दश वर्ष लामो युद्ध कालमा परिवर्तनको लागि लड्न हिँडेको माओवादी योद्धा गंगाबहादुर लामाले भोगेको घटनामा आधारित फिल्म हो 'तान्द्रो'। नेपाली सेनाले प्रहार गरेको गोलीका कारण उनको खुट्टामा चोट लाग्छ। जसले उनलाई बारीको एउटा कुनामा थला पार्छ। नेपाली सेनाको आक्रमण पछि अन्य जनसेनाले गाउँ छोडेका हुन्छन् त्यसैले 'काम्रेड कोसिस' अर्थात गंगाबहादुर लामाको अवस्था बारे कसैलाई थाहा हुँदैन। थलिएर बसेको ठाउँमा गंगाबहादुरले गरेको संघर्ष भोगेको अवस्थाको चित्रण हो तान्द्रो।
फिल्ममा काम्रेड कोसिसको भूमिका दयाहाङ राईले निभाएका छन् जो सांस्कृतिक विभागका प्रमुख हुन्छन्। क्रान्तिको बिगुल फुक्न र परिवर्तनका लागि आफूहरु जस्तै माओवादीले गरेको त्यागको औचित्य बुझाउन गाउँ-गाउँमा कोसिस र उनको टोली नाटक लगायत कलात्मक कार्यक्रम आयोजना गर्दै हिँडेका हुन्छन्। त्यसै क्रममा नेपाली सेना गाउँ पस्छ। जनसेनाको भागम् भाग बीच कोसिसलाई गोली लाग्छ र उनी अलपत्र पर्छन्।
माओवादी छापामार गंगाबहादुर लामा 'कोसिस'ले लेखेको पुस्तक 'स्मृतिका डोबहरु'मा आधारित फिल्म हो यो। घटनाको पात्रले त्यो अवस्था भोगे जहाँ उनले गाउँका मानिसहरुमा क्रान्तिकारी प्रतिको वितृष्णा भोगे। जहाँ उनले माग्दा पानी समेत पाउँदैनन्। गाउँको एक वृद्दले त उनलाई ढुङ्गा प्रहार गरेर मार्न खोज्छन्। कोसिस बनेका दयाहाङको शारीरिक तथा मानसिक स्थिति फिल्मको केन्द्रमा छ, जसमा युद्ध कालको उस्तो ठूलो घटनाक्रम देखाइएको छैन। तर केन्द्रमा रहेको पात्रमार्फत दर्शकको संवेदना जित्न असफल छन् निर्देशक।
काम्रेड कोसिसले भोगेको अमानवीय व्यवहार, गोलीले दिएको चोट, भोक र प्यासको अवस्था एवं गाउँलेको बोलीले दिएको पीडा यी कुनै पनि पक्षको सजीव चित्रण हुन सकेको छैन। निकै गम्भीर अवस्था सिर्जना भएको पर्दामा देखिन्छ तर त्यसलाई दर्शकले महसुस गर्न सक्दैनन्। निर्देशक साम्तेन भुटिया साँच्चै चुकेका छन्। बलियो कथालाई सरल ढङ्गमा प्रस्तुत गर्ने साम्तेनको प्रयासले घटनाको निर्देशकीय पक्षलाई कमजोर साबित गरिदियो। सेनाको आक्रमणदेखि कोसिसको उद्दारसम्मका घटना नाटकीय लाग्छ।
त्यस्तोमा पटकथा र संवादले पनि दर्शकको संवेदना छुँदैन। ओठ मुख सुकेको घाइतेले पानी माग्छ। सहजै उसको माग अस्वीकार हुन्छ अनि नयाँ दृश्य सुरु हुन्छ। दर्शकले केही सोच्ने ठाउँ नै पाउँदैनन्। दृश्यमा घाइते लडाकु देखाइन्छ तर संवादमा न उसको छटपटी व्यक्त हुन्छ न त मनोविज्ञान नै। यसमा पनि लेखक समेत रहेका साम्तेन भुटिया र उपेन्द्र सुब्बा जिम्मेवार छन्।
मुख्य पात्र दयाहाङको अभिनयले दर्शकलाई फिल्ममा इन्गेज्ड तुल्याउँछ। उनले गंगाबहादुरको तत्कालिन अवस्थालाई महसुस गर्ने प्रयास गरेको देखिन्छ। जीवन र मरणको दोसाँधमा रहेको क्रान्तिकारी पात्रको मानसिक र शारीरिक संघर्षलाई उनले अभिनयमार्फत व्यक्त गर्ने खोजेको भने पक्कै हो।
जनसेनालाई पकाएर खान दिने, आगँनमा उनीहरुको नाटक हेरेर रमाउने गाउँले उनीहरुको कारण निर्दोष गाउँकी महिलाको मृत्यु भएपछि भने क्रोधित हुन्छन्। जुन घटनाले गर्दा खुला आकाशमुनि घाइते लडेका कोसिसको बेवास्ता हुन्छ। गाउँमा अशान्ति भित्र्याएको आरोपमा ढुङ्गा प्रहार गर्न खोज्ने वृद्धसँगको सम्बन्ध होस् वा आफ्नो अञ्जुलीमा पानी ल्याएर कोसिसलाई खुवाउँने सानी बालिकासँगको सम्बन्ध। अथवा जनसेना मै रहेका दुई कार्यकर्ताको प्रेम सम्बन्ध। यो सबै देखाएर सिर्जना हुने अवस्था र घटनाहरुले मानविय सम्बन्ध र सम्बन्धमा जोडिएका मान्छेहरुको मनोविज्ञानमा पार्ने असर फिल्मले देखाएको छ।
आक्रमणमा जनसेना कुनै पनि हतियार बिहिन प्रस्तुत गर्नु, कोसिस पात्र लडिरहेको सेटिङलाई चिटिक्क देखाइ राख्नु, नेपाली सेनाको आक्रमणलाई निकै सरल देखाउनु, महत्वपूर्ण भूमिका रहेको बालिकालाई तत्कालिन समय र गाउँको पात्र जस्तो प्रस्तुत गर्न आवश्यक नठान्नु साना साना कमजोरीहरु हुन् जुन विषय र कथा उठानको अघि गम्भिर समस्या होइन। किनकी फिल्मले जनयुद्धको पक्ष विपक्षमा होइन मानविय संवेदनाको पक्षमा कथा भन्छ।
पुरुषोत्तम प्रधानले खिचेको फिल्मको छायांकन पक्ष उत्कृष्ट भन्न सकिंदैन। सायद छायांकनको हकमा पनि फरक प्रयोग गराउने होडमा साम्तेन चुके। घाइते हेर्न झुम्मिएका गाउँलेहरु फ्रेममा नअटाउनु, बोल्दा बोल्दैका पात्रहरुको टाउको नदेखिनु आदी यसको उदाहरण हुन सक्छन्। सम्पादकिय त्रुटी जसले आवश्य दृश्यलाई पर्दा बाहिर बनाइ दिन्छ त्यस्तोमा ध्यान जान आवश्यक थियो सायद।
रङ्गमञ्चका कलाकारहरु छोटो भूमिकामा छन् तर फिल्मको अभिनयको पाटो गज्जब भन्न मिल्ने बनाएका छन्।