PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

आर्मीलाई हराउँदै एपीएफले जित्यो प्रधानसेनापति महिला फुटबलको उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो प्रधानसेनापति महिला फुटबलको उपाधि

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन आर्मी क्लबलाई उसैको घरेलु मैदानमा पराजित गर्दै एपीएफले पाँचौ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

बिहीबार भद्रकालीस्थित नेपाली सेनाको मैदानमा भएको विभागीय डर्बी भिडन्तमा एपीएफले आर्मीलाई ३-२ ले हरायो। दोस्रो हाफमा आर्मीले गोल गर्ने राम्रा अवसर खेर फाल्दा उपविजेतामै चित्त बुझाउनुपर्‍यो।

एपीएफको जितमा सावित्रा भण्डारी, रेनुका नगरकोटी र सजना रानाले गोल गरिन्। आर्मीका लागि सपना लामा र कृष्णा खत्रीले गोल फर्काइन्।

खेलको दोस्रो मिनेटमै सावित्राले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकि थिइन्। ३२औँ मिनेटमा सपना लामाले आर्मीका लागि बराबरी गोल फर्काइन्। तर ४२औँ मिनेटमा रेनुका नगरकोटीले गोल गरेपछि एपीएफले पहिलो हाफमा २-१ ले अग्रता लियो।

दोस्रो हाफमा आर्मी बराबरी गोल फर्काउने योजना रहदा ६९औँ मिनेटमा कप्तान सजना रानाले गोल गर्दै एपीएफलाई ३-१ को अग्रता दिलाइन्। उनले अन्जली योन्जनको कर्नर सदुपयोग गर्दै हेडमार्फत गोल गरिन्।

दुई गोलले पछि परेको आर्मीका लागि इन्जुरी टाइममा कृष्णा खत्रीले गोल गरेपनि आर्मीलाई हार टार्न पर्याप्त भएन।

च्याम्पियन एपीएफले ट्रफीसँगै नगद ३ लाख पुरस्कार हात पार्‍यो। उपविजेता आर्मीले १ लाख ५० हजार प्राप्त गर्‍यो। भारतको सिक्किम क्लबले फियर फ्लेको अवार्ड पायो।

व्यक्तिगत उत्कृष्टतर्फ आर्मी र एपीएफकै खेलाडीको वर्चस्व रह्यो। फाइनलमा हारेपनि आर्मीकी सपना लामा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले एन्फाद्वारा प्रायोजन गरिएको एक थान यामाहा स्कुटर पाइन्। प्रतियोगिताभर १२ गोल गरेकी एपीएफकी सावित्रा भण्डारीले सर्वाधिक गोलकर्ता बन्दै नगद २५ हजार हात पारिन्।

यसैगरी एपीएफकी एन्जिला तुम्बापो उत्कृष्ट गोलकिपर, मनमाया लिम्बु उत्कृष्ट डिफेण्डर तथा जनक सिंह उत्कृष्ट प्रशिक्षक बने। आर्मीकी दीपा राई उत्कृष्ट मिडफिल्डर तथा कृष्णा खत्री उत्कृष्ट फरवार्ड घोषित भए।

विजयी टिम तथा खेलाडीहरुलाई प्रभानसेनापति राजेन्द्र क्षेत्री, एन्फा महिला संघको अध्यक्ष कल्पना पिया श्रेष्ठले पुरस्कार प्रदान गरे।

प्रतियोगितामा नेपालको तीन विभागीय क्लब, पाँच विकास क्षेत्रको टिम र भारतका दुई गरी कूल १० टिमले प्रतिस्पर्धा गरेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell