PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

जितेरै जित्न सिकाउँछु : अम्बिका बस्नेत



स्वेच्छा राउत

जितेरै जित्न सिकाउँछु : अम्बिका बस्नेत

काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसकी प्रत्यक्ष उम्मेद्वार हुन् अम्बिका बस्नेत। प्रतिनिधिसभा सदस्यमा जितसँगै राजनीतिमा महिला सहभागिता बढाउने उनको उद्देश्य छ। 

२०३६ सालको विद्यार्थी आन्दोलनमै राजनीतिमा भिजिसकेकी उनी पञ्चायतविरुद्ध प्रखर रुपमा त्यतिखेर उत्रिइन् जतिखेर समाजमा राजनीतिमा महिलालाई स्वीकार गर्नु कठिन थियो। राजनीतिमा पारिवारिक भूमिका सक्रिय भएका कारण उनी कांग्रेसको स्थापित नेता बनिन्। 
‘तर, यत्रो वर्षसम्म पनि नेपाली राजनीतिमा महिला सहभागिता नबढ्नु दुस्खको विषय हो,’ उनी गम्भीर सुनिइन्। चुनावी अभियानकै क्रममा पनि भोटमात्र माग्ने मुडमा उनी देखिइनन्।  

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ४१ जना मात्र महिला उम्मेद्वार रहनुले महिलाका लागि पार्टीले दिने ठाउँमथि प्रश्न उठ्नु स्वभाविक मान्छिन् अम्बिका।

तर, उनीसँग पनि प्रश्न छ - के पार्टीले कुनै पनि निर्वाचनमा उठाउने महिला उम्मेद्वार आफ्नो जिम्मेवारी सम्हाल्न सक्षम छन् त ? अम्बिकालाई लाग्छ पार्टीले झारो टार्न मात्र महिला उम्मेद्वार देखाउनुभन्दा पनि महिलालाई सक्षम, साक्षर र जिम्मेवार बनाउन आवश्यक छ। ‘म स्वयम् पनि आफूमा कन्फिडेन्ट नभर्इ सत्तामा पुग्छु भन्ने बारे सोचिन,’ उनले भनिन्। 

यस पटक जनताको आँगनमा पुगेर बस्नेतले राजनीतिमा युवतीरमहिलाहरुको सहभागिता र सक्रियताको लागि आफू आइडल बन्ने विश्वास दिलाउन चाहेकी छिन्। ‘आज राजनीतिप्रति वितृष्णा हुने युवतीहरु सत्ता हाक्ने कन्फिडेन्ससहित हुर्किउन्। त्यसका लागि म उदाहरण बन्ने छु आफ्नो क्षेत्रमा,’ उनले भनिन्। 

समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक सांसद बनेकी अम्बिका पहिलोपटक प्रत्यक्ष चुनावमा होमिएकी छिन्। कांग्रेसको राम्रो पकड भएको काठमाडौं क्षेत्र नम्बर ३ मा उनको चुनावी प्रतिस्पर्धा भने कमजोर प्रतिद्वन्दीसँग पक्कै छैन। वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका कृष्ण राई (नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष)सँग उनी प्रतिस्पर्धामा छिन्। 

दह्रो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धामा रहेकी उनलाई सोध्यौं– संविधानसभा निर्वाचन परिणाम नि एमालेकै पक्षमा देखिएको छ। डर लागेको छैन ? 
बस्नेतले भनिन्, ‘उक्त परिणामले हामीलाई को दियो ? भन्ने हिसाब जनताले राखेका छन्। उनीहरु चेतनशील छन्। अब जनतालाई झुक्याउन गाह्रो छ।’ 

अम्बिकाले आफ्नो जित सुनिश्चित दाबी गरिरहँदा कृण्ण राई पनि चुप भने छैनन्। नेकपा एमालेले चुनावी प्रचार अस्त्र बनाएको ‘सामाजिक सुरक्षा भत्ता वृद्धि’ लगायतका एजेन्डा लिएर उनी जनताको आँगनसम्मै पुगेका छन्। 

तर अम्बिका भन्छिन्, ‘म भत्ता बाँड्ने प्रलोभन होइन, पुग्दो कमाउने बाटो देखाउन चाहन्छु।’ 

अम्बिकाको मुख्य एजेन्डामा आफ्नो क्षेत्रका जनतालाई खानेपानी, ढल व्यवस्थापन, सडक बिस्तार र फोहोर मैला व्यवस्थापन गर्नु हो।

‘जनताका अत्यावश्यक कुराहरु पुर्याउन पहल नगरी झुटा आश्वासन बाँड्नु लाजमर्दो कुरा हुन्छ। पिउन पानी र फोहोर फाल्न ठाउँ नदिइ आदर्शका कुरा बाढेर के काम ? म त्यो आवश्यकता पूर्ति गर्छु,’ उनले भनिन्। 

वाम गठबन्धनपछि नेपाली कांग्रेसलाई यो चुनाव फलामको च्यूरा सरह भएको छ। तर, पनि अम्बिका बस्नेतको पहिलो लक्ष्य जित्नु नै हो। 

विश्वबाट कम्युनिष्ट शासन विस्थापित भइरहँदा नेपालमा वाम गठबन्धनको जित हुन्छ र कम्युनिष्ट शासन लागू हुन्छ भन्नु हाँसोको विषय भएको बताउँछिन् उनी। सोध्छिन्, ‘दिवा सपना पूरा होला ?’ 

उनका लागि पद र पार्टी सुरक्षाका लागि गरिएको अस्थायी प्रयोग हो वाम गठबन्धन। 

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डल बिस्तारमा सहभागी हुने नेपाली कांग्रेसकी एकमात्र महिला मन्त्री हुन् अम्बिका। सहकारी तथा गरिबी निवारण मन्त्री रहेकी उनले पहिलो लक्ष्य (जित) हात पार्छिन् की पार्दिनन् यो मत परिणामले बताउँछ नै।

तर आफ्नो दोस्रो टार्गेट, राजनीतिमा महिला सहभागिता बढाउन भने आफू सधैं प्रयासरत रहने बताइन्। आत्मविश्वासका साथ भनिन्, ‘जितेरै जित्न सिकाउँछु।’ 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell