PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

एसिसी यु १९ एसिया कप : नेपाल आज अफगानिस्तानसँग भिड्दै



गोविन्दराज नेपाल

एसिसी यु १९ एसिया कप : नेपाल आज अफगानिस्तानसँग भिड्दै
फाइल फोटो

काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ एसिया कपको समूह चरणमा धेरै उथलपुथल भयो। यसअघि लगातार तीन संस्करणको उपाधि जितेको भारत समूह चरणबाटै आउट भयो।

यता नेपालले पहिलो पटक कुनै पनि लेभलमा भारतलाई हराउने इतिहास बनायो। टेष्ट नेशनका ५ मध्ये २ युवा टोली समूह चरणबाटै घर फर्कियो, भारत र श्रीलंका। भारतलाई घर फर्कन बाध्य बनाउने नेपाल सेमिफाइनल पुग्नेमध्ये टेष्ट नखेल्ने एक मात्र टिम बन्यो।

पहिलो खेलमा बंगलादेशसँग हारेर पनि दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित हात पारेको नेपालले तेस्रो खेलमा मलेसियालाई हराउँदै पहिलो पटक सेमिफाइनल पुगेको हो।

सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी अरु कोही नभएर अफगानिस्तान रहेको छ। दुवै टोली एक अर्कामा चिरपरिचित छन्।

नेपाल पहिलो पटक सेमिफाइनल पुगेपछि प्रशिक्षक विनोद दासले पनि अफगानिस्तानको सेमिफाइनल सहज नहुने आँकल गरिसकेका छन्। ‘उनीहरुलाई हाम्रो बारेमा राम्रोसँग थाहा छ र हामी पनि सजग छौँ। दासले भनेका छन्।’

गत जुलाईमा सिंगापुरमा भएको आइसीसी यू-१९ विश्वकप छनोटमा नेपाल अफगानिस्तानसँगै पराजित भएपछि विश्वकप पुग्न असफल बनेको थियो। लिग चरणको दुवै खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।

एक समय एसियामा उमेर समूहको बलियो टोली रहेको नेपाल अफगानिस्तानको आगमनसँगै सुस्ताएको थियो। तर क्यान निलम्वन र कमजोर घरेलु संरचनाको थोरै समयको तयारीका बावजुत पनि यस पटक नेपालले गज्जबको प्रदर्शन गरिरहेको छ। यसले पक्कै पनि अफगानिस्तानलाई नेपालबारे सोच्न बाध्य बनाएको छ।

प्रशिक्षक दासकै भनाई मान्ने हो भने नेपालले समूह चरणमा कन्सिस्टेन्ट परफरमेन्ट गर्‍यो। पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएपछि नेपालले धेरै पाठ सिक्यो र दोस्रो खेलमा साविक विजेता र बलियो मानिएको भारतलाई १९ रनले हराइदियो। यसले भारतीय मिडियामा समेत निकै खैलाबैला मच्चायो भने भारतका पूर्व कप्तान रहेको यू-१९ प्रशिक्षक राहुल द्रविडले समेत नेपाली टोलीको प्रशंसामा शब्द खर्चिए।

भारतलाई हराएपछि सेमिफाइनल सम्भावन जगाएको नेपालका लागि अन्तिम खेलमा मलेसियालाई हराउनु पर्ने थियो नै भारत र बंगलादेशबीच खेलको नतिजा पनि आफू अनुकुल आउनु जरुरी थियो। भइदियो पनि त्यस्तै। वर्षाले प्रभावित बनेको दुवै खेलले नेपाललाई साथ दियो। शुरुमा नेपालले मलेसायलाई २४ ओभरमा घटाइएको खेलमा ८ विकेटले पराजित गर्यो। यसले नेपालको सेमिफाइनल यात्रा एक कदम अघि बढ्यो। बंगलादेशले समेत भारतलाई ८ विकेटले हाराएपछि नेपालको मेहनत र भाग्य दुवैले काम गर्‍यो।

उता अफगानिस्तानको हकमा पनि धेरै उतारचढाव रह्यो। पहिलो खेलमा पाकिस्तानलाई ५७ रनमा अलआउट गर्दा शानदार जीत हात पारेको अफगानिस्तानले सेमिफाइनल पुग्न अन्तिम खेल कुर्नु पर्‍यो। दोस्रो खेलमा श्रीलंकासँग पराजित भएपछि अफगानिस्तानलाई अन्तिम खेलमा युएईलाई पराकिलो अन्तरले जित्नु पर्ने चुनौती थियो। भयो पनि त्यस्तै। २० ओभरमा घटाइएको खेलमा अफगानिस्तानले युएईलाई १३४ रनले हराउदै समूह बी को विजेता बन्यो। पाकिस्तान र श्रीलंकासँगै समान ४ अंक जोडे पनि नेट रनरेटमा अफगानिस्तान अगाडि रहँदै सेमिफाइनल पुग्यो। पाकिस्तान उपविजेता बन्यो। अफगानिस्तानलाई पराजित गरेको श्रीलंका भने रनरेटमा पछि पर्दै समूह चरणबाट घर फर्कियो।

नेपाल र अफगानिस्तानबीच शुक्रबार मलेसियाको किनरारा मैदानमा दोस्रो सेमिफाइनल खेल हुँदैछ। यसमा विजयी हुने टोलीले अर्को इतिहास बनाउने पहिलो पटक फाइनल पुग्ने। नेपाल र अपगानिस्तान दुवै अहिलेसम्म युथ एसिया कपको फाइनल पुग्न सकेको छैन। त्यसैले दुवै टोलीको लागि ऐतिहासिक सफलता हात पार्ने अवसर छ।

पछिल्लो पटक नेपाल र अफगानिस्तानको युवा टोली सिंगापुरमा विश्वकप छनोटमा भिडेका थिए। नेपालले अफगानिस्तान विरुद्ध राम्रो बलिङ गरे पनि ब्याटिङ जम्न सकेन।

पहिलो खेलमा अपगानिस्तानलाई १९० रनमा अलआउट गरेको नेपाल आफै ४९ रनमा अलआउट भएको थियो। यस्तै दोस्रो खेलमा पनि नेपालले अफगानिस्तानलाई १९५ रनमा आउट गर्‍यो। तर नेपाल पनि ९९ रनै अलआउट भयो।

यस पटक मलेसियामा नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ भने ब्याटिङमा पनि सुधार गरिरहेको छ। नेपालले समूह चरणको तिनवटै खेलमा राम्रो बलिङ गरेको थियो, विशेष गरी स्पीनरहरुले। यता ब्याटिङमा भने फरक खेलमा भिन्न खेलाडी चम्के। बंगलादेश विरुद्धको पहिलो खेलमा नेपालका लागि रोहित कुमार पौडेल र भिम शार्कीले राम्रो ब्याटिङ गरेर दोस्रो खेलमा भारत विरुद्ध कप्तान दीपेन्द्रले ८८ रनको कप्तानी इनिङ्स खेले भने भारतलाई अलआउट गर्न ४ वकेटसमेत लिएका थिए। तेस्रो खेलमा मलेसिया विरुद्ध ४६ रनको लक्ष्य ५.३ ओभरमा पूरा गर्ने क्रममा अनिल शाहले नटआउट २६ रनको योगदान गरे।

आइपीएलमा प्रशिक्षण रहिसकेका मोन्टी देसाईले ब्याटिङ कन्सलट्यान्टको रुपमा नेपाली युवा टोलीलाई सहयोग गरेका थिए। अहिले पनि उनी नेपाली युवा टिमसँग मलेसियामा छन्। नेपालले मलेसियामै भएको एसीसी य-१९ इस्टर्न रिजन टुर्नामेन्ट खेल्नुअघि देसाई नेपाल आएका थिए। देसाईको आगमनले नेपाली टोलीको ब्याटिङमा केही सुधारसमेत देखिएको छ। बलिङ नेपालको सदाबहार बलियो पक्ष हो।

त्यसलाई कायम राख्दै राम्रो ब्याटिङ गर्न सके नेपालले अफगानिस्तानलाई कडा टक्कर दिनेछ। खेल मलेसियाको समय अनुसार बिहान साढे नौ बजे (नेपाली समय सवा ७ बजे) देखि सुरु हुनेछ। 

अहिलेसम्म नेपाल र अफगानिस्तान यू-१९ लेभलमा ९ पटक भिडिसकेका छन्। जसमा नेपाल ३ तथा अफगानिस्तान ६ पटक विजयी भएका छन्।

यू-१९ क्रिकेट : नेपाल भर्सेस अफगानिस्तान (हेड टु हेड)

एसीसी यू-१९ एलिट कप

२००७ : नेपाल ४८ रनले विजयी

२००९ : नेपाल ६ विकेटले पराजित

२०११ : नेपाल ६ विकेटले विजयी समूह चरण फाइनलमा अफगानिस्तान ६१ रनले विजयी

 

एसीसी यू-१९ प्रिमियर लिग

२०१४ : अफगानिस्तान ५ विकेटले विजयी

२०१५ : अफगानिस्तान १० विकेटले विजयी

 

आइसीसी यू-१९ वर्ल्ड कप क्वालिफायर

२०११ : नेपाल ४२ रनले विजयी

२०१७ : नेपाल १४२ रनले पराजित पहिलो लिग नेपाल ९६ रनले पराजित दोस्रो लिग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell