PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

जर्सी नम्बर १० र फ्यानहरुलाई एकदमै मिस गर्नेछु : अनिल गुरुङ



गोविन्दराज नेपाल

जर्सी नम्बर १० र फ्यानहरुलाई एकदमै मिस गर्नेछु : अनिल गुरुङ

काठमाडौं : फरवार्ड अनिल गुरुङ नेपालका लागि ५०औँ अन्तर्राष्ट्रिय खेल खेल्ने संघारमा छन्। एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार हुने फिलिपिन्सविरुद्ध खेलमा मैदान उत्रदै नेपालको लागि ५० खेलको कोसेढुङ्गा पूरा गर्ने अभियानमा छन्, अनिल।

उनले यसअघि नै फिलिपिन्स विरुद्धको खेल नेपालको लागि अन्तिम खेल हुने बताएका थिए।

एक दशकभन्दा लामो समय नेपालका लागि खेलेर सन्यास लिन लागेका अनिलले जर्सी नम्बर १० र फुटबल फ्यानहरुलाई सबैभन्दा धेरै मिस गर्ने बताए।

'मैले राष्ट्रिय टोलीका लागि लगाएको जर्सी नम्बर १० र नेपाली फुटबल फ्यानलाई सबैभन्दा धेरै मिस गर्नेछु।' फिलिफिन्ससँग खेल हुनुअघि अनिलले सोमबार एन्फा कम्प्लेक्समा भने। 'मेरो फेमिली, फुटबल फ्याहरुको कारणले गर्दा नै म यहाँसम्म आइपुग्न सफल भएको हुँ। त्यसैले फ्यानलाई कहिल्यै भुल्न सक्दिन।'

सन् २००७ मा ओमानविरुद्ध खेल्दै डेब्यु गरेका अनिले एक दशकभन्दा बढी समय राष्ट्रिय टोलीका लागि खेल्दै १० अन्तर्राष्ट्रिय गोलसमेत गरेका छन्।

अनिलले नेपालको लागि खेल्दा खेल्दै यो समय आइसकेको थाहा नभएको बताए। 'नेपालको लागि खेल्दै यो स्थानसम्म आइपुग्ने कहिल्यै सोचेको थिइन। समय आइसकेछ मलाई थाहै भएन।' अनिलले भने। 'अब भोली सन्यास लिन गइरहेको छु। तर आजसम्म पनि मलाई त्यस्तो फिल भएको छैन।'

उनले करियरमा कहिल्यै हरेस नखाएकाले यो स्थासम्म आइपुग्न सफल भएको पनि बताए। 'कहिल्यै आशा मारिन। स्टेप बाई स्टेपअगाडि बढिरहे। आज एकदमै खुशी छु।' अनिल भन्छन्। 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट ट्रेनिङ लिए पाएँ। जसले मलाई यहाँ सम्म आइपुग्न मद्दत गर्‍यो।' बेलायतको चेल्सीको रिजर्भ टि र वकिङ एफसी सफल दिने पहिलो खेलाडी रहेका अनिलले भने। अनिलले भारतको आइ लिग क्लब शिलोङ लाजोङबाट समेत खेले।

सन् २००९ मा प्रधानमन्त्री कपको उपाधी जित्नुलाई ऐतिहासिक क्षण मान्छन् अनिल। 'घरेलु मैदानमै भएको उक्त प्रतियोगिता नेपालले जितेको थियो। त्यो मेरो लागि मेमोरेबल मोमेन्ट हो।'

अनि चाहेर पनि गर्न नसकेको क्षण चाँही? अनिलको उत्तर छ 'साफ जित्न नसक्नु।' 'नेपालको लागि साफ च्याम्पियन बन्नु ठूलो विषय हो। सन् २०१३ मा घरेलु मैदानमै हामीलाई उक्त अवसर पनि थियो। तर हामी च्याम्पियन बन्न सकेनौँ।'

अनिलले फ्यानहरु आफ्नो करियरकै सबैभन्दा महत्वपूर्ण रहेको भन्दै भोलि पनि एक्फा कम्प्लेक्समा पुगेर नेपालको खेल हेरिदिन आग्रह गरे।

नेपालको जर्सी थन्क्याउन लागेको अनिलले क्लब करियरलाई भने साथै अगाडि बढाउने बताएका छन्। 'म नेपालको जर्सीबाट मात्र टाढा हुन लागेको हुँ। फुटबलबाट टाढा जादिन। क्लब करियरलाई अझ ध्यान दिनेछु।'

फिलिपिन्स विरुद्धको खेलका लागि प्रशिक्षक योतुकु कोजीले घोषणा गरेको नेपाली टोलीमा अनिल गुरुङसहित कूल ५ फरवार्ड छन्। पहिलो रोजाईमा नपरे पनि केही समय मैदान उत्रेर ५०औँ खेल पूरा गर्ने तयारीमा अनिल छन्।

अनिललाई शुभकामना।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell