फर्किदै गर्दा कलेज टुर गएको गाडीमा अचानक आगो लागेको सिन देखाइन्छ। 'जुन सिन देखेर हामी आफै छक्क पर्‍यौँ। हामी मर्ने न स्क्रिप्टमा थियो न निर्माण युनिटले जानकारी दिएको थियो',कलाकार रहेकी अनुष्का अधिकारी घटना सुनाउँदै हाँस्छिन्। त्यसपछि हाइ स्कूलको पहिलो कलाकार टिमसँगको सिरिज बन्द भयो।

सिरिज बन्द हुनुको मुख्य कारण प्रोडक्शन कमजोर व्यवस्थापन मान्छन् कलाकारहरु। पाँच मुख्य भनिएका पात्रहरुसँग निर्माण कम्पनी योर स्टाइलले कन्ट्र्याक्ट साइन गराएको थियो । 

डान्स ग्रुप कार्टुन्ज क्रुका लागि निर्देशक समेत रहेका सरोज अधिकारी भन्छन्,'कम्पनीले नै सम्झौता अनुसार काम गरेन। न सुटिङको ठेगान न लेनदेनको।' अधिकारीले दिएको जानकारी अनुसार काव्या बनेकी स्नेहा पौडेल, भागिरथी (अनुश्का अधिकारी), आश्मा विश्वकर्मा (माल्विका), सरोज अधिकारी (अश्विन) र संयोग गुरागाईं (रोनी)सँग गरिएको सम्झौतामा योर स्टाइलले सिरिजको सिजन १ को लागि १० हजार, सिजन २ को लागि १५ हजार र त्यसपछि फिल्म गराउँछु। जसका लागि १ लाख रुपैयाँ दिने उल्लेख गरिएको छ। 

'सिजन १ छायांकनको लागि १० दिन लेखिएको भएर हामीले १० हजारमा हुन्छ भनेका हौं। एक दिनको एक हजार ठिकै हुन्छ जस्तो लागेको थियो तर सिजन वानको ७ एपिसोडकै लागि ४ महिना लाग्यो', भागिरथी बनेकी अनुष्का अधिकारी भन्छिन्। 

चार महिना लगाएरै भएपनि सात एपिसोड पुरा गर्दासम्म एड्भान्स रकम स्वरुप पाएको पाँच हजार रुपैयाँ बाहेक केही नपाएको कन्ट्र्याक्ट गरेको पाँचै कलाकारको दाबी छ। बन्नी बनेका विजय अधिकारी, हनी बनेकी दृषी श्रेष्ठले त झन् एक रुपैयाँ पनि पाएनन्। दृषी योर स्टाइलकी आन्तरिक स्टाफ थिइन्। कलाकरको रुपमा रहेका विजय भन्छन्,'मलाई त चान्स पाए जस्तो काम पनि गर्छु भन्ने थियो। त्यसैले पैसा, खाजा, खाना समेत नभनी काम गरें। तर टिममा कलाकारको सम्मान भएन। न निर्देशक हुने न स्क्रिप्ट अनुसार काम। सिरिज राम्रो बनेको भए चित्त बुझाउने ठाउँ हुन्थ्यो।' 

यस बारेमा सिरिजको निर्देशक तथा निर्माता रहेका नितिन चन्द भन्छन्,'साधारण खाजा, खाना सबैलाई दिएका हौं। हरेकले चाहे जस्तो फरक फरक खान त पिकनिक गएका हैनौं नि।' उनले आफू कुनै दिन इमर्जेन्सीमा बाहेक सबै एपिसोडको निर्देशन टिम सँगै रहेर गरेको बताउँछन्। नितिन चन्दले आफूले कन्ट्र्याक्ट अनुसार पैसा दिएको समेत दाबी गर्दै गर्दा कलाकार टिम भने एकसाथ उनको कुरामा असमर्थ जनाउँछन्। मोडल रहेकी रङ्गमञ्चकर्मी स्नेहा पौडेल भन्छिन्,'पैसा परको कुरा लुगा समेत आफैले म्यानेज गर्नु पर्यो। काम गरिरहेकी छोरी पकेट मनीले सुटिङ गर्दाको खाजा, लुगा म्यानेज गर्छे भन्दा घरमा के जवाफ दिने?' 

रङ्गमञ्चमै काम गरिरहेका संयोग गुरागाईंले सिरिजमा काम गरेर सिक्ने अवसर पाएको ठानेका थिए। तर सिकाउने नै कोही सुटिङमा नभएपछि उनीहरु एकअर्कालाई निर्देश गर्न थालेको सुनाउँछन्। भन्छन्,'स्टेज होस् की स्क्रिन हामीलाई त अझै सिक्ने ठाउँ चाहिएको थियो तर भयो उल्टो। हामीले थिएटरमा सिकेकोले निर्देशक बिना सात एपिसोड पुरा गर्यौं।' संयोग र अर्की थिएटर आर्टिस्ट अनुष्का अधिकारीको पनि हाइ स्कूल पहिलो स्क्रिन अनुभव थियो। तर पर्दा पछाडीको अनुभव तितो संगाल्न पुगे। 

कभर डान्स गरेर चर्चामा आएका कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माले हाइ स्कूलबाट आफ्नो अभिनयमा निखार ल्याउने सोंचेका थिए। त्यसैको लागि पन्ध्र हजार फि तिरेर योर स्टाइलमा वर्कशप पनि गरे। तर हाइ स्कूलको आन्तरिक लफडाले उनीहरु निराश छन्। सरोज भन्छन्,'समयमा व्यवस्थित ढङ्गले सुटिङ मात्र सक्काइ दिएको भएपनि चित्त बुझाउने ठाउँ हुन्थ्यो। अरु प्रोजेक्ट पनि हुन्छ। सधैं सिरिजकै सुटिङ पर्खेर अरु काम छोड्दा क्रुमा राम्रो सन्देश जाँदैन नि।' आश्माका अनुसार यी कलाकारले समयमा तोकिएको रकम र सुटिङमा खाना, खाजा र लुगाको उचित व्यवस्थापन मात्र चाहेका थिए। 'त्यसैको लागि निर्माण युनिटसँग मिटिङ बस्न अनुरोध गरेका थियौं। तर भोलि भोलि भन्दाभन्दै जानकारी बिना कथामा ट्विस्ट ल्याइयो', आश्मा गुनासो पोख्छिन्। 

आश्मा, संयोग, अनुश्का, सरोज र स्नेहाले पाँच पाँच हजार पाए। त्यस बाहेक अन्य रकम माग्दा निर्देशक चन्दले भेटन् नमानेको बताउँछन्। पटकथा लेखक सरिन, विजय र दृषीले त एक रुपैयाँ पनि पाएनन्। जस बारे कुरा गर्दा नितिन चन्दले पहिलोपोस्टसँग भने,'विजय त रुदै रोल मागेको हो। गाडी पड्केको सिन पछि पनि म गर्छु भनेर आएको थियो। उसँग पैसाको कुरा नै भएको थिएन। दृषी पनि आफै गर्छु भनेर गरेको काम हो। कन्ट्र्याक्ट भएकोहरुलाई त एड्भान्स रकम दिएकै हौं।' नितिन चन्द आफू गलत नभएको दाबी गर्छन् भने कलाकार अनियमितता, अस्तव्यस्तता र गैर जिम्मेवार निर्माण युनिट बारे गुनासो। नितिन चन्द भन्छन्,'सुटिङ ढिला हुनुले कलाकारलाई मात्र घाटा हुन्छ र? हाम्रो झन् आर्थिक पक्षको कुरा आउँछ। जानी जानी ढिला गरेर हामीलाई पनि लाखौं डुबाउने रहर हुँदैन नि।' 

नेपालमा वेब सिरिज भर्खर भर्खर चर्चामा आइरहँदा प्रचार प्रसार सहित सार्वजनिक भएको वेब सिरिज हाइस्कूलले पनि दर्शक, कलाकार र पटकथा लेखकले नै नसोचेको ट्विस्ट सहित कलाकार बाहिरिए। प्रायोजित सिरिजमा मै अस्तव्यस्तता सिर्जना हुनुको मुख्य कारण लगानी बन्नु बारे कलाकार संयोग भन्छन्,'हाम्रो करियरको सुरुवाती फेज हो। हामीले त भोग्यौं। अन्य नयाँ साथीहरुले भोग्न नपरोस्, यस्तो घटनाहरुले नेपाली अभिनय, कला क्षेत्र बारे राम्रो संदेश पक्कै जाँदैन।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell